|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। 

सोमबार भएको खेलमा प्रदेश २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको २१ औँ मिनेटमा पुलिसका रोमन राणाले गोल गरेर खाता खोले। त्यसको लगत्तै उनले नै ३६ औँ मिनेटमा अर्को गोल गरे। लगातार गोलको वर्षा गरेको पुलिसका योगेशकुमार बाह्रघरेले ३८ औँ मिनेटमा गोल गर्दा रोमन राणाले ४५ औँ र ४७ औँ मिनेटमा थप दुई गोल गरे। ५३ औँ मिनेटमा पुलिसका केशवराज जोशीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरे। 

जितसँगै नेपाल पुलिस क्वल सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबारदेखि सेमिफाइनलका खेल हुने भएको छ। विहान नेपाली सेना र प्रदेश ५ तथा बेलुका नेपाल पुलिस र सुदूरपश्चिम प्रदेशबीच खेल हुने मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए। यसैगरी खजुरास्थित शुक्र माविमा भएको महिला हक्की प्रतियोगिताको तेस्रो दिन सोमबार बिहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई २–० ले पराजित गरेको छ। खेलको २१ औँ मिनेटमा गण्डकी प्रदेशकी सविना पुनमगरले गोल गरिन्। 

तेस्रो क्वार्टरमा प्रदेश २ ले राम्रो अवसर पाएपनि गोल गर्न सकेन। त्यसको फाइदा उठाउँदै ५८ औँ मिनेटमा गण्डकी प्रदेशकी करुणा दर्लामीले गरेर २–० ले आफ्नो टिमलाई अग्रता दिलाइन्। त्यसैगरी नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच भएको खेल बराबरी भएको छ।

खेलको २७ औँ मिनेटमा सुदूरपश्चिमकी अनिता श्रेष्ठले गोल गरिन। त्यसको जवाफमा नेपाल आर्मीकी दीपकुमारी घलेले १ गोल गरेर आफ्नो टिमलाई बराबरीमा ल्याइन्। खेल अवधिभर नेपाल आर्मीले दुई र सुदूरपश्चिमले एउटा पेनाल्टी कर्नर पाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.