|

गुल्मी :  

पुल निर्माणका लागि सम्झौता  मिति : २७ असार २०७३

निर्माण सम्पन्न गर्नुपर्ने मिति : २७ असार २०७५

पुल निर्माणको जिम्मा लिएको कम्पनी  :  जयबुद्ध कन्स्ट्रक्सन प्रालि

 

मुसिकोट नगरपालिका वडा ७ र वडा ३ को जोड्ने झेंदीमा निर्माणाधीन बडिगाड खोलाको पक्की पुल गत वर्ष असार २७ गते निर्माण सम्पन्‍न गरेर हस्तान्तरण गर्नुपर्ने थियो। नौ महिना ढिला भइसकेपछि यो पुलले चर्चा पायो। चर्चा भने निर्माणकै क्रममा भत्किएको कारण पाएको हो।

कुल पाँच करोड  १७ लाख ८४ हजार रुपैयाँमा  ५८ मिटर लम्बाइ , ७.२ मिटर चौडाइ ८.५ मिटर उचाई रहेको  प्रि स्ट्रेस पुल ढलान हुने क्रममै आइतबार मध्यभागबाट  नै भत्किएको हो। परिणाम निर्माण व्‍यवसायी ऋषिराम इटनीसहित ५ जना घाइते भए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाका अनुसार निर्माण व्‍यवसायी  ५२ वर्षीय ऋषिराम इटनी, मसिकोट नगरपालिका वडा  ३ का २३ वर्षीय रामबहादु्र कुमाल, सोही वडाकै ३३ वर्षीय गणेश कुमाल, ५१ वर्षीय रुद्रबहादुर कार्की। बाग्लुङ जिल्ला बढिगाड गाउँपालिका वडा ७ का २७ वर्षीय तुलबहादुर राना रहेका छन्। घाइतेमध्ये निर्माण व्‍यवसायी इटनीको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

स्थानीय सडक पुल कार्यक्रम  (एलआरबिपी)अन्तर्गत बनाइएको  निर्माणको अवधि सकिए पनि  म्याद थप नगरेको पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ। 

विज्ञको टोली अनुसन्धानका लागि गुल्मी आउँदै 

निर्माण हुँदै गरेको पुल भाँचिएपछि एलआरबिपी को विज्ञ सहितको टोली अनुसन्धानका लागि आउने भएको छ। यसरी बिचमै पुल भत्किएपछि के कसरी र किन भाँचियो भन्नेबारे अनुसन्धानका लागि विज्ञसहितको टोली गुल्मी आउन लागेको पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर विनोद चौधरीले जानकारी दिए।

पर्याप्‍त टेका नभएका कारण बीचमै पुल भत्किएको अनुमान

शनिबार र आइतबार बाग्लुङ साइडमा अत्यधिक पानी परेको थियो। पुल ढलान गर्ने क्रममा पर्याप्त मात्रामा टेकाहरु नभएको र खोलामा पानीको मात्रा बढेका कारण पुल भात्किएको हुनसक्ने अनुमान गरिएको  पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर चौधरीले  बताए। चौधरी भन्छन्, 'हामीले प्ररम्भिक रूपमा पर्याप्त टेका नपुगेका कारण र खोलामा पानीको बहाव बढेका कारण हो कि भन्ने अनुमान गरेका छौँ, विस्तृत विवरण विज्ञसहितको टोलीले अनुसन्धान गरेपछि आउला। 

प्राविधिक पक्ष नै फेल: नगर प्रमुख सापकोटा

मुसिकोट नगरपालिका गुल्मीका नगर प्रमुख  सोमनाथ सापकोटाले डिजाइन गर्ने प्राविधिकहरूकै कमजारी भएको आरोप लगाएका छन्। उनका अनुसार पुलको निर्माण चरणदेखि नै आफूहरूले डिजाइन यस ठाउँ अनुसारको नभएको भन्दै सम्बन्धित पक्षहरूसँग भने तापनि उनीहरूले नसुनेको, बीचमा आएर डिजाइन नै परिवर्तन गरेको, बीचमा पिल्लर नराखेको, निर्माणमा समेत उचित ध्यान नदिएकै कारण हाल आएर यस्तो परिणम भोग्नुपरेको बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.