प्रहरी र अध्यागमनको टकरावले भित्रिएन राहदानी जाँच्ने प्रविधि

|

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी श्रीमति गायत्री नेपाल कूटनीतिक राहदानीसहित गत सोमबार अमेरिका उड्छिन्।

टर्कीको इस्तानबुल विमानस्थलको ट्रान्जिटबाट अमेरिका उड्न लाग्दा गायत्रीलाई अध्यागमका कर्मचारीले रोक्छन्। जहाज चढ्नै लाग्दा 'I check it' प्रणालीबाट जाँच गर्दा उनको राहदानी अपराध अनुसन्धान गर्ने प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमा दर्ता भएको देखिन्छ।

गायत्रीको राहदानी कसरी पुग्यो इन्टरपोलमा?

गायत्रीको राहदानी नम्बर इन्टरपोलमा दर्ता हुनुको कनेक्सन बैंककसँग छ। सन् २०१४ मा चुणामणि भण्डारीले बैंकक जाँदा राहदानी हराउँछन्।

नेपाली नागरिकले राहदानी हराएपछि सम्बन्धित देशमा रहेको नेपाली दूतावासले निजलाई एक महिनाको अवधि राखेर नेपाल जान 'ट्राभल डकुमेन्ट' उपलब्ध गराउँछ। भण्डारी दूतावासबाट  ट्राभल डकुमेन्ट लिएर नेपाल आउँछन। राहदानी हराएको विवरण सहितको फारम भरेर राहदानी विभागमा निवेदन दिन्छन्।

उनले फारम भर्दा राहदानी नम्बरको अघि र पछि हुने अक्षर (अल्फाबेट) लेख्दैनन, नम्बरमात्र उल्लेख गर्छन्। (उदाहरणः ००२३)

राहदानी विभागका कर्मचारीले नम्बरमात्र इन्ट्री गर्छन्। पछि हराएको उक्त राहदानी नम्बर ००२३ इन्टरपोलमा रजिस्टर हुन्छ।

चुणामणि भण्डारीले दुई वर्षअघि हराएको राहदानी नम्बरसँग माधव नेपाल पत्नी गायत्रीले बोकेको कूटनीतिक राहदानीको नम्बर म्याच भएपछि उनलाई स्तानबुल विमानस्थलको अध्यागमनले नियन्त्रणमा लिएर केरकार सुरु गर्छ।

'नोभेम्बर ९ मा गायत्री नेपालले लिनुभएको राहदानीको नम्बर दुई वर्षअघि इन्टरपोलको चोरिएका तथा हराएका ट्राभल डकुमेन्ट (STLD- Stolen and Lost Travel Document) को सूचीमा भण्डारीले लिएको राहदानी नम्बरसँग दुर्भाग्यवश मिलेकाले उहाँले दुःख पाउनुपर्‍यो', राहदानी विभागका महानिर्देशक सुशील कुमार लम्सालले थाहाखबरसँग भने।

परराष्ट्रको क्‍विक रेस्पोन्स

इस्तानबुल विमानस्थलको अध्यागमनको केरकारमा गायत्री नेपाल परेको खबर परराष्ट्र मन्त्रालयमा आउनासाथ राहदानी विभागले  उक्त नम्बरको राहदानी हराएको हो कि होइन भनेर जाँच गर्‍यो।

हराएको राहदानी नम्बर कूटनीतिक राहदानी नम्बरसँग मिल्नु त्रुटि भएको पत्ता लागेपछि राहदानी विभागले तत्काल विस्तृत विवरण इस्तानबुल विमानस्थल अध्यागमनलाई पठायो। त्यसपछि इस्तानबुल अध्यागमनले गायत्री नेपाललाई अमेरिका प्रस्थान गर्न दियो।

'हाम्रो इमेल डेस्क २४ घन्टा खुल्ला रहन्छ। त्यस्ता जानकारी आउने बित्तिकै राहदानी जारी भएको मिति, बाहकको नाम र राहदानी नम्बर भेरिफाई गरेर सम्बन्धित संस्थालाई इमेल गर्छौं', महानिर्देशक लम्सालले भने, 'हामीले इस्तानबुल अध्यागमनलाई पनि इमिडियट रेस्पोन्स (तत्काल खबर) गर्‍यौँ।'

२८ हजार कूटनीतिक राहदानी भेरिफाई गर्दै राहदानी विभाग

राहदानी विभागबाट हालसम्म २८ हजार  १०२ कूटनीतिक राहदानी जारी भएका छन्। गायत्री नेपालको जस्तै अन्य कूटनीतिक राहदानी इन्टरपोलमा दर्ता भएका राहदानीसँग मेल खान्छ कि खाँदैन भनेर विभागले भेरिफाई गर्न लागेको छ।

'हामी अझै सिक्ने क्रममै छौँ', महानिर्देशक लम्सालले भने, 'गायत्री नेपालले जस्तै अन्य भीआइपीले दुःख पाउनु नपरोस् भनेर हामीले विभागबाट जारी भएका कूटनीतिक राहदानी इन्टरपोलको सूचीसँग भेरिफाइ गर्दैछौँ।'

इन्टरपोलमा कसरी दर्ता हुन्छन् राहदानी?

