|

भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति

जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म ती।

भाषाको महत्त्वका बारेमा नाटककार बालकृष्ण समले उहिल्यै यस्तो भनेका थिए। भाषा आफैँ संस्कृति हो र यो संस्कृतिको संवाहक पनि हो। भाषा नित्य-निरन्तर परिवर्तन भइरहन्छ। यो यसको स्वरूप र विशेषता पनि हो। भाषाका प्रयोक्ता र संवाहक स्वयम् सो भाषाका वक्ता हुन्छन्। भाषा परिवर्तनशील हुन्छ भन्दैमा कुनै व्यक्ति, समूह, सरकार वा सरकारको कुनै पनि निकायको तोकआदेशबाट भाषामा परिवर्तन गर्न खोज्नु भाषामाथि भाँडभैलो मच्चाउनु र खेलाँची गर्नु हुन्छ। त्यो कदापि स्वीकार्य हुन सक्दैन।

व्यक्तिगत स्वार्थ र तुष्टिका निमित्त प्रचलित भाषिक मानक रूपलाई भत्काउनुको कुनै औचित्य छैन। मानक बनिसकेका शब्दलाई भाँचभुँच पार्नु, प्रचलित लेख्य वर्णलाई विस्थापन गर्नु, वर्णको जथाभावी खुट्टा काट्नु, श्रुतिसमभिन्नार्थक शब्द आदिलाई अमान्य गर्नु अस्वीकार्य र निन्दनीय कार्य हो।

विगत केही वर्षघिदेखि नेपाली भाषामा त्यस्तै गर्न नहुने खेलाँची गरिँदै आएको छ र हामी त्यसलाई सच्याउने अन्तिम अभियानमा छौँ। नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा खासगरी संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा 'नयाँ मान्यता' भन्दै तत्काल प्रचलित मानक लेखनलाई भत्काएर नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने अनुचित काम भएको हो। हजारौँ वर्षदेखि प्रयोग र प्रचलनमा रहेको नेपाली भाषा नेपालको कामकाजको भाषा, शिक्षाको मुख्य माध्यम भाषा र देशविदेशमा रहेका सारा नेपालीको साझा सम्पर्क भाषा पनि हो। त्यसैले कसैले कुनै अँध्यारो कोठामा बसेर गरेको निर्णय अब सबैतिर लागू हुनसक्ने अवस्था छैन।

राममणि आदीले 'हलन्त बहिष्कार', बालकृष्ण पोखरेल, तारानाथ शर्मा, बल्लभमणि दाहाल, चूडामणि रेग्मी आदिले 'झर्रोवाद', शिवराज आचार्यले 'जिम्दो नेपाली' आदि नामले भाषिक आन्दोलन चलाएका हुन्। पोखराबाट मुकुन्दशरण उपाध्यायले फरक वर्णविन्यासमा र चन्द्रगढीबाट चूडामणि रेग्मीले देवनागरी लिपिका केही लेख्य चिह्नमा परिवर्तन गर्न केही अभियान चलाएका हुन्। यस्ता व्यक्ति र समूहबाट नेपाली भाषाको शुद्धता, परिष्कार र सरलताको सदाशय राखी गरिएका यी र यस्ता प्रयास सराहनीय छन्। तिनको आफ्नै ऐतिहासिक महत्त्व पनि रहेको छ। ती प्रयास सुझावात्मक थिए, वाध्यकारी होइन। त्यसैले तिनमध्ये कुनैको स्वागत गरियो भने कुनैको स्वागत नभए पनि खासै विरोध पनि भएन।

