|

इलाम : इलामको रामसार क्षेत्र माइपोखरी। त्यहाँबाट केहीपर पत्रे चट्टानमाथि निरन्तर ५ दशकसम्म छिनो र हथौडाले एकनास ठुगिरहने त्यो ९३ वर्षीय बूढो अनुहार अब देखिने छैन।  सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार आकृति छ। र, नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडो छ। यो बुकी फूल्ने रुखो डाँडाले अब कस्तो रूप धारण गर्ला? यसको खास आकृति केवल डम्बरसिंह सुनुवारको उर्वर मस्तिष्कमा मात्र थियो। तर यस अब बन्ने स्वरूप उनले देख्न पाउने छैनन्। सुनवार अब हामीमाझ रहेनन्। ९३ वर्षको उमेरमा उनले मंगलबार अपराह्‍न ३ बजे सधैँका लागि आँखा चिम्लिए। इलामको सन्दकपुर गाउँपालिका–१ स्थित माईपोखरीबाट देउराली बजारसम्म जाने एउटा सहायक बाटो छ, जसलाई पछ्याउँदै जाँदा डम्बरसिंह सुनुवारको घर भेटिन्छ।

मापोखरी देउराली जोड्ने तीन किलोमिटर बाटो खने

बिहानको उज्यालो नपोखिँदै सुरु हुने डम्बरसिंहको यस्तो दिनचर्या साँझ घाम नडुबेसम्म जारी रहन्थ्यो। ५८ वर्षको अवधिमा उनले एउटा सिंगो डाँडालाई कलात्मक रूप दिइसकेका छन्। कतै मन्दिर बनाएका छन्, कतै घुमाउरो बाटो। कतै ढुंगाको मूर्ति राखेका छन्। कतै शिलालेख छ। माईपोखरी देउराली जोड्ने करिब तीन किलोमिटर बाटो उनैले खनेका हुन्, जो लगभग डेढ मिटर चौँडा छ। यही बाटोको मध्यतिर थियो डम्बरसिंहको बासस्थान। चित्राले बारेको गोठजस्तो। कटेराको पूर्वतिर एउटा मन्दिर छ, छानो हाल्न बाँकी रहेको। त्यस सँगैको ढुंगामा दुई मानव आकृति छन्, ती डम्बरसिंहका दुई दिवंगत छोराछोरीको आकृति हो। बीचमा उनले एउटा बमको आकृति पनि कुँदेका छन्, टु–इञ्च।

केही दिन अघिको भेटमा उनले सुनाएका थिए ‘यही बम हो मैले मेरा मुटुका टुक्राहरू गुमाएको।’ आउने जाने सबैको जिज्ञासा मेटाउन डम्बरसिङले झर्को मान्दै सुनाउथे, ‘कहाँबाट उडेर आयो र आँगनमा खेलिरहेका छोराछोरीलाई लाग्यो। उनीहरु रगतको आहालमा छटपटाउन थाले।’ यसो भनिरहँदा उनका भासिएको आँखा रसाउन पुगे। मैलोले कलेटी परेको एउटा कोट, फाटेको दौरा सुरुवाल र ढाका टोपीले वर्षौंदेखि उनको आङ ढाकेको थियो। साँझ कसरी छाक टार्ने भन्ने चिन्ता थिएन, न लुगाफाटोको सौख नै। चार/पाँच गास भात एक छाक खान पाए पुग्थ्यो उनलाई। त्यसैले त उनी अविछिन्न आफ्नो कर्ममा लिन हुन सकेको थिए। सहयोगी हातले उनलाई बस्नका लागि घर नबनाइदिएका पनि होइनन् तर, उनको बास कटेरोमै हुन्थ्यो जहाँ उनका छोराछोरी हुर्किएका थिए। ५ वर्षअघि श्रीमतीसमेत गुमाएपछि उनको जीवन अझै कष्टकर बनेको थियो।

आँखैअगाडि आँगनमै दुई छोराछोरीलाई बमले उडायो

सदरमुकामभन्दा झन्डै १५ किलोमिटर टाढा पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिङसँग राजनीतिको कुनै लिनु/ दिनु थिएन। तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो। घटना थियो, २०१८ सालमा नेपाली कांग्रेसले चर्काएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को। सुवर्णशमसेरको कमान्डमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो। डम्बरसिंहका १२ वर्षीय छोरा डिकबहादुर र डेढ वर्षीया छोरी ओममाया आँगनमा खेलिरहेका थिए।

त्यहीबेला कतैबाट बत्तिएर आएको बम आँगनमा पड्कियो र आँखैअगाडि दुई छोराछोरीलाई उडायो। २०१८ साल माघ २ गते। यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो। यसरी सन्तान गुमाउनुको पीडालाई उनले मनमा संगाल्न सकेनन्। अन्ततः ठूल ठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत नाबालक सन्तानको आकृति कुँद्न थाले। शरीर कुप्रिदै जाँदा उनमा एउटा चिन्ता थियो कतै आफूले थालेको काम पूरा गर्न नसकिएला कि? ‘मन्दिरमा छानो हाल्न बाँकी छ, मूर्तिलाई रंग रोगन गर्न पाएकै छैन’ डम्बरसिंह सुनाउथे ‘कतै कामै पूरा नगरी मरिने पो हो कि?’

सन्तान वियोगको पीडा भुल्न उनले आफूलाई त्यही काममा खर्चिएका थिए जसले उनलाई सिजर्नशील बनायो। तर त्यो उनको सपना अब सपनाकै गर्भमा सीमित हुन पुगेको छ। किरात धर्मअनुसार बारीमा उनको सदगत गरिएको गाँउपालिका अध्यक्ष उदयबहादुर राईले बताए। सुनुवारका जीवित रहेका २ छोराले उनको काजक्रिया गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.