|
फाइल फोटो

सोलुखुम्बु : प्राधिकरणबाट खटिएका इन्जिनियर र प्राविधिकको लापारबाहीका कारण लाभग्राहीले अनुदान नपाएको गुनासो गरेका छन्। गत साउनमै घर निर्माण सम्पन्न गरी इन्जिनियरले जाँच गरे पनि अहिलेसम्म अनुदान नपाएको पीडितको गुनासो छ।

जिल्लाको माप्यदुधकोशी गाउँपालिका भित्रका लाभग्राहीले गत साउनमै घर निर्माण सम्पन्न गरे पनि अझै अनुदान नपाएको वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङले जानकारी दिए। बारम्बार पीडितले वडा अध्यक्षसमक्ष गुनासो राखेपछि सम्‍बन्धित कार्यालयमा गई बुझ्दा इन्जिनियरले फाइल घरैमा राखेर प्रक्रिया अगाडि नबढाएको पाइएको वडा अध्यक्ष तामाङको भनाइ छ।

वडा अध्यक्ष तामाङका अनुसार प्राधिकरणबाट गाउँमा खटिएका इन्जिनियर आशीष राईले साउनमा संकलन गरेको फारम एकमहिना अगाडिसम्म आफ्नै निजी कोठामा थन्क्याएका हुन्। भूकम्पपीडितलाई भने प्रक्रिया अगाडि बढिरहेको बताउने इन्जिनियर राईले एक महिनाअघि मात्रै प्राधिरणको कार्यालय सल्लेरीमा लगेर प्रक्रिया अगाडि नबढाई राखिएको अवस्थामा भेटिएको वडा अध्यक्ष तामाङको दाबी छ।

माप्यदुधकोशी गाउँपलिकाबाट  संकलन गरिएको ४५ वटा फाइलको प्रक्रिया अगाडि नबढाउँदा पीडित अनुदान पाउनबाट छुटेका हुन्। 'माप्यदुधकोशी वडा नम्बर ५ का मात्रै १४ जना तेस्रो किस्ता पाउने र १ जनाले दास्रो किस्ताको लागि साउनमै प्रोसेस चालेका थिए।' वडा अध्यक्ष तामाङले भने, 'आइतबार मात्रै प्राधिकरणको कार्यालयमा गएर म आफैँले वडा नम्बर ५ का १५ जनाको प्रक्रिया अगाडि बढाउन लगाएँ, अन्य ३५ वटा गाउँपालिकामा फिर्ता पठाइएको छ।' अन्य ३० जनाको फाइल भने पुन गाउँपालिका पठाइएको छ।

फाइल लुकायो भन्नु झुटो आरोप

तर इन्जिनियर आशीष राईले भने आफूलाई झुट्टो आरोप लगाइएको भन्दै कमजोरी नभएको दाबी गरे। सञ्चारकर्मीले वास्तविकता बुझ्न खोज्दासमेत विज्ञप्ति निकाल्ने भन्दै प्रतिक्रिया दिन चाहेनन्।

यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कर्यान्वयन इकाइ सोलुखुम्बुका प्रमुख विष्णु लामिछानेले भने कमजोरी भएकाले सचेत गराइएको बताए। 'केही फाइल भेटियो, प्राविधिकको तर्फबाट कमजोरी भएकै हो, अब त्यस्तो नहुनेगरी सचेत गराइएको छ।” प्रमुख लामीछानेले भने, 'फेरि यस्ता गतिविधि दोहोरिएमा करारअनुसार जागिर खानुभएको हो, त्यो करार भंग हुन्छ।'

समयमै अनुदान रकम नपाउँदा पीडित थप पीडामा परेका छन्। घर निर्माण गर्दा अनुदानको तीन लाखले नपुग्ने पीडितको भनाइ छ। ऋण गरेर घर बनाए पनि समयमै अनुदान नपाउँदा झन् समस्या हुने गरेको पीडित लोकबहादुर कार्कीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.