राहदानी हराएपछि विभागमा दर्ता हुने आवेदनलाई विभागले प्रहरीकहाँ पठाउँछ। प्रहरीले त्यो नम्बर इन्टरपोलमा दर्ता गर्छ। हराएका र चोरी भएका राहदानी इन्टरपोलमा दर्ता हुन्छन्।

हराएका र चोरी भएका राहदानी संगठित अपराधमा संलग्न व्यक्ति तथा आतंकवादीले प्रयोग गर्न सक्ने भएकाले त्यस्ता गतिविधिमा हराएका राहदानी प्रयोग हुन नदिन इन्टरपोलमा दर्ता गरिन्छ।

नेपाल प्रहरीका अनुसार इन्टरपोलमा सन् २०१० देखि हालसम्म १ लाख ६३ हजार नेपाली राहदानी दर्ता छन्। 'हराएका राहदानी अपराधीलाई प्रयोग गर्न नदिने उद्देश्यले इन्टरपोलमा दर्ता गरिन्छ। इन्टरपोलको डाटाबेसमा प्रहरीको मात्र पहुँच हुन्छ', नेपाल प्रहरीका डीआइजी हेमन्त मल्ल ठकुरीले भने।

इन्टरपोल डाटाबेस

इन्टरपोलको डाटाबेस तीनवटा प्रणालीबाट हेर्न सकिन्छ।

१) MIND (Mobile INTERPOL Network Database)

२) FIND(Fixed INTERPOL Network Database

३) I Check it.

MIND विभिन्न मुलुकका अध्यागमनमा हुन्छ, FIND विभिन्न मुलुकका अपराध महाशाखासँग हुन्छ भने I check it अन्तर्राष्ट्रिय उडान भर्ने सीमित विमान सेवा कम्पनीसँगमात्र हुन्छ।

ती प्रणालीबाट इन्टरपोलको सूचीमा बाहकको राहदानी छ कि छैन भनेर जाँच गर्न सकिन्छ। नेपालको अध्यागमनमा भने यस्तो जाँच गर्ने प्रणाली छैन।

प्रणाली भित्र्याउने प्रयास

सरकारले एकीकृत डाटाबेस प्रणाली तत्काल जडान गर्नुपर्ने प्रहरी र अध्यागमन विभागको साझा भनाई छ। यस्तो प्रणालीमा राहदानी स्वाइप गर्दा इन्टरपोलको डाटादेखि नागरिकता, राहदानी, क्राइम रेकर्ड र अन्य विवरण थाहा हुन्छ।

दुई वर्षअघि तत्कालीन गृहमन्त्री बामदेव गौतमले युरोपियन कम्पनीमार्फत त्यो सेवा सुरु गर्न लागेका थिए। तर उनको योजनाले मूर्तरुप पाउन सकेन। हाल एकीकृत डाटाबेस प्रणाली सुरु गर्न पाकिस्तानी प्रविधी कम्पनी NARDA सँग सरकारले परामर्श गरिरहेको छ। डाटाबेसका लागि NARDA साउथ एसियामा प्रख्यात मानिन्छ।

नेपालको अध्यागमनमा त्यो  प्रविधि भएको भए पूर्व प्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री इस्तानबुल अध्यागमनको केरकारमा फस्नुपर्दैनथ्यो। नेपालको अध्यागमनमा जाँच गर्दा उनको राहदानी इन्टरपोलमा दर्ता भएको थाहा हुन्थ्यो।

अध्यागमन र प्रहरीबीच टकराव 

यो प्रविधि भित्र्याउने विषयमा नेपाल प्रहरी र अध्यागमन विभागबीच द्वन्द्व छ। इन्टरपोलको सूचना प्रहरीबाहेकले हेर्नै नमिल्ने नेपाल प्रहरीको भनाई छ भने प्रहरीको सूचना राज्यको भएकोले आफूले पनि प्रयोग गर्न पाउनुपर्ने विभागको तर्क छ।

'प्रहरीले इन्टरपोलको सूचनाको पहुँच अध्यागमन विभागलाई दियो भने हामी 'स्वाइप डिभाइस' सञ्चालनमा ल्याउन सक्छौँ', अध्यागमन विभागका एक प्राविधिक भन्छन्, 'प्रहरीलाई प्राप्त हुने सूचना सरकारको हो। प्रहरीले एक्सेस नदिँदा हामीले आधुनिक प्रणालीबाट राहदानी जाँच गर्न पाएका छैनौँ।'

यता प्रहरी भने इन्टरपोलको सूचना अरुलाई दिन नसक्ने बताउँछ। डीआइजी हेमन्त मल्ल अपराध अनुसन्धानका क्रममा उपलब्ध हुने इन्टरपोलको सूचना अन्य  निकायलाई दिन नमिल्ने बताउँछन्। 'यो अन्तर्राष्ट्रिय अभ्यास नै हो। त्यसकारण अध्यागमनमा राहदानी जाँच गर्दा प्रहरीसँग समन्वय हुनुपर्‍यो अनि अपराधी पत्ता लगाउन सहज हुन्छ,' डीआइजी मल्लले भने।

यो टकरावकाबीच नेपाल प्रहरी र अध्यागमन विभागको साझा मागमा परेको एकीकृत डाटाबेस प्रणाली विमानस्थलमा कहिले सञ्चालन हुन्छ प्रतिक्षाकै विषय बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.