|

सिन्धुपाल्चोक  : सिन्धुपाल्चोकमा सेलोगीत संगीतको माध्यमबाट आफूलाई तिखार्दै आफ्नो छविलाई उच्च बनाउन सफल नाम हो सेलोगायक आस्मान लोप्चन।सामान्य किसान परिवारमा जन्मेका लोप्चन पछिल्लो समय सिन्धुपाल्चोकमा आफ्नो सांगीतिक छविलाई उच्च बनाउन सफल भएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका तीन (बतासे) भुवागाल उनको जन्म भएको थियो। तामाङ परिवारमा जन्मिएका भए पनि आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने एक ताराको रूपमा अग्रसर भए। अहिले सिन्धुपाल्चोकको जिल्लामा मात्रै नभएर जिल्लाबाहिर हुने कार्यक्रममा समेत स्टेजमा दर्शकलाई रुझाउन सक्ने भइसकेका छन्।

उनले भने, ‘सामान्य परिवारमा जन्मेँ, गीत संगीतमा परिवारको पनि खासै सहयोग मिलेन स्कुले दिनदेखि नै नृत्यमा रुचि थियो आफ्नो स्कुलमा मात्र नाच्न नपुगे त आसपासका सबै स्कुलमा नाच्न पुग्थेँ।’

सानैदेखि आफ्नो प्रतिभालाई देखाउँन सक्ने दरिलो खुबी उनमा छ। एस एल सी पास भएलगतै रेडियोमा काम गर्ने मौका जुर्‍यो। रेडियोमा काम गर्न थालेपछि आफ्नो प्रतिभालाई दर्शकमाझ पुर्‍याउन सक्ने अवसर जुरेको उनले बताए। रेडियोमा बोल्न थालेपछि आफूमा भएको प्रतिभालाई बाहिर ल्याउने आँट बढेको उनी बताउँछन्।

रेडियोमा काम गर्दा उनलाई तामाङ भाषाको समाचारवाचक बन्ने अवसर मिल्यो। रेडियो सिन्धु १०५ मेगाहर्जमा पाँच वर्ष काम गरेको अनुभव उनीसँग छ। जिल्लामै तामाङ भाषाको समाचार वाचन गर्ने पहिलो समाचारवाचकसमेत बने उनी। रेडियोमा करिब पाँच वर्ष काम गरेपछि उनलाई गीतको रेकर्डिङमा लागेको उनी बताउँछन्।

गीत रेकर्ड गर्न आफूलाई ठूलै आर्थिक संघर्ष परेको अनुभव उनीसँग छ। गायनमा मात्रै नभएर नृत्यमासमेत राम्रै दख्खल छ उनीसँग। उनले भने ‘रेडियोमा काम गर्न थालेपछि अलिअलि पैसा कमाउन थालियो, त्यसपछि मात्रै परिवारबाट सहयोग मिल्न थाल्यो त्यसपछि गीत संगीतको क्षेत्रमै खुलेर लागियो।’

आधा दशकको समयमा सांगितिक यात्रामा आधा दर्जन गीत गाइसकेका छन्। पहिलो आस्याङकी छोरी, हिमालपारिको गाउँमा,नक्कली गोरी ठिटीलाई, बल्ल पो तामाङको हुल उठ्यो र पछिल्लो समय लेकमा जाँदा गीतका एल्बम बजारमा आइसकेका छन्। हाम्रो रोधी घर नामक लोक दोहोरी गीतमा समेत लय दिएका छन्।

जब दुईचारवटा गीत निकालेसी दुई चार जनाले चिनेपछि स्टेजबाट अलिअलि आम्दानी हुन थालेपछि मात्रै घरपरिवारको गालीबाट उन्मुक्ति पाएको उनको अनुभव छ। अहिले सेलो गीत संगीतमा आफ्नो एउटा छुट्टै पहिचान बनाइसकेका लोप्चन गीत सङ्गीतमै व्यस्त छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.