|

बैतडी : नयाँ वर्षको पहिलो दिन  सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ। नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ।

बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइने  गरिएको छ। बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझांग, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ। देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती  पाइन्छ।

हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ। शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ। तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ। पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ।

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ।

विशेष गरी घर छिप्ने कार्यमा महिलाहरु सक्रिय हुन्छन्। नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ। बिसु पर्व विषेशः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बढी मनाइने गरिन्छ। पहाडबाट बसाइँ सर्नेक्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ।

देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा कायमै रहेको दोगडाकेदार ३ श्रीकोटका गणेश  विष्टको भनाई छ। जिल्ला बाहिर अध्ययन, व्यापार, नोकरी र ज्याला मजदुरीका लागि गएका स्थानीय बासिन्दा समेत बिसुका लागी घर फकिर्एका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.