०६६ चैतमा चन्द्रगढीमा नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा भाषिक सङ्गोष्ठी गरियो। सङ्गोष्ठीको अन्तमा 'नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र' भन्दै नेपाली लेख्य मानक र वर्णविन्यासका सम्बन्धमा तत्कालको प्रचलनविपरीत निर्देश गरियो, जुन घोषणापत्रमा १५ जनाको नाम भए पनि दुई जनाको मात्र हस्ताक्षर रहेको देखिन्छ। ०६७ पुसमा नेपाल प्रज्ञाप्रतिष्ठानले पुनः भाषिक सङ्गोष्ठीको आयोजना गरी विभिन्न निर्णयहरू सार्वजनिक गर्यो, जसमा अधिकांश बुँदामा 'यसमा फरक मत पनि रहेको’ भन्ने टिप्पणी प्रस्तुत गरियो। यसको तात्पर्य न्यून उपस्थिति रहेको सो गोष्ठी पनि कुनै सर्वसम्मत निष्कर्ष र निर्णय पुगेको देखिँदैन। ०६७ मा कक्षा ११/१२ को पाठ्यपुस्तक 'सबैको नेपाली' प्रकाशमा आयो। यसमा एकाएक तत्काल प्रचलित नेपाली वर्णविन्यासविपरीत, अमानक र जेतेमेते वर्णविन्यासको प्रयोग गरियो। 'सबैको नेपाली' नाम दिए पनि परीक्षा दिने परीक्षार्थीबाहेक त्यो वर्णविन्यासकै कारणले त्यो कसैको पनि हुन सकेन।

यसै पृष्ठभूमिमा नेपाल प्रज्ञाप्रतिष्ठानमा पुगेका 'सबैको नेपाली'का केही सम्पादकसमेतको सहभागितामा नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गर्दै आएको 'नेपाली बृहत् शब्दकोश'को नवौँ संस्करण (२०७२) सम्पादन गरी प्रकाशनमा ल्यायो। नेपाल प्रज्ञाप्रतिष्ठान, त्रिवि नेपाली केन्द्रीय विभाग आदिसमेतको सुझाउ, समर्थन र अनुज्ञा (म्यान्डेट) लिएर पाठ्यक्रम विकास केन्द्र (पाविके) ले पनि २०६९ मा विद्यालय र मातहतका निकायमा वर्णविन्याससम्बन्धी परिपत्र जारी गर्यो। स्कुले पाठ्यपुस्तक सोहीअनुसार प्रकाशन भए। देशभरका विद्यालयका नेपाली शिक्षक इच्छाविपरीत अमानक वर्णविन्यासको प्रयोग गर्न र कलिला बालबालिकालाई सिकाउन बाध्य भए। २०६६ र त्यसभन्दा पनि अघिदेखि नेपाली भाषाको लेख्य मानकमा भइरहेको अतिक्रमण र विचलनबाट दिक्क भइरहेका नेपाली भाषाप्रेमी, प्रयोक्ता, शिक्षक, प्राध्यापक, पत्रकार, सञ्चारकर्मी, लेखक, साहित्यकार आदि सुरुदेखि नै त्यसको विरोधमा भए पनि २०७३ को आरम्भसँगै सङ्गठित रूपमा उत्रन पुगे।

२०७३ भदौ १६ मा त्रिवि नेपाली केन्द्रीय विभागको बैठकले प्रज्ञाको नेपाली बृहत् शब्दकोशको नवौँ संस्करण (२०७२) र पाविकेको परिपत्रको खारेजीको आवश्यकता र औचित्य स्थापित गर्दै 'मानक नेपाली भाषा अभियान'को थालनी गर्यो। त्यसको लगत्तै २०७३ भदौ २९ मा भैरहवा बहुमुखी क्याम्पस नेपाली विभाग पनि विज्ञप्ति जारी गर्दै मानक नेपालीको पक्षमा उभिनुका साथै गल्ती सच्याउन उसले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकार शिक्षा मन्त्रालयसमक्ष ज्ञापनपत्र दियो। यसपछि त्रिभुवन बहुमुखी क्याम्पस (पाल्पा), महेन्द्र बहुमुखी क्याम्पस (धरान), नेपाली भाषा शिक्षा विभाग (कीर्तिपुर) आदि क्याम्पस तथा सयौँ सङ्घसंस्थाबाट विज्ञप्ति र ज्ञापनपत्रमार्फत् प्रज्ञा र पाविकेका गल्ती सच्याउन दबाब दिने काम भइरहे। एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका र मुहार पुस्तिका (फेसबुक) भरि मानक नेपाली भाषा विषयक समाचार, टिप्पणी, मन्तव्य, अन्तर्वार्ता, लेख छाइरहे, आइरहे।

