|

ओखलढुंगा : जिल्लाका प्राय: सबै स्थानीय तह जनचाहनाविपरीत रहेको गुनासो बढेको छ। जनप्रतिनिधिले चुनाव अघिका जनआकांक्षा पूरा नगरेपछि गुनासो बढ्न थालेको हो। 

जनप्रतिनिधि तथा तिनका आसपासमा मात्र विकासकेन्द्रित रहेको जनगुनासो आइरहँदा जिल्लामा विकास भन्दा पनि विनास बढी निम्तिरहेको सर्वसाधारणको बुझाई छ। विकासको पहिलो खुड्किलोको रुपमा जिल्लामा सबै स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेका छन्। स्थानीय तहले सडकलाई पहिलो प्राथमिकता दिएपछि मतदाता मात्र होइन, जुन पार्टीबाट विजयी भएका जनप्रतिनिधि छन्, तिनै दलका नेताले समेत असन्तुष्टि ब्यक्त गरेका छन्। स्थानीय तहले २२ महिनामा एक अरबभन्दा बढी रकम सडकमै खर्चेका छन्।

प्राविधिक र वातावरणीय अध्ययनबिनै धमाधम खनिएका सडकले विकाससँगै बिनास पनि निम्त्याएका छन्। दुर्गम जिल्लाका पहाडी भुभागलाई छियाछिया पारी सडक निर्माण सँगै विनास हुने संकेतहरू देखा परिसकेको लिखु गाउँपालिका ८ का स्थानीय तथा नेपाली कांग्रेसका स्थानीय नेता देबेन्द्र पौडेलको भनाइ छ। स्थानीय तहमा निर्माण गरिएका उपभोक्ता समितिमध्ये धेरै जसो सडक निर्माणसम्बन्धी रहेका छन्। यसमा पनि सबै उपभोक्ता समितिले डोजर एक्साभेटर नै प्रयोग गरेर सडक खन्ने गरेको पाइन्छ।

उपभोक्ता समितिले वातावरणीय प्रभावलाई ध्यान नदिई सडक खन्दै आएका कारण ठाउँठाउँमा पहिरोको त्रासमा बस्नु पर्ने बाध्यता रहेको छ। गत वर्ष मात्रै सडकको कारण पहिरो जाँदा मोलुङ गाउँपालिकामा एकै परिवारका तीन जनाले ज्यान गुमाउनुपरेको थियो। गत आर्थिक वर्षमा जथाभावी ग्रेड नमिलाइएका सडक खनिएको थियो।

सर्वसाधारणको बुझाइमा गत वर्ष त सडक वर्ष नै रहेको छ। यसले न सडक सञ्चालन भयो न गुणस्तर नै बन्यो। सडकको नाममा छुट्टयाइएको रकम जनप्रतिनिधि र एक्साभेटर मालिकको आयआर्जनको मेसो मात्र बन्यो। यसले स्थानीयस्तरका जनताको जीवनस्तर उक्सन पनि सकेन। स्थानीय तहले सीमान्तकृत समुदायको नामको बजेट पनि शीर्षक मिलाएर सडकमै खर्च गर्न अझै रोकेका छैनन्।

आफू नजिककालाई मात्र विकासका योजना

सिकाई र गराई भएको कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाको भनाइ छ। स्थानीय तहमा जनमुखी काम हुन नसकेको गुनासो बढी रहँदा जनप्रतिनिधि बिनाको लामो समय र नयाँ संरचना भएका कारण काममा केही कमी हुन सक्ने गाउँपालिकाका जनप्रतिनिधि बताउँछन्। लिखु गाउँपालिकामा अध्यक्ष गोबिन्दबहादुर पौडेलको वरिपरि रहनेलाई मात्र विकासे योजना वितरण गरिएको र आफू नजिककालाई उपभोक्त समितिको अध्यक्ष बनाइएको स्थानीयको आरोप छ।

स्थानीय तहमा जनतामुखीभन्दा पनि जन प्रतिनिधिमुखी काम भएको गुनासो मतदाताले समेत गरेका छन। मानेभञ्ज्याङ गाउँपालिकामा खानेपानीको हाहाकार भई रहँदा पनि गाउँपालिका मुकदर्शक भएर बसेको स्थानीय होटल ब्यवसायी भीमबहादुर मगरले बताए। तत्कालीन एमालेले जितेको लिखु र कांग्रेसले नेतृत्व जितेको चम्पादेबीमा कर्मचारी छनाेटको विषयमा भएको विवाद अदालतसम्म पुगेको छ। जनप्रतिनिधिकै नेतृत्व गर्ने क्षमता नभएकाले यस्तो अवस्था आएको चम्पादेवी ६ का खड्ग कार्कीको भनाइ छ।

