|

उदयपुरः  जिल्लाको उच्च पहाडी क्षेत्रमा पर्ने लिम्चुङबुङ गाउँपालिका ३ मा पर्ने दोवाटे डाँडामा पहिलोपटक महोत्सव आयोजना गरिएको छ।

‘पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन’ भन्ने नाराका साथ लिम्चुङबुङ गाउँपालिकाकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आइतवारदेखि सुरु भएको हो । नयाँ वर्षको अवसरसँगै पालिकाको वडा नं. ३ एभरेष्ट भ्युटप (दोबाटेडाँडा) मा पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन तथा जातीय परिकारका प्रदर्शनी, पहिचानमुलक सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आकर्षण रहेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए।

‘नगरपालिकाको समृद्धिका लागि कृषि, उद्यम, शिक्षा, स्वस्थ्यसंगै पर्यटनलाई विशेष महत्व दिएको पालिकामा पहिलोपटक भएको महोत्सव आयोजना गरिएको हो,’ उनले भने, ‘यो महोत्सवम जिल्लाकै उच्च महाभारत क्षेत्रमा आयोजना गरिएको हो।’ महोत्सवको उद्घाटन उद्घाटन गर्दै प्रदेश सांसद नारायाण बुर्जामगरले दोवाटे डाँडालाई एभरेष्ट भ्युट टावर निर्माण हुने उद्घोष गरेका छन्। ‘पारिपट्टी पूर्वको प्रख्यात हलेसीथान, तलतिर सुनकोशी र सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमालहरूको मनोरम दृष्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘पर्यटन प्रर्वद्धनको लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारको लगानीमा भ्यु टावर निर्माण गर्ने छ।’

लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा एभरेष्ट भ्युटप पर्यटन विकास समितिको आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न जातजातको कला संस्कृतिको प्रतियोगिता, खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुको प्रर्दशनी गरिएको छ। महोत्सवको पहिलो दिन गायकहरू रूपकुमार राई, फूल कुमार बम्जन, शिव थापा मगर लगायतको प्रस्तुति थियो। स्थानीय सरकारको समृद्धिका गतिविधि तथा स्थानीय स्रोतसाधन, लिम्चुङबुङ झरना जस्ता पर्यटकीयस्थलहरूको प्रचार प्रसारसमेत गरिएको थियो। 

जिल्लाको सबैभन्दा अग्लो स्थान २ हजार २ सय ७५ मिटर उचाईमा भएको महोत्सवले सिंगो पालिकाको विकास र समृद्धिमा टेवा पुर्‍याउने जिल्ला समन्वय समिति प्रमुख खड्गबहादर दर्नालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.