समाज

यसपटक पनि बुद्धकृष्णले नै छेड्ने भए जिब्रो
SHARES

चैत २८, २०७५

    भक्तपुर : मध्यपुर थिमिस्थित बोडेमा वैशाख २ गते हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यसवर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। जात्रालाई निरन्तरता दिन बोडेका स्थानीय ४७ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन्।

    उनले यसअघि २०६२ सालदेखि ०६५ सालसम्म ४ पटक जिब्रो छेडिसकेका छन्। २०६६ सालमा श्रीमती सुत्केरी भएपछि उनले जिब्रो नछेड्ने घोषणा गरेका थिए।

    त्यसपछि जुजुभाई श्रेष्ठले ८ वर्ष जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका थिए। दुई वर्षअघि जुजुभाईले श्रीमती र भाउजू बिरामी भएका कारण जिब्रो नछेड्ने घोषणा गरेपछि पुनः बुद्धकृष्णले नै जिब्रो छेडाएका थिए।

    यो जात्रामा बोडेबासीका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नुपर्ने परम्परा रहेको छ। जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन्। जात्राको लागि मध्यपुर थिमि नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। स्थानीय पाचोबाट सुरु हुने यो जात्रा बोडेको विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ।

    यो जात्रा बोडेमा बैशाख २ गते करिव ११/१२ बजेतिर पाँचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च मा.वि.को उत्तरपट्टी) मञ्चबाट सुरु गरिन्छ। जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुईरो बनाउने नकर्मीलाई लिन जान्छ। एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो) सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ। अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाकसहित मञ्चमा आउँछन्।

    नाइके प्रधानले फूल, अक्षता र पैसासहित दिएको सुइरो (नातु) ले कर्मी नाइकेद्वारा सम्पूर्ण देवतासँग प्रार्थना गरी जिब्रो छेड्ने कार्य गरिन्छ, त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने चन्द्राकारको बत्ती, महादीप) बाल्छन्। नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्तिले उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन्।

    जहाँ जात्रा गरी महालक्ष्मी स्थान पुर्‍याएको पाचो गणेशको रोहवरमा कर्मी नाईकेले सुईरो निकाल्ने गरिन्छ र प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ। निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ। अन्तःमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गरिन्छ।

    यो जात्रामा जिब्रो छेड्ने ब्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र आइमाईलाई छुन नहुने परम्परा रहेको छ। यदि छोएमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ।

    किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे। यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए। उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे। त्यसपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे।

    बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्‍यो। भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिचास नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए।

    पिशाचको जिब्रो छेडी बलेको महादीप काठको भारी बोकाएर बोडे घुमाए। कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझै विभिन्न  सातवटा वाचा गराई छाडिदिएको किंबदन्ती  छ।

    त्यस्तै, अर्को किम्बदन्तीअनुसार एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ। वाचाअनुसार सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको उल्लेख छ।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]