४६ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन

|
फाइल तस्बिर

सोलुखुम्बु : हिमाल आरोहणको अनुमति जारी भएसँगै विभिन्न हिमालका आधार शिविर आरोहीले भरिभराउ भएको छ। पर्यटन विभागबाट अनुमति लिने आरोही र उनीहरुका सहयोगी आरोहणका लागि गन्तव्यतर्फ प्रस्थान गर्न थालेसँगै आधार शिविर भरिभराउ भएको हो। 

सगरमाथा आधार शिविरमा आरोही र उनीहरुका सहयोगी दलका सदस्यहरुले भरिभराउ भएको छ। आरोहीको बन्दोबस्ती मिलाउन आएका सहयोगीले आवश्यक तयारी गरिहेको आधार शिविरबाट आइसफल डाक्टर संयोजक आङकामे शेर्पाले बताए। ‘करिब ४०० जना आधार शिविरमा छन्,’ शेर्पाले भने, ‘बाटो बनाउन हामी आउँदा सुनसान थियो, अहिले टनाटन छ।’

६९२ जनालाई अनुमति

हिमाल आरोहणको मौसम सुरु भएपछि सोमबारसम्म ७८ समूहका ६९२ जनाले आरोहण अनुमति लिएका छन्। सगरमाथासहित २० हिमाल आरोहणका लागि अनुमति दिइएको पर्यटन विभागले जनाएको छ।

वसन्त ऋतु सुरु भएसँगै सगरमाथा आरोहणका लागि सोमबारसम्म ३६० जनाले अनुमति पाएको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहणका लागि ४६ देशका ३६० जनाले अनुमति पाएका छन्।

अनुमति पाउनेमा २९० जना पुरुष र ७० जना महिला छन्। सगरमाथाको आरोहण अनुमति लिनेमा सबैभन्दा बढी भारतका ६७ जना पुरुष र १६ महिलासहित ८३ जना छन्। त्यस्तै, अमेरिककाका ६७ जना, चीनका ५९ र बेलायतका ४० जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा १२ जना नेपाली छन्। तीमध्ये ६ महिला र ६ पुरुष छन्। 

सोलुखुम्बु जिल्लामै पर्ने अर्को आमादब्लम हिमाल आरोहणका लागि पाँच समूहका ४९ जनाले अनुमति लिएका छन्। त्यस्तै ल्होत्से हिमाल आरोहणका लागि ६ समूहका ६६ जना र नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। 

उनका अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समुहका २३ जना, मकालु आरोहणका लागि चार समुहका ५३ जना, कञ्जनजंगा आरोहणका लागि चार समुहका ३२ जना, पुमरी आरोहणका लागि एक समूहका ११ जना आरोहीले अनुमति लिएका छन्। 

साढे ४६ करोड राजस्व संकलन

आरोहणको नयाँ सिजन सुरु भएसँगै आरोहीबाट ४६ करोड ५९ लाख ७० हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ। २० वटा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीबाट उक्त राजस्व संकलन भएको हो।

सोलुखुम्बुको विभिन्न हिमाल आरोहण गर्ने आरोहीबाट मात्रै ४३ करोड ७३ लाख ६६ हजार ३७२ राजस्व संकलन भएको छ। पर्यटन विभागले उपलब्ध गराएको सोमबारसम्मको तथ्याङ्कअनुसार सगरमाथा आरोहीबाट ४२ करोड दुई लाख ७५ हजार ७६२ रुपैयाँ राजस्व संकलन भएको हो। 

आमादब्लम हिमाल आरोहण गर्ने आरोहीबाट २१ लाख ६३ हजार ३००, ल्होत्से हिमाल आरोहीबाट एक करोड ३१ लाख ३९ हजार ६४०, नुत्प्से हिमाल आरोही दुई समूहका २७ जनाबाट १७ लाख ८७ हजार ६७० रुपैयाँ राजस्व संकलन भएको नायव सुब्बा निरौलाले जनाकारी दिए।

क्याम्प २ मा आरोही

आइसफल डक्टरको टोलीले क्याम्प २ सम्म बाटो खोलेसँगै आरोहीका सहयोगी समेत क्याम्प एक र दुईमा टेन्छ टाँगिसकेको सरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए। उनका अनुसार आरोही धामाधम आधार शिविर प्रस्थान गरिरहेका छन्।

‘अधिकांश आरोहीका सहयोगी आइरहेका छन्,’ अधिकृत राईले भने, ‘सहयोगीले आवश्यक बन्दोबस्ती मिलाउँछन् अनी मात्र आरोही आउँछन्। अहिले यकिन विवरण त भन्न सक्ने अवस्था छैन, तर अब त अधिकांश आरोहीका सहयोगी आधार शिविर पुगेका छन्, आरोही पनि आउँदैछन्।’
 
सगरमाथा आधार शिविर नै तीन हिमालको आधार शिविर हो। लोत्से, नुप्त्से हिमाल आरोहण गर्ने आरोही समेत सगरमाथाको बाटो हुँदै जाने गर्छन्। उनीहरु क्याम्प २ सम्म सँगै जान्छन्। केही क्याम्प २ बाटै छुट्टिछन् भने केही आरोही क्याम्प ३ बाट छुट्टिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.