|

जाजरकोट : जाजरकोटका महिला आफैँ बजेटको जोहो गर्दै बाटो निर्माणमा जुटेका छन्। जिल्लाको डाडाँगाउँ-१ पालीका महिला गाउँको बाटो निर्माणमा जुटेका हुन्। 

पुरुष कमाईका लागि भारततिर गएका कारण महिलाले आफ्नो लागि बाटो निर्माणमा जुटेको उनीहरु बताउँछन्। रुकुमको भल्म जोड्ने भेरी नदी पुलदेखि पालीको ठूला गाउँसम्मको बाटो निर्माणका लागि नमुना हरियाली महिला सहकारी र स्वास्थ्य आमा समूहका दिदीबहिनी जुटेका छन् । 

पालीगाउँदेखि भल्मपुलसम्मको बाटो जोड्नलाई गाउँमा पुरुष नभएपछि महिलाले नै बाटो खन्न लाग्नु परेको नमुना हरियाली महिला सहकारी संस्थाकी अध्यक्ष धनकला थापाले जानकारी दिइन्। 

आफ्नो गाउँबाट छिमेकी जिल्ला रुकुम जान र गाउँको मसानघाट जाने बाटो सजिलो बनाउन महिलाले यसरी बाटो निर्माणमा सबै महिला सङ्गठित भएर काममा लागेको अध्यक्ष थापाको भनाइ रहेको छ। 

करिब चार किलोमिटर लम्बाइ रहेको बाटो निर्माण गर्न आफूहरुलाई कुनै सरकारी बजेटको आवश्यकता नपर्ने अध्यक्ष थापाले बताइन्। ३२ सदस्यीय नमुना हरियाली महिला सहकारी र २५ सदस्यीय स्वास्थ्य आमा समूहको संयुक्त निर्णयबाट गाउँका महिला बाटो खन्ने अभियानमा जुटेका छन्। दैनिक बाटो निर्माणका लागि ९२ जना महिला दिदीबहिनीको सहभागिता रहने गरेको छ। 

अन्य छिमेकी गाउँ र जिल्लाका स्थानीयवासी महिलाको यो काम देखेर दङ्ग भएका छन्। पुरुष भएको भए बाटो निर्माण गर्दागर्दै मदिरा खान जाने, काम जाँगर लगाएर नगर्ने देखिन्थ्यो, महिला भने पूरै मिहेनत गरेर सडक निर्माणमा जुटेका छन्। महिलाले केही गर्न सक्दैनन् भन्ने आरोपलाई यहाँका महिलाले चुनौती दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.