फिचर

आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’
SHARES

चैत २९, २०७५
    • दीपक बोहरा-

    दाङ : कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ। अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताए। ‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’ उनले भने, 'तर नयाँ सेवा शुरु गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।'

    अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्म लगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उनको भनाइ छ। अहिले डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्युठान, सुर्खेत, नेपालगञ्ज लगायतबाट पनि उपचारका लागि आउने गरेको उनको भनाइ छ। ‘सेवा प्रभावकारी भए बिरामी आउँछन्’ उनले भने, 'हामीले बिरामीलाई गुरु ठानेर सेवा दिने गरेका छौँ।'

    तीन/चारजनाको सफल शल्यक्रिया

    अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि अग्रिमरुपमा नाम दर्ता गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। दरबन्दीअनुसार चिकित्सक नहुँदा उनी एक्लैले बिरामी जाँच गर्दै आएका छन्। आगामी वैशाख २६ गतेसम्म क्षारसूत्र सेवा लिने बिरामीको नाम दर्ता गरिसकिएको उनको भनाइ छ। ‘विशेषज्ञ चिकित्सक म मात्रै छु’ उनले भने, 'म एक्लै बिहान ७ देखि राति अबेरसम्म बिरामी जाँच गर्छु, एक्लैले धेरै बिरामीलाई सेवा दिन भने समस्या भएको छ।' वैशाखदेखि सुरु भएको क्षारसूत्र सेवा लिन दैनिक १०/१२ जना आउने गरेको डा ठाकुरले बताए। उनका अनुसार दैनिक तीन/चारजनाको सफल शल्यक्रियासमेत हुने गरेको छ।

    ‘क्षारसूत्र सेवा लिन दैनिक १०/१२ जना सेवाग्राही आउने गर्छन्’, उनले भने, 'दैनिक तीन/चारजनाको सफल शल्यक्रिया हुने गरेको छ।’ अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिँदै आएको डा ठाकुरले बताउँछन्। अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन रु १० हजारभन्दा बढी लाग्ने भए पनि सो चिकित्सालयमा दुई हजार रुपैयाँ मात्रै लाग्ने गरेको डा ठाकुरले बताए।

    चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायत रोग निदान गर्दै आएको छ। चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि आफु पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही खेमराज रिजालले बताए। ‘केही दिनअघि मैले पनि चिकित्सालयबाट क्षारसूत्र सेवा लिएको हुँ’ उनले भने,'पहिले सानो समस्याका लागि पनि काठमाडौं, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो।'

    चिकित्सालयमा अहिले ३० शय्याको भए पनि यसलाई स्तरोन्नति गरेर ५० श्याको बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ। पञ्चकर्म पनि प्रभावकारी बन्दै वैशाखदेखि शुरु भएको पञ्चकर्म सेवा पनि प्रभावकारी भएको डा ठाकुरले बताए। उनका अनुसार पञ्चकर्म सेवा लिन दैनिक १५/२० जना आउने गरेका छन्। विभिन्न पाँचकर्म गरेर बाथ, पित्त तथा कफलाई निदान गर्न यो सेवा प्रदान गरिन्छ। लामो समयदेखि पूर्वाधार निर्माण भए पनि सञ्चालन हुन नसकेको उक्त सेवालाई गत वर्षदेखि सञ्चालनमा ल्याइएको हो।

    नयाँ/नयाँ सेवा विस्तार भएपछि चिकित्सालयमा बिरामीको सङ्ख्या बढेको छ। चिकित्सकको अभाव चिकित्सालय व्यवस्थित हुँदै गए पनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ। पाँच जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको चिकित्सालयमा अहिले एकजना मात्रै कार्यरत छन्। चिकित्सालयमा बायोचिकित्सक, प्रसूति, जनरल विज्ञ र बालरोग विशेषज्ञको दरबन्दी छ। अहिले बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुर मात्रै छन्।

    अन्य दरबन्दी भने रिक्त छन्। ‘दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीलाई सेवा दिन समस्या भएको छ’ उनले भने, 'बिहानदेखि साँझसम्म एक्लै खटिनुपर्छ।' त्यस्तै, दुईजना चिकित्सकको दरबन्दी रहेकामा दुईवटै रिक्त छन्। सहायक आयुर्वेदमा दुईजना र ल्याबमा भने दरबन्दी अनुसारका चिकित्सक रहेको डा ठाकुरले बताए। त्यस्तै, १२ जना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि अहिले चारजना मात्रै रहेको उनको भनाइ छ।

    स्वास्थ्य सेवा सुधार विगत एक वर्षअघि ओपिडीमा बिरामीको अवस्था नाजुक थियो। तर अहिले सेवा प्रभावकारी भएको छ। बिरामीका लागि प्रतीक्षालय निर्माण गरिएको छ। नागरिक बडापत्र, सूचना बोर्ड, चिकित्सालयमा सरसफाइ थिएन, अहिले भने यो समस्या छैन्। भौतिक पूर्वाधारको अवस्था अस्तव्यस्त थियो। ‘ओजेटी’ गर्नेको सङ्ख्या न्यून थियो, स्वयंसेवक थिएनन्, तर अहिले यी सबै समस्याको हल भएको डा ठाकुरले बताउनुभयो। साथै अपाङ्गमैत्री शौचालय पनि निर्माण भएको उनले बताए।

    डा ठाकुरका अनुसार पहिले चिकित्सालयको आम्दानी न्यून थियो। अघिल्लो वर्ष ५० हजार मात्रै आम्दानी थियो। तर गएको आर्थिक वर्षमा तीन लाख आम्दानी भएको डा ठाकुरले बताए। अब पञ्चकर्मको भवन, अन्तरङ्ग, एक्सरे मेसिन, आधुनिक ल्याबको व्यवस्था गर्न लागिएको बताए। पूर्वाधारको निर्माण चिकित्सालयलाई आवश्यक पर्ने विभिन्न पूर्वाधार पनि निर्माण भएका छन्। सरकारको अनुदान तथा विभिन्न व्यक्तिको सहयोगमा पूर्वाधार निर्माण भएका हुन्। चिकित्सालयको पूर्वतर्फबाट बाटो खुलाउने काम भएको छ। त्यस्तै चिकित्सालय परिसरमा मन्दिर निर्माण, योगा हल निर्माण, ल्याब, अन्तरङ्ग विभाग, पञ्चकर्म, क्षारसूत्र, फोटो थेरापी मेसिन, फ्रि– वाइफाइ, प्रविधिमैत्री रजिष्टेशन, सिसी क्यामेरा जडान, डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]