फिचर

थिमिको बिस्का जात्राभित्रका जात्राहरु
SHARES

बैशाख १, २०७६

    भक्तपुर : बिस्का जात्रा भन्ने बित्तिकै भैरवनाथको रथ तान्ने र लिंगो उभ्याउने जात्रा प्रसिद्ध छ। यससँगै मध्यपुर थिमि क्षेत्रमा मनाइने जिब्रो छेड्ने जात्रा र स्विनिखः (बतीस खटको) जात्रा पनि उत्तिकै महत्त्वपूर्ण र प्रसिद्ध रहेका छन्।

    मध्यपुर थिमि क्षेत्रमा विशेष गरी बैशाख १ र २ मा बिस्का जात्रा हुने गरेको छ। यी जात्राहरु स्थानीय नेवारी भाषामा चान्हसिया जात्रा (रातको जात्रा), बाँय्लिसिया (बेलुकीको) जात्रा र सुँथसिया (बिहानको) जात्राको रुपमा परिचित रहेको छ। थिमिको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई स्विनिखः (बतीस) खटको जात्रा पनि भन्ने गरिन्छ। जात्रालुहरुले एकापसमा सिन्दुर लगाउने र सिन्दुरको व्यापक प्रयोग हुने भएकाले यस जात्रालाई सिन्दुर जात्राको रुपमा समेत लिइन्छ। 

    स्विनिखः जात्रा

    स्थानीय बालकुमारी मन्दिर प्राङ्गणबाट बैशाख २ बिहान सुरु हुने जात्रालाई स्विनिखः (बतीस खटको) जात्राको रुपमा लिइन्छ। थिमिको बिस्का जात्राको मुख्य आकर्षण पनि यही जात्रा हो। यसलाई सुथसिया अर्थात् बिहानको जात्रा पनि भनिन्छ। 

    कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बतीस खटको जात्रा भनिएको जानकारहरु बताउँछन्। तर, अहिले विभिन्न कारणले यस जात्रामा २३ खटको सहभागिता हुने गरेको छ। यस जात्रामा मध्यपुर थिमि क्षेत्रका सिद्धिकाली गण, विष्णुविर गण, दक्षिण बाराही गणलगायतका देवी देवताहरुको खट सहभागी हुने गर्दछ।

    यो जात्रा प्रारम्भ गर्न सबै देवीदेवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नु पर्दछ। नगदेशको सिद्धिगणेश आइसकेपछि एकापसमा सगुन साटासाट गरी जात्रा प्रारम्भ हुने परम्परा रहे पनि केही वर्षअघि भएको एक घटनाका कारण नगदेशको सिद्धिगणेश थिमि आउन बन्द भएको छ। त्यसैले उनको सहभागिताविना नै जात्रा सञ्चालन हुँदै आएको छ। 

    बालकुमारीबाट जात्रा प्रारम्भ भएपछि लस्करै खटहरु चपाचोतर्फ लाग्दछ। त्यसपछि सिद्धिकाली गणका देवीदेवताहरु चपाचो क्षेत्रको परिक्रमा गर्न जान्छ भने बालकुमारी र विष्णुवीर गणका देवताहरु दिगुटोलबाट फर्केर निगुपुखु, इनायलाछि, दथुटोल, मरुटोलको परिक्रमा पछि लायकुमा खट बिसाइ जात्रा समापन गरिन्छ।

    दक्षिण बाराही जात्रा

    यो जात्रा दधिकोट क्वाछेंस्थित दक्षिण बाराहीको नेतृत्वमा बैशाख १ को राति सञ्चालन हुन्छ। रातको समयमा हुने भएकाले स्थानीय भाषामा यसलाई चान्हसिया जात्रा पनि भनिन्छ। 

    यस जात्रामा दक्षिण बराहीको साथमा दधिकोट हिंचोकस्थित हरिसिद्धी र थिमिको यमलाटोलको अजिमासहित तीन खटको सहभागिता रहन्छ। स्थानीय गुथियारको घरबाट सुरु हुने यो जात्राले दिगुटोल, लाय्कु ईनायलाछि, मरुटोल, बालकुमारी चोक, शंखधर चोक, क्वाछेंलगायतको स्थानको परिक्रमा गर्दछ।

