खटाइएका उपसचिव पनि आउन मानेनन्

|

रौतहट : सरकारले कर्मचारीको  समायोजन सके पनि रौतहटमा भने अझै ११ वटा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्नुपरेको छ। २ गाउँपालिका र १६ वटा नगरपालिका रहेको रौतहटमा अझै पनि ११ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) आएका छैनन।

५ वटा नगरपालिकामा मात्रै उपसचिव आएर कामकाज गदै आएका छन। गत फागुनमा भएको कर्मचारी समायोजनमा राजपुर,गुजरा, फतुहा बिजयपुर र मौलापुरमा उपसचिवलाई खटाइएको भएता अझै २ वटा नगरपालिकमा उपसचिव हाजिर भएका छैनन। फतुहा बिजयपुरमा उपसचिव बन्दना झा र मौलापुरमा उपसचिव मुकेश केशरीलाई खटाएको भए तापनि उनीहरू अहिले नगरपालिामा आएर हाजिर गरेका छैनन।

फतुहा बिजयपुर नगरपालिकामा शाखा अधिकृत रंजना साहले कामकाज गर्दै आएकी छिन भने मौलापुर नगरपालिकामा शाखा अधिकृत प्रमोद साह काम गर्दै आएका छन। समायोजनबाट खटाइएका मध्ये राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव गोबिन्द सिग्देलले केही दिन अगाडि हाजिर भएका छन भने गुजरा नगरपालिकाको प्रमुख प्रशासकीय उपसचिव अधिकृतमा खटिएका बासुदेव खतिवडाले शुक्रबार हाजिर गरेका छन। यसअघि चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव ऋद्धि प्रकाश सिटौला, गरुडा नगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव टेकराज पन्थी र गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुमन कार्की काम काज गर्दै आइरहेका छन।

अन्य १० वटा नगरपालिकामा शाखा अधिकृत र १ वटा नगरपालिकामा नायव सुब्बाले निमित्तको रुपमा काम काज गर्दै आएका छन। बौधीमाई नगरपालिकामा नायव सुब्बा बिरेन्द्र चन्द्रबंशीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा विगत स्थापना कालदेखि नै कामकाज गर्दै आएका छन्। शाखा अकिृत मनोज रजकले देवाही गुनाही नगरपालिका र कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम काज गर्दै आएका छन्।

कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देबकोटालाई समायोजनमा यमुनामाइ गाउँपालिका पठाएपछि शाखा अधिकृत रजकले २ वटा नगरपालिका हेर्नु परेको हो। राजदेबी नगरपालिकामा भने इन्जिनियर संजय पाण्डेले नगरपालिका हाक्दै आएका छन भने बृन्दावन नगरपालिकामा महिला विकास कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख निरीक्षक भवानी दाहाललाई हाकिम बनाइएको छ।

गरुडा र बृन्दावन नगरपालिका हेर्दै आएका उपसचिव टेकराज पन्थीले बृन्दावन नगरपालिका छाडेपछि दाहाललाई सो नगरपालिकाको हाकिम बनाइएको हो।यसै गरी इशनाथ नगरपालिकामा शाखा अधिकृत रामजी जोशीले नै चलाइरहेका छन भने परोहा नगरपालिकामा पनि लामो समयदेखि शाखा अधिकृत देबनारायण यादवले नै नगरपालिका हाकिरहेका छन। गढीमाइमा भने पुराना अनुभवी शाखा अधिकृत नरबहादुर बिक नै प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिहेका छन। सो नगरपालिकामा उपसचिव बलराम ढकाललाई खटाइएको भए तापनि केही दिन बसेर उनी फर्किएका थिए। यस्तै माधवनारायण नगरपालिकामा पनि लामो समयदेखि शाखा अधिकृत प्रलव कायस्थ नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आएका छन।

रौतहटमा रहेको २ गाउँपालिकामा २ जना नै शाखा अधिकृतले जिम्मेवारी पाएका छन। यमुनामाई गाउँपालिका  उदयप्रसाद देवकोटा र दुर्गा भगवति गाउँपालिकामा ओमप्रकाश यादव शाखा अधिकृतले काम गर्दै आएका छन। गत असारमा राज्यले केही स्थानीय तहमा शाखा अधिकृतलाई पठाएको भए तापनि नगर प्रमुखहरूले हाजिर नगराइ फिर्ता गरेका थिए। सुब्बाले चलाउँदै आएका नगरपालिकामा यस वर्ष भने शाखा अधिकृतहरूले चलाउँदै आएका छन।

राज्यले खटाएको कर्मचारीले अटेर गरेर बस्नु नहुने नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्रकुमार गुप्ताले बताए। बाँकी रहेका नगरपालिकामा पनि सरकारले दरबन्दी अनुसारको कर्मचारी खटाएर स्थानीय तहको विकासमा सहयोग गर्नु पर्ने पूर्व अध्यक्ष गुप्ताको भनाइ रहेको छ। यता चन्द्रपुर नगरपालिकामा लेखा अधिकृत नआउदा काम प्रभावित भएको छ। चन्द्रपुर नगरपालिकाका लेखा अधिकृत श्याम ठाकुरको सरुवा भएपछि बिगत १ महिनादेखि नगरपालिका लेखा अधिकृतविहीन बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.