फिचर

राजधानीमै गुड्छन् भ्वाङ परेका बस, यात्रुलाई सास्तीसँगै दुर्घटनाको उच्च जोखिम

बैशाख २, २०७६

    काठमाडौं : नयाँ वर्षको अघिल्लो दिन। ललितपुरको भैँसेपाटीदेखि काठमाडौंको रत्नपार्क आउँदै गरेको माइक्रोबस यात्रुले खचाखच भरिएको थियो। मुस्किलले खुट्टा मात्रा राख्न मिल्नेगरी। 

    गाडीका सहचालकले खोरमा भेडाबाख्रा कोचेजस्तै बसमा यात्रु कोच्दै थिए। भैँसेपाटीबाट करिब साढे १२ बजे हिँडेको बसको यात्रा नख्खु आइपुग्दासम्म यस्तै असहज थियो। बस रोकिँदा यात्रु आगाडि र बस गुड्न सुरु गर्दा पछाडि धकेलिन्थे। जसका कारण यात्रु महिला वा पुरुष जुनकुनै भए पनि उनीहरूको शरीरिक आपसमा घर्षण हुन्थे। एकले अर्कालाई पुर्लुक्क हेर्थे, आँखा तर्थे। तर, उनीहरूमा गुनासो गर्ने हिम्मत थिएन। विवश थिए। यात्रा गर्नै पर्ने थियो। राजधानीका सार्वजनिक यातायातमा यो खालको यात्रा सामान्य नै मानिन्छ।

    नख्खुमा आइपुग्दा बस फेरि रोकियो। निधारमा पहेलो टीका, शिरमा पहेँलै पछ्यौरा, आँखामा चस्मा लगाएकी बूढीआमा बसमा चढिन्। आमाको पहिरन र शारीरिक अवस्थाले उनको उमेर ६५/७० वर्षको हो भनेर अनुमान गर्न कठिन छैन। आमा बसको ढोकामै उभिइन्। सहचालकले उनको शरीरलाई छेक्यो बस गुड्यो।
    आमा उभिएको देखेर बसमा सिटमा रहेकी एक महिला बोलिन्। ‘आमा माथि आउनुहाेस् म सिट दिन्छु।’ तर बसमा यात्रु यति कोचिएका थिए कि उनी माथि आउनसक्ने अवस्था थिएन। उनी फेरि बोलिन्,‘अघिल्लो सिटको बैनी उठे पनि हुने नि, आमालाई सिट दिए हुने नि, बूढाबूढीलाई सिट दिनु नि।’ उनको आवाज सुन्ने अवस्था थिएन।

    बसले बल्खु–कोटेश्वर रिङरोड क्रस गरेर जावलाखेलतर्फ लाग्यो। अलिमाथि आएपछि बस रोकियो आमा सिटमा बस्नुभयो। यसको भोलिपल्टै सरकारले ज्‍येष्ठ नागरिकलाई नयाँ वर्ष २०७६ को उपहार एक लाखको स्वास्थ्य बिमासँगै नि:शुल्क बैंक खाता खोलिदिने अभियान सुरु गरेको छ। तर, यसअघि नागरिकले पाएका दुःखमा सरकारको अनुगमनको पाटो भने शून्य नै छ। यस्तै यो घटनाको करिब एकसाता अघिको यात्रा। बिहान करिब ६ बजेको समय। आलोकनगर–जावलाखेलको यात्रा। यात्रा सार्वजनिक बसकै हो।

    बिहान कलेजको समय भएका कारण धेरै यात्रु भनेका विद्यार्थी नै हुने गर्छन्। बसको पछिल्लो सिटमा बसेर यात्रा सुरु भयो। बस नयाँ बानेश्वमा आइपुग्यो। केही विद्यार्थी ओर्लिए अनि केही चढे पनि। बस माइतीघर आइपुग्यो। प्रायः बिहानको यात्रामा थापाथलीबाट अगाडिको यात्रामा बस खाली जस्तै हुन्छ। 
    संयोगले त्यो दिन म पछाडिको सिटमा थिए। अगाडिका सिट खाली भएपछि अघि बस्ने चाहनाले उठेर अगाडि बढ्दै थिए। मेरो खुट्टा अल्झियो। धन्नै लडेको, अर्को एकजनाले नसमातेको भए सायद लड्थेँ पनि होला। मेरो खुट्टा बसको भुइँमा परेको भ्वाङमा अल्झिएको रहेछ।

