कार्यालय व्यवस्थित हुन नसक्दा होटेलमा बस्छन् दलको बैठक

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा छ महिनादेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलको बैठक बस्न सकेको छैन। सुदूरपश्चिम प्रदेशको नाम र स्थायी राजधानी निर्धारण गर्नु पूर्व संसदीय दलको बैठक गएको असोजमा धनगढीको एक होटेलमा बसेको थियो। पछिल्लो बैठक बसेको छ महिनासम्म अर्को बैठक बस्न सकेको छैन। कार्य व्यस्तता र विषय अभावले बैठक बस्न नसकेको नेकपाका नेताहरूले बताएका छन्।

‘सबै सांसहरुको उपस्थिति र सरकारको कार्यब्यस्तताले बैठक ढिलाइ भएको हो’ नेकपाका प्रमुख सचेतक तारालामा तामाङको भने ‘अब केही समय भित्रै बैठक बस्छौँ।’ औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा धेरै पटक छलफल भएको उनले बताए। प्रमुख सचेतक तामाङले भने, ‘समय समयमा बस्नु त राम्रो हो तर बस्न पाइएको छैन, तर पनि हामीले छलफल भने गरिरहेका छौँ।’

संसदीय दलको बैठक बस्न नसक्दा सत्तारुढ दलकै सांसदहरूले सुझाव र आलोचना राख्ने स्थान प्रदेशसभालाई बनाएको बताएका छन्। एक जना सांसदले भने, ‘हामीले सरकारको आलोचना र प्रशंसा संसदीय दलको बैठकमा राख्नु पर्ने हो तर बैठक नबसेको छ महिना भयो। अहिले प्रदेशसभामा दलको कार्यशैलीका विषयमा पनि बोलिरहेका छौँ।’

सांसदलाई व्यवस्थित र सरकारलाई सुद्धृढ  गराउन समय समयमा संसदीय दलको बैठक अनिवार्य मानिन्छ तर सत्तारुढ दलकै बैठक बस्न नसकेको छ महिना बितेको छ। पार्टी एकतापछि २ पटक मात्रै दलको बैठक बसेको सत्तारुढ दल नेकपाका सचेतक अक्कल रावलले बताए।  स्थान उपयुक्त नभएका कारण पनि बैठक प्रभावित भएको उनी बताउँछन्। ‘हामीलाई उपलब्ध गराइएको ठाउँ सानो भयो। हामी त्यहाँ अटाउँदैनौ त्यसैले पनि बैठक बस्न ढिलाइ भइरहेको हो' उनले भने 'हामी बैठक नै नगरेपछि छलफल चाहिँ चलाइ रहन्छौँ।’

कार्यायल नै अस्तव्यस्त

प्रदेशसभा र प्रदेश सरकार गठनको एक वर्ष बितिसक्दा पनि संसदीय दलका कार्यालयहरू व्यवस्थित हुन सकेका छैनन्। संसदीय दलका कार्यालयहरू व्यवस्थित हुन नसक्दा संसदीय दलको बैठक पार्टी कार्यालय, होटेल र कोठामा आह्वान हुने गरेको छ।

प्रदेश सभामा तीन दलको प्रतिनिधित्व रहे पनि नेपाली कांग्रेस बाहेक अन्य दुई दलको बैठक हालसम्म संसदीय दलको कार्यालयमा बस्न सकेको छैन।

३९ जना सदस्य रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई उपलब्ध गराइएको कार्यालयमा १० जनाभन्दा बढी सहज रूपमा बस्न सक्ने अवस्था छैन। सत्तारुढ दलकै एक जना सांसद दुर्गा विकले भनिन्, ‘कार्यालय पनि कार्यालय जस्तो छैन। दलको बैठक बस्ने स्थान उपयुक्त नभएर पनि समस्या भएको छ।’

कार्यालय उपयुक्त नहुँदा नियमित बैठक बस्न नसकेको र नियमित बैठक नबस्दा दललाई दिनुपर्ने सुझाव पनि दिन नसुकिरहेको उनले गुनासो गरिन्। 

प्रदेश सरकारले स्वास्थ्य कार्यालयको एउटा साँघुरो कोठामा संसदीय दलको कार्यालयत स्थापना गरेको भन्दै यसको विकल्प दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।  काँग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले संसदीय दलका सदस्यहरुनै बस्न समस्या भइरहेको बताए। उनले भने, ‘हामी १२ जना छौँ। हामीलाईनै बस्न कठिनाइ भइरहेको छ। कहिले कसैलाई बोलाउँदा त उभिएर बैठक सञ्चालन गर्नुपर्छ।’ यस विषयमा पटक पटक प्रदेश सरकारलाई जानकारी गराउँदा पनि चासो नदिएको आरोप लगाए।

राजपाको कार्यालय सधैँ बन्द

सुदूरपश्चिम प्रदेश सभामा दुई जना मात्रै सदस्य रहेको प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपा संसदीय दलको बैठक हाल सम्म पनि संसदीय दलको कार्यालयमा बस्न सकेको छैन। कहिलेकाहीँ दलको बैठक बस्नु परेमा  होटेल र कोठामै बस्ने गरेको राजपा संसदीय दलका नेता कृष्ण चौधरीले बताए।

‘लामो समय देखी कार्यालयमा ताला झुण्डाएको छ। बोर्ड बनेको छ तर भुइमा राखिएको छ’ चौधरीले भने, ‘लाजमर्दो छ हेर्नुहोस्,  हामी छलफल गर्नुपरेमा कहिले फोनमा, कहिले होटेलमा, कहिले आफ्नै कोठामा बसेर काम गरेका छौँ।’

प्रदेश सभा र प्रदेश सरकार गठनको एक वर्ष बितिसक्दा पनि संसदीय दलका कार्यालयहरू व्यवस्थित हुन नसक्दा दलका बैठक पनि प्रभावित भइरहेका छन्। राजपाका चौधरी भन्छन्, ‘हामीलाई उपलब्ध गराएको कार्यायनै उपयुक्त भएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.