कांग्रेस प्यानलको बहुमत रहेको सुनकोशी गाउँपालिका र तत्कालीन एमाले प्यानलको बहुमत रहेको सिद्धिचरण नगरपालिकामा पनि चित्तबुझ्दो काम नभएको गुनासो छ। नगरपालिकामा पनि बिकट ठाउँसम्म सडक भन्दा अन्य विकासको अनुभूति हुने गरी काम नभएको जन्तरखानीका मर्ते बिकले गुनासो गरे। अनुत्पादक र विकासका नाममा विनासकारी काम बढी रहेको गुनासो चौतर्फी आउने गरेको छ। हरेक स्थानीय तहहरूमा जनतामुखी काम नभएको र आफ्ना आफन्त र राजनीतिक आस्थाका कारण कर्मचारी छनाेट गरी काम काज गराएको समेत आरोप छ।

स्थानीय सरकारको कृषिमा ध्यान गएन 

स्थानीय तहले कृषिलाई जोड नदिँदा किसानहरू परम्परागत खेती गर्न बाध्य रहेका छन्। लिखु गाउँपालिका ६ का अगुवा किसान बिमला भट्टराईले स्थानीय सरकारको कृषिमा ध्यान नगएको बताइन्। स्थानीय सरकारले किसानलाई तालिम समयअनुसारको मल बीउ बिजन तथा सामान्य प्रविधिक ज्ञान दिए परम्परा खेती प्रणालीबाट खेती गर्नु नपर्ने उनले गुनासो गरे।

आधुनिक कृषि प्रणाली अपनाएर खेती गर्न पाए समयको बचतदेखि उत्पादनमा बृद्धि हुने उनको भनाइ छ।  स्वरोजगार, शिक्षा, स्वास्थ्य जस्ता विषयमा जन प्रतिनिधिको ध्यानै नगएको र खाली सभा, उद्घाटन र अन्य झिना मसिना कुरामा अलमिलिरहेका र भाबी पुस्तालाई काम दिने कुनै पनि काम गरेको नदेखिएको नेकपाका अगुवा कार्यकर्ता केशवहरि ढुंगेलको भनाइ छ। सिंचाई अभाव कारण वर्षेनी जमिन बाँझिने क्रम बढे पनि कृषि क्षेत्रलाई अपेक्षा गरिएको सर्वसाधारणको बुझाई छ।

जनप्रतिनिधिले कृषिमा आत्म निर्भर वनाउनका लागि कृषिमुखी काम गर्न सके युवा बिदेश पलायन नभई आत्मनिर्भर बनी स्वरोजगार भए पनि हरेक स्थानीय तहमा जनप्रतिनिधिकै आसपासमा विकासे योजना वितरण भएका कारण अन्य क्षेत्रको विकास हुन नसकेको उनको भनाई छ। भौतिक विकासअन्तर्गत सडकलाई प्राथमिकतमा राखेकाले अन्य महत्त्वपूर्ण काम नै नभएको खिजीदेम्वा २ का कमल नेपालको भनाई छ।

स्थानीय तहमा सबैभन्दा शिक्षाको अवस्था नाजुक भएको र शिक्षलाई स्थानीय सरकारले बढवा नगरेको उनकोे भनाइ छ। स्थानीय सरकारले शिक्षामा परिवर्तन दिन सक्ने योजना बनाउनुपर्नेमा पुरानै ढाँचामा शिक्षा योजना सञ्चालन भएको उनको गुनासो । शिक्षामा पुरानै अवस्था रहेको शिक्षा, स्वास्थ्यलगायतका सामाजिक विकासमा जिल्लाका प्राय सबै स्थानीय तहको ध्यान नगएको कारण भविष्यमा समस्या उत्पन्न हुने जानकार बताउँछन्।

शिक्षासम्बन्धी राम्रो योजनाको अभाव

लिखु गाउँपालिकाको श्री ग्रामोदय युगकवि सिद्धिचरण माबिका शिक्षीका नेत्रकुमारी पौडेलका अनुसार जिल्लाका सबै स्थानीय तहमा शिक्षासम्बन्धी राम्रो खालको योजना बनाइएको छैन। शिक्षा अन्य विषयजस्तो नभएकाले दीर्घकालीन योजना बनाएर मात्र शिक्षाको गुणस्तर बन्ने उनको भनाई छ। जनप्रतिनिधिहरू भने विकास एकैचोटी हुने विषय नभएकाले क्रमैसँग काम भइरहेको दाबी गरेका छन्।

गणतान्त्रिक सरकार भन्छन तर सामन्तवादलाई बढवा दिने काम गरिरहेको लिखु गाउँपालिकाका पुराना कम्युनिष्ट कार्यकर्ता बोजबहादुर खत्रीले बताए। यो अत्यन्त लज्जास्पद विषय भएको भन्दै खत्रीले जनप्रतिनिधिको बबुरोपनाले जनताले विकासको अनुभूतिको कुरा त परै आओस, दललाई समेत धक्का पुग्ने गरी गरेको बताउँदै यी विषयमा दलभित्र पनि कुरा उठ्नु पर्ने र मिडियाले पनि चेतना भर्नुपर्ने उनी बताउँछन्। गाउँपालिकाका अध्यक्षको वरिपरि रहने नातादेखि चुनावमा सघाउँनेसम्म मात्र विकास पुगेको  र तल्लो तहसम्म विकासका योजना नै नपुगेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.