|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक छेउ नालीमा बनाइएका अनावश्यक 'र्‍याम्प' हटाउने अभियान सुरु गरेको २० हप्ता भइसक्दा पनि अभियानले सार्थकता पाउन सकेको छैन। महानगरभित्रका ठूला-ठूला होटलले नै उक्त अभियानमा अटेरी गरेका हुन्। 

मंसिर ८ गतेदेखि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मूलसडकदेखि घरसम्म जोडेर जाने अनावश्यक र्‍याम्प हटाउने अभियानको उद्घाटन गरेका थिए। सफा, सुन्दर र धुलोमुक्त काठमाडौं बनाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो। सरोकालवालासँगै उक्त अभियानलाई तीव्रता दिने उनले बताएका थिए। विशेषगरी सरोकारवालाले सडकमा राखिएका अनावश्यक र्‍याम्प हटाउने आफैँले हटाउने प्रतिबद्धता जनाएका थिए।

सडक छेउका नालीमा अनावश्यक र्‍याम्पका कारण सडकभरी पानी आएर सडकलाई फोहोर बनाएको वातावरण महाशाखाको प्रमुख सरस्वती पोखरेलले बताइन्। र्‍याम्प बनाउँदा सडकमा पानी नआउने र सडकको छेउको पानी बग्ने ठाउँबाट पानी बग्ने उनको भनाइ छ। उनका अनुसार महानगरका धेरै ठाउँका र्‍याम्प नराखेर फलामको पाइप राखिएको छ।

'सडकमा बनाएका रोड र्‍याम्पलाई डोजर लगाएर भत्काउनेछ,' उनले भनिन्, 'महानगरले पहिले पनि भत्काएका थियो।' महानगरका सडकभित्र र्‍याम्प बनाएको भेटिए तुरुन्तै हटाउने पोखरेलले बताइन्। 'सहर र सडकलाई फोहोर बनाउन यसको मुख्य भूमिका रहेको छ' उनले भनिन्।

शान्तिबाटिका, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, न्युरो अस्पताल, कमलपोखरी, ज्ञानेश्वर, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, नक्साल, भाटभटेनी, बालुवाटार, रसियन एम्बेसी, सभामुख क्वाटर हुँदै गैरीधारा, सोह्रखुटे, बालाजु लगायतका स्थानका रोड र्‍याम्प हटाएको दाबी गरिन् पोखरेलले।

काठमाडौंबासीले घरसम्म सडक लान चाहेको कारणले यस्तो गरेको प्रशासकीय प्रमुख पोखरेलले बताइन्। सहर सफा राख्नुपर्छ भन्ने भावना भए त यस्तो कार्य नगर्ने पोखरेलले गुनासो गरिन्।

लाजिम्पाटको सांग्रिला होटल प्रवेश गर्ने सडकमा नाली नबनाई र्‍याम्प मात्रै बनाइएको छ। पानी निकासका लागि नाली नबनाई र्‍याम्प मात्रै बनाउँदा वर्षाको पानी निकास नपाएर सडकतिर जाने गरेको छ। तर होटलमा दैनिक सयौँ सवारी साधन आउने भएकोले यस्तो र्‍याम्प राख्‍नु परेको सांग्रिला होटलका एक कर्मचारीले बताए। फलामको रड राख्दा भारी सवारी साधनलाई नथाम्ने भएकोले नाली नबनाएर र्‍याम्प मात्रै निर्माण गरिएको उनले बताए।

अनावश्यक र्‍याम्प हटाउने अभियानको उद्घाटनमा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीका उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.