|

काठमाडौं  :  सरकारले संविधान दिवसका अवसरमा घोेषणा गरेका विभूषण आइतबार  वितरण गरेको छ। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ती विभूषण प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ मरणोपरान्तलाई ‘नेपालरत्न’ द्वारा सुशोभित  गरेकी हुन्।

 उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए। त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ मरणोपरान्त र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी मानपदवीद्वारा विभूषित गरिएको थियो।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल मरणोपरान्त र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदकद्वारा विभूषित गरिएको छ। यस्तै थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला पनि सुप्रवल जनसेवाश्रीद्वारा विभूषित  भएका छन्।

विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी, साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी, विभिन्न क्षेत्रका १६२ जनालाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणी र ७४ जनालाई जनसेवाश्री पञ्चम श्रेणी मानपदवीद्वारा विभूषित गरिएको थियो। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनलाई राष्ट्रपतिले आज सुशोभित गरेकी थिइन्। सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित रहेको थियो ।

फोटो राससको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.