|

उदयपुरः जिल्लाको कटारीम मेडिकल कलेज स्थापनाको माग राख्दै प्रधानमन्त्री केपी शर्मालाई ज्ञापनपत्र बुझाइएको छ। नेपाल सरकारले डा. गोविन्द केसीबीच १५ औं अनसनको क्रममा गरेको सम्झनाअनुरुप कटारी नगरपालिकामा मेडिकल कलेज स्थापना गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले मेडिकल कलेजलाई आबश्यक पर्ने जग्गा निशुल्क उपलब्ध गराउने बाचासहित ज्ञापन पत्र बुझाएको बताए। ‘नगरपालिकाको निर्णयसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटार मै भेटी ज्ञापनपत्र बुझाएका हौं’ उनले भने, ‘उदयपुर क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई र नगर क्षेत्रका राजनीतिक दलका नेतासहितको टोली गाएका थियौं।’

दुई अघि बुझाइएको ज्ञापन पत्रमा जिल्लाका ८ वटा स्थानीय तहमध्ये कटारीसहित बेलका, चौदण्डीगढी नगरपालिका, गाउँपालिकातर्फ रौतामाई, उदयपुरगढी, ताप्लि र लिम्चुङबुङ गरी ७ वटा स्थानीय तहको मेडिकल कलेज स्थापनाका लागि आफ्नो नगरपालिकालाई समर्थन गरेको श्रेष्ठको भनाइ छ। जिल्लाका वाहेक सोलु, ओखलढुंगा, खोटाङ, सिन्धुली गरी १५ वटा स्थानीय तहको समर्थन रहेको छ। ‘मेडिकल कलेज स्थापनाका लागि हामीसँग प्रसस्तै सरकारी जग्गा छ’ पुन: उनले थपे, ‘जिल्लामा सबैभन्दा अगाडि हामीले नै निर्णय गरेका हौं। पायक पर्ने स्थानीय तहसँग पनि समर्थन जुटाएका छौं।’

सगरमाथाको प्रवेशद्बार उदयपुरको पश्चिमी र उत्तरीभेग,ओखलढुंगा, सोलु, खोटाङ, प्रदेशनं २ को सिरहा, सप्तरी, धनुषा, महोत्तरी र प्रदेशनं ३ को सिन्धुली जिल्लालाईसमेत पायक पर्ने भएकाले कटारी नगरपालिका नै उपयुक्त भएको नगर उपप्रमुख भिमकुमारी राउतको भनाइ छ। मेडिकल कलेज स्थापनासँगै औद्योगिक करिडोर र एयरपोर्ट निर्माणसम्बन्धी ज्ञापन पत्रमा माग गरिएको छ। 

मारुती र कसमस सिमेण्टको चुनढुंगा ढुवानीमा प्रयोग हुने टिफरले सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी सडकखण्ड जीर्ण बनाएकाले विकल्पका लागि औगोगिक करिडोर निर्माणमा सहयोग गरीदिन अनुरोध गरिएको राउतको भनाइ छ। यसअघि डा. केसी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन कार्य गरिएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वनेको सरकारी कार्य दलले तीन दिन लगाएर त्रियुुगा र कटारी नगरपालिका आसपासका क्षेत्रको स्थ्लगत सम्भाव्यता अध्ययन गरेको थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सेवेदीको संयोजकत्वमा गठित कार्यदल स्थलगत अध्ययन र छलफलपछि फर्किएको हो।सरकारले इलाम,पाँचथर मध्ये एक स्थानमा, डडेल्धुरा, डोटी मध्ये एक र उदयपुरमा एक गरी पाँच जिल्लाको तीन स्थानमा सम्भाव्यता अध्ययन गरेको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सेवेदीको संयोजकत्वमा गठित अध्यन गरेर फर्केपछि कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने निर्णय नगरसभाबाट गरेको थियो। राउतका अनुसार कटारी नगरपालिकाको पुस २८ गते सम्पन्न तेस्रो नगरसभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको थियो।

नगरपालिका ४ को जहडी, वडानं ५ को गैडाआहाल, वडानं ३ को ताराघारी र वडानं २ को मारुती सिमेन्टको चुनढुंगा भण्डार गरेको स्थान आसपासको क्षेत्र मध्ये जुनसुकै ठाउँमा पनि जग्गा निशुल्क उपलब्ध गराउन सक्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.