|

भक्तपुर : भक्तपुरको प्रसिद्घ बिस्का जात्राको चौथों दिन शनिबार  तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ। जात्राको चौंथो दिन साँझ अर्थात् आजैको दिन भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याउनु अघि आज कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याएको हो।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने  हात नभएको लिङ्गोको टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फुल राखिएको हुन्छ। यो लिंगो प्रत्येक वर्ष चैत मसान्तका दिन ठड्याउने र बैशाख ५ गतेका दिन सो ढालेपछि लिङ्गो जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ।

यसैगरी आजै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याएर      जात्रा मनाईंदैछ । भक्तपुरको बिस्का जात्राको अर्को आकर्षण लिङ्गो ठड्याउनु हो। लिङ्गो जात्राको लागि सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरीप्रसाद सुवेदीले जानकारी दिए। ‘लिङ्गो ठड्याउनका लागि    आवश्यक लिङ्गो, डोरी र      लिङ्गो उठाउन प्रयोग हुने कैंची समेत तयारी    अवस्थामा रहेको छ।’  उनले भने, ‘जात्रा निर्धारित समय साँझ ५ बजे शुरु  हुन्छ।’

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ। लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ। लिङ्गो ठड्याउनु अघि भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर भेलुखेलस्थित यसीँख्य पुर्‍याउनुपर्ने परम्परा रहेको छ।

     यो जात्राका एक जोडी लिङ्गो आवश्यक पर्छ। जात्राको लागि भक्तपुर चित्तपोलस्थित लिङ्गे वनबाट ५५ हात लामो सल्लाको रुख काटेर ल्याईन्छ। लिङ्गोलाई भैरवनाथ र भद्रकालीको प्रतिकको रुपमा लिईन्छ। यो जात्राका   लागि ल्याईएको काठलाई जन्म मृत्यु सम्बन्धी दशकर्म गरेर काठलाई लिङ्गोको रुपमा परिणत गर्ने प्रचलन रहेको संस्कृतीकर्मी ओमप्रसाद      धौभडेलले जानकारी दिए। ‘लिङ्गोका लागि ल्याएको नयाँ काठलाई नेवारी संस्कृतिअनुसार बेल विवाह गर्ने, गुफा राख्ने, व्रतवन्ध गर्ने र विवाह समेत गर्ने कार्य सम्पन्न भएपछि एउटा काठ लिङ्गोको रुपमा परिणत हुन्छ। त्यसपछि मात्र त्यो काठले देवत्व प्राप्त गर्दछ।’

लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरेको संस्कृतीकर्मी धौभडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.