SHARES
४७ वर्षीय बुद्धकृष्णले सातौँपटक छेडे जिब्रो
 थाहा संवाददाता  बैशाख २, २०७६
SHARES

भक्तपुरः मध्यपुर थिमिस्थित बोडेमा बैशाख २ गते हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सोमबार बुद्धकृष्ण बाग श्रेष्ठले सातौँपटक जिब्रो छेडेका छन्। जात्रालाई निरन्तरता दिन बोडेका स्थानीय ४७ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका हुन्। यसअघि उनले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक जिब्रो छेडिसकेका छन्। त्यसपछि जुजुभाई बासँ श्रेष्ठले ८ वर्ष जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका थिए।

दुई वर्ष अघि जुजुभाइले श्रीमती र भाउजु बिरामी भएका कारण जिब्रो नछेड्ने घोषणा गरेपछि पुनः बुद्धकृष्णले नै जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएको हो।
बोडेबासीका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नुपर्ने परम्परा रहेको यस जात्रामा जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन। अहिले जात्राको लागि मध्यपुर थिमि नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।  

जात्रा बोडेस्थित पाँचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च मा.वि.को उत्तरपट्टी) मञ्चबाट सुरु गरिन्छ। जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुईरो बनाउने नकर्मीलाई लिन जान्छ। एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो) सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ। अन्त्यमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाक‍सहित मञ्चमा आउँछन्। 
नाइके प्रधानले फूल, अक्षता र पैसा सहित दिएको सुइरो (नातु) ले कर्मी नाइकेद्धारा सम्पूर्ण देवतासँग प्रार्थना गरी जिब्रो छेड्ने कार्य गरिन्छ। त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने अर्ध चन्द्राकारको बत्ती, महादीप) बाल्छन्।

नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्तिले उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन्। जहाँ जात्रा गरी महालक्ष्मी स्थान पुर्‍याएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुईरो निकाल्ने गरिन्छ र प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ।

निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ। अन्तःमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गरिन्छ। जात्रामा जिब्रो छेड्ने ब्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र आइमाइलाई छुन नहुने परम्परा रहेको छ। यदि छोएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ। 

किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे। यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए। उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे। त्यसपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे।

बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्‍यो। भीमदत्तले लामो कपाल, लामो जिब्रोे, डरलाग्दो पिचास नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबरजस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए।

पिशाचको जिब्रोे छेडी बलेको महादीप काठकोे भारी बोकाएर बोडे घुमाए। कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग,अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझै विभिन्न सातवटा वाचा गराई छाडिदिएको किम्बदन्ती छ।