    सिद्धिकाली गण जात्रा

    यो जात्रा स्थानीय ईनायक्व टोलबाट सिद्धिकालीको नेतृत्वमा बैशाख १ को साँझ सुरु हुन्छ। त्यसैले यसलाई स्थानीय भाषामा बाय्लिंसिया अर्थात बेलुकीको जात्रा पनि भन्ने गरिन्छ।

    विष्णुवीर जात्रा प्रारम्भ भएलगत्तै स्थानीय राज गणेशको खट सिद्धिकाली आउँछ र यो जात्रा प्रारम्भ हुन्छ। यस जात्रामा सिद्धिकालीको नेतृत्वमा चोदे गणेश, चपाचो गणेश, क्वसी नाः गणेश, दिगु गणेश, गाँचा गणेश र सिवाः गणेशको सहभागिता रहन्छ। स्थानीय ईनायक्वबाट सुुरु हुने यस जात्राले हात्ती महाँकाल, कुमाःननि, नासःननि, चपाचो, गार्चा, वाःननि, भुँलाखेललगायतका टोलको परिक्रमा गरिन्छ।

    विष्णुवीर गण जात्रा

    बैशाख १ को साँझ स्थानीय विष्णुवीर देवताको नेतृत्वमा सुँगाटोलबाट सुरु हुने यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेशगरी ६ वटा खटको सहभागिता रहन्छ।

    यो जात्रा प्रारम्भ गर्न स्थानीय इनायलाछि टोलको राज गणेशको उपस्थिति अनिवार्य मानिन्छ। राज गणेशको उपस्थिति भएपछि जात्रा प्रारम्भ गरी कयकुतांः, पाँगु, इनायलाछि, निगुपुखु, दिगुटोल, भुलाखेल, वाःननि, पोबू, चोदे, दथुटो, वामुने, तछुटोल, सुंगाः टोल, मरुटोललगायतका स्थानको परिक्रमा गरिन्छ।

    यो जात्रामा अनौठो प्रचलन पनि रहेको छ। जात्राका क्रममा विष्णुवीरको खट सुंगा टोलबाट कय्कुतां पुग्दा धिमेबाजा बजाउन नहुने प्रचलन छ। यस बेला नेवारी समुदायमा शवयात्रा गर्दा बजाइने सि बाजा बजाउनु पर्ने र जात्रामा सहभागी सबैले मलामीको रुपमा टोपी फुकाल्नु पर्ने प्रचलन छ।

    सिद्धिगणेश जात्रा 

    थिमि क्षेत्रको जात्राहरुमध्ये नगदेशको सिद्धिगणेश जात्रा अर्को महत्त्वपूर्ण र आकर्षण जात्रा हो। थिमिका अन्य भेगमा टोलटोलका देवीदेवताहरुको खट बनाई जात्रा हुने गरे पनि नगदेशमा भने एउटै सिद्धि गणेशको मात्र खट जात्रा गरिन्छ।

    यो जात्रामा नगदेशका हजारौंको जनसहभागिता हुने भएकाले यो जात्राको रौनक नै बेग्लै हुने गर्दछ। विगतमा बैशाख २ को बिहान यो खट बालकुमारी आउने परम्परा रहेको थियो। त्यतिखेर नगदेशको टोलीको थिमिमा व्यग्र प्रतीक्षा हुने गर्दथ्यो। नगदेशको ठूलो लावालस्करले बतीस खटको जात्राको रौनक नै फेरिदिने भएकाले नगदेशको प्रतिक्षा व्यग्र हुने गर्दथ्यो। 

    सिद्धिगणेशको जात्रा बैशाख १ र २ दुई दिन सञ्चालन हुने गर्दछ। बैशाख १ को राति हुने जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ। स्थानीय लायकुका प्रतिनिधिले सिद्धिगणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फूल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ। यसदिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चालगायतको परिक्रमा गराई पुखुुसिमा पुगेर सम्पन्न हुन्छ।

