|

सुर्खेत :  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य पूरा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलले मंगलबार ब्रेक थु्रु गर्ने भएका छन्।  

निर्धारित समय अवधि भन्दा एक वर्ष पहिले सुरुङ निर्माण कार्य सम्पन्न भए पछि प्रधानमन्त्रीले  ब्रेक थ्रु गर्न लागेका हुन्।  राष्ट्रिय गौरवको आयोजनामा  नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट सुरुङ निर्माण भएकाले ब्रेक थका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए। उनका अनुसार मंगलवार सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गरिनेछ। 

यो आयोजनामा नेपालमै पहिलो पटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको हो। समय अगावै टीबीएमले १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण गरिसकेको छ।  भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् र ५ नम्बर प्रदेशका बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहितको आयोजनामा भेरीको पानी ड्याम बाधेर सुरुङमार्फत बबईमा स्थल सुर्खेतको भेरीगंगा नगरपालिका–११ को चिप्लेलाई सिंगारिएको छ। 

‘भेरी नदी किनारमा हेलिप्याड बनाएका छौं,  ध्वजापताकाले चिप्ले रंगाइएको छ,’ उनले भने, ‘बबईदेखि चिप्लेसम्मको १२ दशमलव २ किलोमिटर मध्ये पाँच मिटर मात्रै सुरुङ खन्न बाँकी छ।’ 

प्रधानमन्त्रीको उपस्थितिमा ५ मिटरको सुरुङ १५ देखि २० मिनेटमा सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख बरालले बताए। मञ्चदेखि अन्य तयारी पूरा भइसकेको उनको भनाइ छ। टीबीएम मेसिन २ सय ७४ मिटर लामो छ।  ब्रेक थ्रु कार्यक्रममा १ मिटर भाग मात्रै जमिन बाहिर ल्याइने छ। सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुर्खेत, बर्दिया र बाँकेबाट संघ, प्रदेश र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आउने भएका आयोजनाले जनाएको छ। भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणका लागि सिँचाइ विभागले ४ वर्षको समयावधि दिएको थियो। 

चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले सम्झौतामा उल्लिखित अवधिभन्दा १ वर्ष १२ दिनअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको छ। २०७२ जेठ २१ गते काम शुरू गरेको कोभेकको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो। ‘लक्ष्य अगावै सुरुङ मार्ग निर्माण सम्पन्न गर्न सफल भयौं,’ आयोजना प्रमुख बरालले भने। सुरुङ मार्ग लक्ष्य अगावै सम्पन्न भएपनि चिप्लेमा बाँध र बबईमा विद्युत् गृह निर्माणको काम शुरू भएको छैन।

आयोजनाको स्वामित्व कर्णालीले पाउनु पर्ने माग

कर्णालीको पानी, कर्णालीमा सिरान र पुछार भएको भेरी बबई आयोजनाको स्वामित्व कर्णाली प्रदेशले पाउनु पर्ने माग उठ्न थालेको छ।  कर्णालीवासी नै डुवानमा पर्ने आयोजनाबाट कर्णाली प्रदेशले केहि लाभ पाउनुपर्ने भन्दै भेरी बबई डाईभर्सन आयोजना सरोकार समितिले आयोजनाको स्वामित्व कर्णाली प्रदेशले पाउनु पर्ने मागसहित मंगलबार हुने ब्रेक थ्रु को कार्यक्रममा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरीएको समितिका संयोजक जेवी सुनारले बताए।

भेरी बबई सामाजिक सरोकार समिति भने २०६९ सालदेखी निरन्तर कर्णालीवासीले प्राथमिकता पाउनुपर्ने सरकारसँग माग गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.