    भ्वाङ छोप्न काठको फल्याक

    बसको भ्वाङ दख्नेबित्तिकै ढक्क मुटु फुल्यो। ओहो! धन्न खुट्टा छिरेन। एक यात्रीले भने, ‘बस कबाडी भइसकेछ।’ अर्कोले थपे, ‘यसले मान्छे मार्छ कुन दिन?’ बसमा परेको भ्वाङ, भ्वाङ ढाक्नका लागि राखिएको काठको सानो फल्याक, यसबाटै प्रस्‍ट छ कि बसमा भ्वाङ परेको लामो समय भइसकेको छ। तत्कालै भ्वाङ परेको भए भ्वाङ छोप्न काठको फल्याकको व्यवस्था हुने थिएन।

    धेरैजसो खचाखच हुने राजधानीका सार्वजनिक यातायातका साधनमा यस्ता कमजोरी धेरैलाई नियाल्ने फुर्सद हुँदैन। अर्कोतर्फ उभिन नमिल्ने गरी यात्रु कोचिएका बसमा भुइँमा हेर्न मिल्ने कुरा पनि भएन। यात्रुको जीवनमाथि कति लज्जास्पद खेलवाड? मैले बसमा परेको भ्वाङको तस्वीर खिचेँ, अनि कुपोण्डोल ओर्लिएँ र बसको नम्बरसहितको तस्‍वीर पनि खिचेँ, यसबारे सम्बन्धित निकायलाई गुनासो गर्छु भनेर। अहिले धेरै माइक्रोबसमा भुइँमा म्याट बिच्छ्याएको छ। सायद गाडीका स्टाफबीच यो विषयमा चर्चा चल्यो। अनि यात्रुले नदेखून् भनेर उनीहरूले सतर्कता अपनाए होलान्। यस्तो नहुन पनि सक्छ। तर, काठको फल्याकले भने यस्तै संकेत गर्छ। 

    उपत्यका सार्वजनिक यातायातमा थुप्रै समस्यासँग जुध्दै यात्रा गर्नु यात्रुको बाध्यता हो। यस्तै, अर्को समस्या हो यात्रु धेरै राख्नका लागि बनाइएका साना सिट। दुई जनाका लागि सिट बनाइए पनि उक्त सिटमा एकजना मात्रै बस्न मिल्छ।अर्को व्यक्तिको आधा शरीर सिटबाहिर हुने गर्दछ। कति साइजको सिट हुनुपर्छ भनेर मापदण्ड निर्धारण गरिएको भए पनि व्यवसायीले त्यसलाई बेवास्ता गर्दै आफ्नै अनुकूलका बनाउने गरेका छन्।

    कतिपय यात्रुले यसरी बनाइएका साना सिटमा बस्नुभन्दा उभिनै आराम महसुस गर्दछन्। यहाँ यात्रा गर्दा यात्रुलाई कहिलेकाहीँ लाग्दो हो, किन मोटो भए हुँला, किन अग्लो भए हुँला? अलि दुब्लो र होचो भएको भए यात्रा अलि सहज हुने थियो? उपत्यकामा चल्ने सार्वजनिक यातायातमा पानी चुहिनु, कपडा च्यातिनु, भेँडा बाख्राजस्तै कोचाकोच गर्नु, उभिन नमिल्नु, रोक्नुपर्ने स्थानमा नरोकिनु कुनै नौलो होइन। सबै यातायातका साधन यस्तै छन् भन्न खोजिएको भने होइन। केही गुणस्तर अनुसारका पनि छन्।

    उपत्यकाका सवारीको दैनिक अनुगमन गरिरहेका छौँ  

    ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिका लागि आरक्षण सिट छुट्याइएका छन्। तर, बेलाबेला कार्यान्वयनमा समस्या देखिएको छ। अर्कोतर्फ एकीकृत सार्वजनिक यातायात प्रणाली बन्न सकेको छैन। यात्रुले दैनिक यस्तै सास्ती खेपेर यात्रा गरिरहँदा यस विषयमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। तर, यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दैनिक रूपमा अनुगमन गरिरहेको दाबी गर्छन्। उनले भने,‘हामीले दैनिक रूपमा अनुगमन गरेका छौं। यति धेरै भल्युममा नेग्लीजेवल छ व्यवसायीबाट अब अनुगमनले मात्रै होइन कडाइका साथ प्रस्तुत हुनैपर्ने अवस्था छ।’ उनले प्रमाणसहित भेटिएमा त्यस्ता सवारी साधनमाथि कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए।

    महानिर्देशक दाहालले नागरिकलाई अप्ठ्यारो पर्न नदिने बताए। उनले गुनासो आए त्यसमा रेस्पोन्स गर्ने स्पष्ट पारे। जसरी पनि जानैपर्ने हतार र जसरी पनि पैसो कमाउनै पर्ने प्रवृत्तिले निम्त्याएको असुरक्षाप्रति समयमै सचेत बन्न जरुरी छ।

केशव घिमिरे

घिमिरे थाहा सञ्‍चार नेटवर्कमा आबद्ध थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]