|

दाङ : तुलसीपुर ४ घोरानेटी ४ जना युवाले हेलिकाेप्टर बनाउन थालेका छन्। सानै उमेरदेखि हेलिकाेप्टर बनाउने चाहना भएको भन्दै अहिले साथीसँग मिलेर काम सुरु गरेको निर्माणकर्ता सन्जु वलीले बताए।

डेढ महिनादेखि बनाउन सुरु गरिएको हेलिकाेप्टरको अहिले बडी अर्थात् बाहिरी भाग निर्माण हुँदै छ। स्थानीय कमल खड्का, ध्रुवविक्रम खड्का र तुलसीपुर ९ कट्कुइयाका ललित डाँगीले हेलिकाेप्टरको नमुना तयार पारेका छन्। तुलसीपुर बजारदेखि झन्डै ६ किलोमिटर उत्तरतर्फ रहेको उक्त गाउँमा ४ युवा मिलेर हेलिकाेप्टर बनाउन थालेपछि अहिले हेर्नका लागि त्यहाँ मानिसको दिनहुँ भीड लाग्ने गरेको छ।

उक्त हेलिकाेप्टरमा ४ जनासम्म बस्न मिल्ने बनाएको र अहिलेसम्म दुई लाखभन्दा बढी रकम खर्च भइसकेको भन्दै हाल रकमको अभाव हुन थालेको निर्माणमा समस्या भएको कमल खड्काले बताए। उनीहरूलाई उकरणहरू खरिद गर्नका लागि रकम अभाव हुन थालेपछि अहिले काम रोकिएको बताएका छन्। उनकाअनुसार अहिले इन्जिन र होइड्रोलिक पंखाको आवश्यकता परेको हुँदा यसमा सहयोग गरिदिन स्थानीय सरकारसँग माग गरिएको उनीहरूले बताए।

हेलिकोप्टरको नाम भने अहिले छनोट गरिएको छैन भने प्राविधिकसम्वन्धी थुप्रै कुरा बाँकी रहेको उनीहरूको भनाइ छ। हेलिकाेप्टर बनाउनु आफैँमा ठूलो चुनौती भएको भन्दै आफूहरूसँग शैक्षिक योग्यता नभए पनि यस भन्दा अघि आफूले विभिन्न उपकरण निर्माण गरेको बताउँदै तयार बनाएरै छाड्ने वलीको दाबी छ। उक्त हेलिकाेप्टर तयार गर्न कम्तीमा पनि ६०/७० लाख रकम लाग्ने अनुमान गरिएको छ।

आल्मुनियमका धातुहरू र फलाम लगायत अन्य सामग्रीहरू प्रयोग गरिएको छ। उक्त समानहरू जिल्ला बाहिरबाट ल्याउने गरिएको उनीहरूको भनाई छ। यसरी आफ्ना छोरा र भतिजाहरूले गरेको नमुनायोग्य काम देखेर कमल खड्काकी आमा विमला खड्का खुसी भएको बताइन। उनले जसरी भए पनि उनीहरूको कला र सीपलाई अझ अघि बढाउने हौसला दिएको बताइन। साथै उनले आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन स्थानीय सरकार लगाएत सवैमा आग्रह गरिन।

यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त हेलिकाेप्टरका लागि आवश्यक पर्ने पंखा ल्याउने प्रक्रिया बुझ्ने, प्रक्रियागत रूपमा आवश्यक पंखा ल्याउन सहयोग गर्ने बताए। उनले नेपालमा हेलिकाेप्टर नबन्ने भएकाले, पंखा पनि बिदेशबाटै ल्याउनुपर्छ होला, त्यो म बुझ्छु’ उनले भने, 'त्यो बुझेर मात्रै ल्याउनलाई के के प्रक्रिया चाल्नुपर्छ। त्यो प्रक्रिया पुर्‍याएर ल्याउनेसमेत बताए। साथै उक्त हेलिकोप्टर उडाउन मिल्ने नमिल्ने कस्तो हो। त्यो परीक्षण पनि गर्न पहल थाल्ने बताए। उनले हेलिकाेप्टर उडाउने मात्रै भन्दा पनि हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी विज्ञहरूलाई पनि देखाउन पहल थाल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.