‘बर्खामा पानी र हिउँदमा शीत चुहिन्छ’

|

ताप्लेजुङ : समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफू भने असुरक्षित ठाउँमा बस्न बाध्य छन्। ताप्लेजुङका अधिकांश प्रहरी चौकी बर्खामा पानी चुहिने र हिउँदमा धुलाम्मे हुने भवनमा बस्दै आएका छन्।

हिमाली क्षेत्र ओलाङचुङ्गोला, घुन्सा, तोक्पेगोला र याम्फुदिनमा रहेका प्रहरी चौकीको अवस्था दयनीय छ। ‘काठले मात्रै बारेकाले बाह्रै महिना चिसो हुन्छ,’ तीन हजार १०० मिटर उचाइमा रहेको घुन्सा प्रहरी चौकीका एक जवानले भने, ‘रातभर शीत चुहिन्छ, चिसोले बिरामी पारिरहन्छ।’

यस क्षेत्रमा रहेका चौकी चीन र भारतसँगको सिमामा रहेका छन्। सरकारले हिमाली भेगमा खटिएका प्रहरीका लागि दुर्गम भत्ता त दिएको छ, तर त्यो पर्याप्त नरहेको प्रहरीहरु बताउँछन्। चिसोमा लगाउने छुट्टै पोशाक दिइएको छैन। नाम नबताउने सर्तमा एक जवानले भने, ‘अहिले दिइएको त्यो पोशाकले न चिसो धान्छ, न सुत्ने कोठाले शीत थाम्छ।’

भूगोलका हिसाबले मुलुककै तेस्रो र प्रदेश १ को सबैभन्दा ठूलो जिल्ला ताप्लेजुङमा ३५ वटा प्रहरी चोकी छन्। त्यसमध्ये १० वटा अस्थायी र २५ वटा स्थायी हुन्। जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको सुरक्षा युनिटबाहेक सबैलाई वातानुकूलित भवन चाहिन्छ। तर, चार वटाबाहेक सबै कार्यालय व्यक्तिगत प्रयोजनका लागि निर्माण गरिएका पुराना, जीर्ण र भत्कन लागेका घरमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तेल्लोक, साँघु र लिबाङका चौकीको मात्रै नयाँ भवन छ। निर्वाचन क्षेत्र नम्बर (ख) भर कार्यक्षेत्र रहेको दोभान इलाकाको झनै बिजोग छ। वर्षौंअघि ढुङ्गा र काठले निर्माण गरिएका स–साना टहराजस्ता भवन भूकम्पले चर्किएका छन्।

मेरिङ्देन गाउँपालिका–५ मा रहेको थुकीमा चौकीको भवन जीर्ण छ। जुनसुकै बेला लडेर पुर्ला कि भनेर डराइडराइ बस्नुपरेको त्यहाँ कार्यरत एक प्रहरीले बताए। कञ्चनजंघा पदमार्गमा पर्ने काँडेभञ्ज्याङ चौकी भवन पनि भत्कने अवस्थाको छ। गाउँमा दिनहुँ सानादेखि ठूला घटनाहरु भइरहने हुँदा प्रहरीहरु ज्यानको बाजी लगाएर चौबिसै घण्टा अर्लट रहनुपर्छ। अधिकांश चौकीको भवनको अवस्था नाजुक हुँदा सेवा प्रवाहमा समस्या भोगिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जयसिंह थापाले बताए।

‘धरै युनिटहरु जोखिम मोलेर बसिरहेका छन्,’ डिएसपी थापाले भने, ‘यसले उनीहरुलाई मानसिक रुपमै कमजोर बनाएको छ। सुरक्षाका सामग्रीहरु जोगाउनै समस्या छ।’ प्रहरी प्रमुख थापाका अनुसार अनुकूल संरचनाको अभावमा गोप्य अनुसन्धानमा तथा वादी र प्रतिवादीलाई खुला ठाउँमा वयान लिन अप्ठ्यारो हुने गरेको छ।

ठूलो क्षेत्र भएको दोभान इलाकालाई नै मुद्दा चलाउने जिम्मा दिन सकिने भए पनि संरचना नहुँदा नसकिएको थापाको भनाइ छ। ‘राम्रो नहुँदा मुद्दाको गोपनीयता कायम राख्न र गोप्य कागजातको सुरक्षामा ढुक्क हुन सकिँदैन,’ डिएसपी थापाले भने, ‘थुनुवालाई ल्याएर राख्ने ठाउँ छैन।’ 

एकातिर पर्याप्त जनशक्ति छैन भने अर्कातिर बस्ने संरचना राम्रो छैन। ४२४ जनाको दरबन्दी रहेको ताप्लेजुङमा अहिले २७३ जना मात्रै प्रहरी छन्। चीन र भारत दुवै देशसँग सिमाना जोडिएकाले पनि यहाँ सुरक्षा चुनौती बढी छ। घरेलु मदिरा र हतियारका कारण अपराध उच्च हुने प्रहरीको तथ्याङ्क छ। यस्तो अवस्थामा सुरक्षा व्यवस्था चुस्त पार्न नेपाल र सशस्त्र प्रहरी एक्लैले सम्भव छैन।

नागरिक र स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्नुपर्छ। आफ्नो क्षेत्रमा रहेका प्रहरी चौकीको भवन निर्माणका लागि जिल्लाका कुनै पनि स्थानीय तहले चासो देखाएका छैनन्। चालु आर्थिक वर्ष प्रदेश सरकारले दोभान इलाका तथा थुम्बेदिन र खेबाङ चौकीको भवन निर्माणका लागि बजेट विनियोजना गरेको छ। ती भवनको निर्माण छिट्टै सुरु हुने डिएसपी थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.