    बैशाख २ को बिहान अघिल्लो दिनमा झैं नगदेशका विभिन्न भागको परिक्रमा गरी सिद्धिगणेशलाई बहाखामिल रोड हुँदै सानुच्व पु¥याइन्छ। त्यहाँ नीलबाराहीसँग पूजा थाप्ने कार्य सम्पन्न गरी टिगनीको विभिन्न भागको परिक्रमा गरी नगदेशको न्याःगाः टोलस्थित द्यः छें प्राङ्गणमा पुगेर जात्रा सम्पन्न हुने परम्परा रहेको छ। 

    जिब्रो छेड्ने जात्रा

    मध्यपुर थिमि बोडेमा बैशाख २ मा धुमधामका साथ मनाइने जात्रा हो जिब्रो छेड्ने जात्रा। गतवर्ष झैं यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिने भएका छन्। 

    बोडेमा जिब्रो छेड्ने जात्रा स्थानीय पाँचो गणेशको पूर्वपट्टि रहेको मञ्चबाट सुरु गरिन्छ। जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुइरो बनाउने नकर्मीलाई लिन जान्छ। एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो)सहित नकर्मी मञ्चमा आउँछन् र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ। अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाकसहित मञ्चमा आउँछन्।

    नाइके प्रधानले पूmल, अक्षता र पैसासहित दिएको सुइरो (नातु)ले कर्मी नाइकेद्वारा सम्पूर्ण देवतासँग प्रार्थना गरी जिब्रो छेड्ने कार्य गरिन्छ। त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने चन्द्राकारको बत्ती, महादीप) बाल्छन्। नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्तिले उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन्। जहाँ जात्रा गरि महालक्ष्मी स्थान पु¥याएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकाल्ने गरिन्छ र प्वाँल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ। निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ। अन्तमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गरिन्छ। 

    जिब्रो छेड्नेले व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र महिलालाई छुन नहुने परम्परा रहेको छ। यदि छोएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ। जिब्रो स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र छेड्न पाउने परम्परा रहेको छ।

    नीलबाराही जात्रा

    बिस्का जात्राको अवसरमा थिमिको टिगनीमा नीलबाराही जात्रा सञ्चालन हुने गर्दछ। नीलबाराहीको जात्रा पनि बैशाख १ को बेलुकी र २ को बिहान गरी दुई दिन सञ्चालन हुने गर्दछ।

    बैशाख १ को राति स्थानीय तःधं टोलमा राखिएको नीलबाराहीलाई सरस्वतीखेल पु¥याइन्छ। त्यहाँबाट फर्काएर पुनः तःधं टोलमा पु¥याएपछि त्यसदिनको जात्रा समापन हुन्छ। भोलिपल्ट बैशाख २ को बिहान नीलबाराहीलाई नगदेशको सिद्धिगणेश र बोडेबाट टिगनी ल्याउने देवताहरुको बाटो हेर्न र स्वागत गर्न स्थानीय सानुच्वमा ल्याइन्छ। त्यहाँ सिद्धिगणेश र महालक्ष्मी गण समेतको सहभागितामा तिगनीको तःधं टोलस्थित डबलीमा बिसाइ पूजा थाप्ने कार्य हुन्छ। त्यसपछि विभिन्न भागको परिक्रमा गरी जात्रा समापन गरिन्छ।

    कालिका गण जात्रा 

    जिब्रो छेड्नेसँगै बोडेमा कालिका जात्रा पनि सञ्चालन हुन्छ। थिमिका अधिकांश जात्रा मुल देवताको नेतृत्वमा हुने गरे पनि बोडेमा भने बोडेको मुल देवता महालक्ष्मीभन्दा अघि पाचो गणेश राखेर जात्रा सञ्चालन हुन्छ। बोडेवासीले कालिकालाई नगरको नकिं अर्थात् थकालीको रुपमा लिइन्छ। त्यसैले बोडेमा हुने खट जात्रामा कालिका सबैभन्दा पछाडी बस्ने गर्दछ। यस जात्रामा पाचो गणेश, हासिमला गणेश, भोरिखा गणेश, तःधिं बाराही, चिँ धिं बाराही, महालक्ष्मी र कालिकाको खट सहभागी हुने गर्दछ।

