|

दमक (झापा) : दमक–९ का भानेश्वर धामी तीन वर्ष मलेसिया बसेर फर्किए। विदेश जाँदा लिएको ऋण तिर्दै ठिक्क भयो तीन वर्षमा। त्यही वेला भाइ धर्मेन्द्र दुबई पुगेका थिए। उनी पनि ४ वर्ष बसेपछि काम गरि रहेको कम्पनी नै बन्द भयो।

विदेश जाँदा लिएको डेढ लाख ऋण तिर्नबाहेक अरू कमाउन सकेनन्। तर, त्यही वेला उनलाई विदेशमा नै साथीले भनेका थिए 'बरू नेपालमा गएर मौरी पाल्दा राम्रो कमाइ होला। विदेशको कामबाट केही हात परेन।’

विदेशबाट विरक्तिएर रित्तै हात फर्किएका उनले दाजुलाई यो उपाय बताए। दुवै जना विदेशबाट हण्डर खाइसकेकाले फेरि जाने मनस्थितिमा थिएनन्। त्यसैले भाइको विकल्पमा दाजुले समर्थन जनाए। अनि सुरु गरे मौरीपालन।

धामी दाजुभाइले तीन वर्षअघि मौरीपालन सुरु गरेका हुन्। आर्थिक अवस्था कमजोर भएपछि कमाउने आशले वैदेशिक रोजगारीको विकल्प छाने पनि विदेशले बिजोगभन्दा अरू केहि अनुभूति नदिएको उनीहरूको भनाइ छ। विदेशमा बिरामी भएर सुत्दासमेत पारिश्रमिक काटिने अवस्थाका कारण धेरै कमाउन नसकिएको भाइ धर्मेन्द्रले बताए। तर विदेशमा नै मोरङका एक जना साथीले नेपालमा नै गएर मौरीपालन गरी राम्रो आम्दानी लिन सकिने बताएका थिए। नेपाल फर्किएपछि मलेसियाबाट फर्किका दाजु धर्मेन्द्रलाई उनले यो कुरा सुनाए। विदेशबाट कुनै लाभ लिन नसकेका उनलाई भाइको कुरा चित्त बुझ्यो। तर, जानेको केही थिएन।

विदेश नजाने बरू मौरीपालन गर्ने निधो भएपछि ६ महिना भारतको हरियाणामा गएर मौरीपालनसम्बन्धी जानकारी लिएर आएको उनले बताए। त्यसपछि उनीहरूले ३५ घार मौरी खरिद गरी 'तुलसी मह' नाममा उद्यम सुरु गरे। अहिले उनीहरूको सम्पत्तिको रूपमा रहेको मौरीको घार संख्या एक सय नाघेको छ। महिनाको १५ सय केजीसम्म मह उत्पादन गर्ने उनीहरूको बजार भनेको पूर्वका अधिकांश बजारसँगै काठमाडौ पनि हो। सामान्यतया ७०० रुपैयाँ प्रतिकेजीका दरले मह बिक्री हुने गरेको छ। विदेशको कमाइभन्दाछोटो समयमा नै मौरीपालनबाट धेरै फाइदा लिन सकिएको धर्मेन्द्रको अनुभव छ।

मुख्य समस्या चरनको

चौपाया जस्तै मौरीलाई पनि चराउनु पर्छ। जहाँजहाँ फूल फुलेको छ, त्यहीँ त्यहीँ मौरीका घार पुर्‍याउन सके मात्र छिटै लाभ लिन सकिने उनीहरू बताउँछन्। मौरीपालनका लागि सबैभन्दा बढी समस्या भनेकै चरन क्षेत्रको हो। भानेश्वरका अनुसार कृषि उपजमा हुने विषादीको प्रयोगबाट मौरी जोगाउन कठिन छ। त्यसैले विभिन्न प्राकृतिक फूल फुलेका स्थानहरूमा घार सार्नु पर्छ। तर, कतिपय किसानमा अझै पनि मौरीले परागसेचन गर्दा उत्पादन घट्ने भ्रम रहेकाले मौरी चराउन नदिने गरेको बताए।

मौरीले परागसेचन गराउँदा उत्पादन घट्ने नभई वृद्धि हुने कुरा अनुसन्धानहरूबाट पुष्टि भएकाले यो कुरा किसानलाई पनि बुझाउन जरुरी रहेको उनले बताए। नेपाली किसानहरूको आकर्षण व्यावसायिक मौरीपालनतर्फ बढ्दै गएकाले चरन क्षेत्र व्यवस्थापन तथा विषादीको प्रयोग न्यूनीकरणमा सरकारले पनि चासो दिनु पर्ने दाजुभाइको भनाइ छ। उनीहरू मौरी चराउनकै लागि झापा, मोरङ, सुनसरीलगायतका विभिन्न स्थानमा पुग्ने गरेका छन्।

नक्कलीको विगविगी

अहिले बजारमा मह पनि नक्कली आएका छन्। तर विभिन्न वस्तुको मिसावट गरी बजारमा पठाइएको महबाट उपभोक्ता भड्किएको भानेश्वरको बुझाइ छ। ‘हेर्दा दुरुस्तै मह हुन्छ, सबैले कहाँ चिन्न सक्नु र’, उनले भने–‘हामी दुःख गरेर मौरी पाल्ने अरू कतिपय चाँहि शुद्ध मह अलिअलि खरिद गरि विभिन्न वस्तु मिसाएर बेच्ने। यसरी त मौरी पाल्ने किसान र खाने उपभोक्ता दुवै मारमा पर्छन्।’ यसरी नक्कली र मिसावट युक्त मह बेच्नेलाई कार्वाही गर्न सके मात्र वास्तविक किसानले फाइदा लिन सक्ने भाइ धर्मेन्द्र बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.