|

पाँचथर : उमेरले ५० वर्ष नाघेका स्याबरूम्बा बिजुवापानीका गोपी बोहोराले पानी बोक्न थालेको वर्षौँ भयो। कुवा पुगेर पानी लिएर आउन उनलाई तीन घण्टा लाग्छ। उनको साँझ र बिहानको काम नै पानी बोक्ने भएको छ।

‘पानी बोक्दा बोक्दा डाढको हड्डी खिइएका कारण श्रीमती डोको बोक्न सक्दिनन्’, उनले भने, ‘वर्षौँसम्म ओसारिन् पनि। अहिलेचाँही बोक्नै नसक्ने भइन्। म आफैँ बोक्छु।’ टर्च बालेर उनी बिहान तीन बजेतिरै पानी लिन जान्छन्। बेलुकी पनि एक पटक जान्छन्। लाइनमा बस्नुपर्दा कहिलेकाँही त  निकै अबेर घर पुुग्छन्। केही वर्ष यता उनको मुख्य समस्या भनेकै पानी भएको छ। यसको जोहो गरेपछि मात्रै बाँकी गर्न भ्याउँछन्।

सोही ठाउँका पूर्णबहादुर कार्कीले पनि वर्षौँदेखि पानी बोक्दै आएका छन्। अनुहारमा बुढ्यौलीपना देखिन थालेका उनको दैनिकी पानी बोकेर बित्ने गरेको छ। उनी अँधेरी खोला क्षेत्रमा रहेको दुई वटा कुवाबाट पानी ल्याउँछन्। यी दुई कुवाको पानी बिजुवापानीसँगै आसपासका गाउँका मानिसहरूले उपभोग गर्छन्।

कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार प्रत्येक महिनाको ५,१५ र २५ गते लाग्ने भएकोले बजारको अघिल्लो दिन भने पानी लिन जानेहरू कुवामा लाइनै बस्छन्। ‘हाम्रामा समस्यै खानेपानीको हो। घरदेखि हिँडेर डेढघण्टा जति जानुपर्छ। आउँदा उकालो आउनुपर्छ।’ पूर्णबहादुरले भने, ‘निद्रामै ब्युँझाएर नानीहरुलाई पानी लिन लानुपर्छ। श्रीमती मुटुरोगी छिन्। पानी बोकाउन मिल्दैन।’ स्याबरुम्बाको नर्कटे,कागेश्वरी,भुल्के क्षेत्रमा पनि पानीको समस्या उस्तै छ। यासोक, रानीगाउँ र माङ्जाबुङको पनि बेँसी क्षेत्रका मानिसहरूले वर्षौंदेखिपानीको अभाव  झेल्दै आएका छन्। 

स्थानीयबासीका अनुसार दुई दशकअघिसम्म यी क्षेत्रमा खानेपानी पर्याप्त थियो। वर्षायाममा खोलाखोल्सीदेखि बारीको कुनामा पानीको मूल फुट्थ्यो। कतै बारीलाई बिराएर खेत बनाएका थिए। धान फलाउँथे पनि। आजभोलl पनि खेतको गह्रामा आली मेटिन लागेको अवस्थामा देखिन्छ। कुनै बेला पर्याप्त पानी भएको ठाउँमा हाल पानीको अभाव चर्को छ। पानी नआउने धारो थुप्रै छन्। यसले गर्दा निक्कै टा–टाढा पुगेर पानी लिएर आउनु पर्ने बाध्यता त्यस क्षेत्रका मानिसलाई छ। बिहान र बेलुका घण्टौँ टाढादेखि पानी बोक्दा बोक्दा कतिपय महिलाहरू अब पानी बोक्नै नसक्ने भएका छन्।

कतिले भने आफैँ बोक्छन्। ‘जीउ कमजोर भइसके। डँडेलोमा डोकोले बिझाउँछ भन्छन्। बोक्न सक्ने स्थिति छैन।’ बिजुवापानीका गोपी बोहोराले भने, ‘दिउँसो अरू काम गरेर बिहान बेलुका पानीको जोहो गर्छौँ।’ समाजमा पानी ओसार्ने काम महिलाले नै गर्दै आएका छन्। कहिलेकाँही नभ्याउँदा वा महिला नभएको बेला मात्रै पुरूषले पानी ओसार्ने गर्छन्। काममा लैंगीक विभेद हुन नहुने भनिए पनि सामाजिक रूपमा छँदैछ। श्रम ऐन २०७४ ले काममा लैँंगिक विभेदलाई अस्वीकार गरेको छ। यद्यपि समाजमा विशेषगरी महिलाले नै पानी बोक्नुपर्छ भन्ने मान्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.