समाज

जनकपुरधाममा चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ दिइने ‘सझुका अर्घ’
SHARES

चैत २८, २०७५

    जनकपुरधाम : धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रुपमा मनाइने चैती छठ अन्तर्गत आज अस्ताउदो सूर्यलाई अर्घ दिइने भएको छ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व चैते छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ।

    चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने चैते छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई नहाय–खाय भन्ने गरिन्छ। खासगरी महिलाहरूले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यता रही आएको जनकपुरधाम उप–महानगरपालिका १४ बस्ने सुनिता सिंह बताउँछिन्।

    भागवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत संकल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाएर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ। जुन आज साँझ हुने गर्छ।

    पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ।

    तराई मधेशको जिल्लाहरुमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ। दुवै छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्। 

    होलीपछि छठको पारन नहुँदा सम्म माछामासु र मद्यपान वर्जित हुन थालेको छ। कात्तिकमा हुने छठकै सम्पूर्ण विधि र प्रक्रिया चैती छठमा पनि हुन्छ। नियम, निष्ठा तथा श्रद्धामा कुनै किसिमको बदलाव छैन। बदलाव हुन्छ त केवल प्राकृतिक मौसमको। वास्तविक विक्रम सम्वतको पहिलो ठूलो पर्व चैती छठ भएको मैथिलीका प्राध्यापक परमेश्वर कापडि बताउँछन्।

    कात्तिकको मूल छठ र चैतको छठको दुई सामयिक विशेषता छन्। कात्तिकको मूल छठ गर्मी बितेपछि जाडो आरम्भ हुने मौसममा हुन्छ भने चैती छठ जाडो बितेपछि गर्मी सुरु हुने मौसममा मनाइन्छ। कात्तिकको छठको लागि आवश्यक पर्ने धेरै सामानहरूको जोहो अलि पहिलेदेखि नै गर्नुपर्छ भने चैती छठको लागि आवश्यक धेरै सामानहरू बजारमा वा गाउँघरमै सजिलै पाइन्छन्। छठको लागि आवश्यक सामानहरू एउटै वा उस्तै भए पनि मौसमको कारणले व्रतालुलाई चैती छठको व्रत बस्न निकै कठिन हुन्छ भने तुलनात्म करुपमा कात्तिकको छठको व्रत बस्न केही सजिलो हुन्छ। निराहार व्रत बस्नुपर्ने भएकोले चैतको गर्मीले व्रतालुलाई तिर्खाले सताउने डर हुन्छ।

    चैती छठको व्रतालु बढ्दै

    चैती छठ गर्ने व्रतालुहरूको संख्या हरेक साल बढ्दो छ। केही वर्ष पहिले सम्म फाट्टफुट्ट हुने चैती छठले अहिले निकै विस्तार पाइसकेको छ। चैती छठ मान्नेहरु तीन किसिमका देखिएका छन्। पहिलो ती हुन् जो कुनै कारणवश कात्तिकमा गर्न पाउँदैनन् र छठ नगर्दा तिनको मानसिकताले छठ गर्नेपर्ने दबाब दिन्छ।

    कात्तिकमा कुनै कारणले छठ गर्न छुटेकाहरु चैतमा छठव्रत गरेर मानसिक शान्ति प्राप्त गर्दछन्। चैती छठ मान्नेहरुमा दोस्रो ती व्रतालुहरु देखिएका छन् जो कात्तिकको पनि गर्दछन् र चैतको पनि। दुवै छठलाई मान्ने भाकल गर्नेहरुको संख्या बढ्दो छ। तेस्रोथरि ती हुन् जो केवल चैतको छठमात्र हुने गरेको मैथिलीका प्राध्यापक रामा महतो बताउँछिन।

    यता प्रत्येक वर्ष चैती छठ गर्नको संख्यामा बृद्धि हुदै आएको गंगासागर घाटमा नियमित गंगा आरती सञ्चालन गरेका प्रदेशसभा सदस्य तथा सभ द हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव बताउँछन्।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]