
बाग्लुङ : आइतबार दिउँसो २ बजेबाट बाग्लुङको गलकोट र जैमिनी नगरपालिका क्षेत्रमा परेको भीषण असिनापानीले घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुगेको छ।
गलकोट नगरपालिका-१ मा परेको असिनापानीले वडा अध्यक्ष नेत्र बुढाथोकीसहित आधादर्जन घरमा क्षति पुगेको हो। घरघरमा बाढी पसेको, कतै भत्केको र बिद्यालयमा पनि बाढी पसेर क्षति पुगेको स्थानीय गुमानसिंह बुढाथोकीले बताए। स्वास्थ्य चौकीमा राखेको औषधि बाढीले डुवाएपछि नष्ट भएको स्थानीयले बताए।
गल्कोटको गौंदीखोला र जैमिनीको ठेउलेखोला आसपासमा बाढीले सयौं रोपनी खेत समेत बगाएको छ। स्थानीय सडक र मध्यपहाडी लोकमार्गको नरेठाँटीमा पनि बाढीले क्षति पुगेको छ। गलकोटमा स्थानीय ईश्वर बुढाथोकी, नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपाली लगायतको घरमा बाढी पसेपछि छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। उनीहरुले सुरक्षित ठाउँ खोजीरहेको बताए। निरन्तर मुसलधारे पानी परिरहेकोले उद्दार गर्न नसकिएको बुढाथोकीले बताए। प्रहरीलाई खवर गरे पनि तत्काल आउन सक्ने अवस्था नभएकोले गाउँलेले सुरक्षित बसाइँको तयारी गरिरहेका छन्।
बाढीकै कारण गौदीखोला बढेर हटिया बजार क्षेत्र जोखिममा रहेको पत्रकार घनश्याम गौतमले बताए। गौदीखोलामै निर्माणाधिन पक्कीपुलको सामान समेत बाढीले बगाएको छ। उता जैमिनी नगरपालिकाको पैञ्युथन्थाप र राङ्खानीमा परेको असिना पानिका कारण ठेउले खोलामा भीषण बाढी आएको स्थानीयले बताए। बाढीले कयौं ठाउँमा क्षति पुर्याएको छ। निरन्तर बर्षा भैरहेकाले बाहिर निस्कीन नसक्ने अवस्था रहेको ठेउलेखोला हाईड्रोपावर कुश्मीशेराका अपरेटर पुरुषोत्तम थापाले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।