    यो जात्रा पनि दुई दिन सञ्चालन हुने गर्दछ। पहिलो दिन बैशाख १ को राति स्थानीय लाछिटोलमा रहेको द्यछेंबाट कालिकालाई मन्दिरमा लगिन्छ। यसक्रममा कालिकालाई मन्दिरमा छाडेर सबै घरघरमा लाग्दछ भने भोलि बिहानै सुटुक्क कालिकालाई पाचो टोलमा पु¥याइन्छ।

    बैशाख २ को बिहान जिब्रो छेड्ने जात्रा सम्पन्न भए लगत्तै पाचो टोलबाट यो जात्रा सुरु भई बोडेको लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमा गरि लाछिटोल पुगेर जात्रा सम्पन्न हुन्छ। 

    चरखण्डी जात्रा 

    भक्तपुरको दधिकोटस्थित चरखण्डीमा मनाउने चरखण्डी जात्रालाई पनि मध्यपुर थिमि क्षेत्रकै बिस्का जात्राको एक अभिन्न अंगको रुपमा लिने गरिएको छ। विशेषगरी थिमिबाट बसाइँसराइका क्रममा चरखण्डी पुगेकाहरुले यो जात्रा सुरु गरेको विश्वास छ। 

    यो जात्रामा सुरुमा एक खट रहे पनि पछि बिस्तार गरी दुई खट बनाएको जानकारहरुको भनाइ छ। तर कुनै लिखित प्रमाण भने छैन। यो जात्रा थिमिको बालकुमारी क्वहाँ विज्याकिकु जात्रा सम्पन्न भएलगत्तै चरखण्डी तीर्थस्थलमा खट ल्याई सुरु हुन्छ। 

    बैशाख १ को साँझ चरखण्डी तीर्थस्थलबाट खटलाई पकाण्डोलस्थित डबलीमा बिसाएपछि त्यस दिनको जात्रा समापन हुन्छ। बैशाख २ को बिहान खटलाई जात्रा गर्दै चरखण्डी तीर्थस्थल लैजान्छ त्यहाँबाट न्यौपाने गाउँ, घैयाटार हुँदै गाम्चा क्षेत्रको परिक्रमापछि पुनः पकाण्डोलको मण्डपमा पुगेर जात्रा समापन हुन्छ। 

    सिद्धिकाली जात्रा

    लोहकिल्थलीमा २०६७ सालदेखि सिद्धिकालीको जात्रा सुरु भएको हो। बैशाख १ को साँझ र बैशाख २ को बिहान गरी यहाँ पनि दुई दिन जात्रा सञ्चालन हुन्छ। 

    बेशाख १ को स्थानीय सिद्धिकाली द्यः छेँ परिसरबाट सिद्धिकालीको खटलाई स्थानीय गणेश मन्दिर परिसरमा पु¥याईन्छ। यसलाई ‘द्यः ब्वयकेगु’ अर्थात देवता प्रदर्शन गर्ने भनी नामाकरण गरिएको छ। मूख्य जात्रा त्यही गणेश मन्दिर परिसरबाट सुरु हुन्छ। त्यसपछि खटलाई प्रजापति टोेल, पुनः गणेश मन्दिर हुँदै दक्षिणकाली मन्दिर र दिव्यश्वरी मन्दिर परिसर हुँदै ह्याजुटोल, कुटुटोल र स्वास्थ्य चौकीसम्म पु¥याई सोही बाटो फर्काउँदै सिद्धिकाली मन्दिर परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ। 

    बैशाख २ को बिहान सबै टोलवासीहरुको घरघरबाट पूजा गरिसकेपछि जात्रा सुरु गरी खटलाई प्रजापति टोल, गणेश मन्दिर, दक्षिणकाली मन्दिर, लोहकिल्थली चोक, ह्याजु टोल, कुटू टोल, द्धारे टोल, हेका टोल, कवे टोलको विभिन्न देवी देवताको मन्दिर परिसर हुँदै पुनः सिद्धिकाली द्यःछेँ परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]