२०७३ कार्तिक १० गते नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा भएको प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायी, देशविदेशका विभिन्न सङ्घसंस्थाका भाषिक प्रयोक्ताहरूको एक भेलाले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको अध्यक्षतामा 'मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल' गठन गर्यो। यसले देशविदेशमा रहेका नेपाली भाषा र साहित्यसित सम्बन्धित विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थाको मानक नेपाली भाषासम्बन्धी अवधारणा र दृष्टिकोण बुझ्ने काम गर्यो। नेपाल प्रज्ञाप्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रबाट नेपाली भाषाको चीरहरण गरिएको कुरा सबैले अनुभव गरेको बोध हुन आयो। नेपाली भाषाप्रति गरिएको दुर्व्यवहारबाट सबै लज्जित भएका रहेछन्। नेपाली भाषाको प्रचलित मानक स्वरूपको बचाउका लागि सञ्जालले देशविदेशबाट साथ र समर्थन प्राप्त गरिरहेको छ।

संसारभर अहिले नेपाली भाषाका वक्ता, प्रयोक्ता चार करोड भन्दा बढी छन्। अनि यहाँ 'सबैको नेपाली' एउटा पुस्तकका आठ/दश लेखक, सम्पादक, प्रज्ञाका आठ/नौ जना जागिरे प्राज्ञ, भत्ता खान गएका गोष्ठी-सङ्गोष्ठीका बीस/पच्चीस जनाले 'कागजी प्रक्रिया' पुर्याएर वा नपुर्याएर नेपाली भाषाको वर्णविन्यास र लेख्य मानकमा आफूखुसी परिवर्तन गर्नू भनी परिपत्र गरेर त्यो कसरी लागू हुन सक्छ? त्यो कसरी मान्य हुन सक्छ?

नेपाली भाषा नेपालमा मात्र प्रयोग हुँदैन। यो भाषा नेपालको मात्र होइन। यो त अन्तर्राष्ट्रिय भाषा भइसकेको छ। नेपाल, भारतका दार्जिलिङ, आसाम, मेघालय, सिक्किम आदि केही जिल्ला र प्रान्त, भुटान, म्यानमार, अमेरिका, अस्ट्रेलियालगायतका देशमा नेपाली भाषाका वक्ता, प्रयोक्ता रहेका छन्। यति मात्र होइन, विदेशमा कुनै पनि भाषाका नेपालीले आपसमा बोल्ने सम्पर्क भाषा पनि नेपाली भाषा नै हो। संसारभर अहिले नेपाली भाषाका वक्ता, प्रयोक्ता चार करोड भन्दा बढी छन्। अनि यहाँ 'सबैको नेपाली' एउटा पुस्तकका आठ/दश लेखक, सम्पादक, प्रज्ञाका आठ/नौ जना जागिरे प्राज्ञ, भत्ता खान गएका गोष्ठी-सङ्गोष्ठीका बीस/पच्चीस जनाले 'कागजी प्रक्रिया' पुर्याएर वा नपुर्याएर नेपाली भाषाको वर्णविन्यास र लेख्य मानकमा आफूखुसी परिवर्तन गर्नू भनी परिपत्र गरेर त्यो कसरी लागू हुन सक्छ? त्यो कसरी मान्य हुन सक्छ? भाषाको मानक स्वरूप यसरी स्थिर हुन सक्दैन।

अब गण्डकीमा धेरै पानी बगिसकेको छ। त्रिवि नेपाली केन्द्रीय विभाग आफू सच्चिएको छ र नेपाली भाषामा लादिएको अव्यवस्था र अराजकतालाई अनुसरण नगरी प्रचलित मानकबमोजिम गर्ने भनी सम्बन्धित क्याम्पसमा परिपत्र गरिसकेको छ भने त्रिवि अनिवार्य नेपाली विषय समितिले अनिवार्य नेपाली शिक्षण निर्देशिका खारेज गरिसकेको छ।

'मानक नेपाली भाषा अभियान अन्तर्रष्ट्रिय सञ्जाल'ले २०७३ कार्तिक २३ मा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती समक्ष नेपाली भाषामाथिको अव्यवस्था र अराजकताको प्रमुख कारक २०७२ मा प्रकाशित 'नेपाली बृहत् शब्दकोश' भएकाले त्यसलाई तत्काल खारेज गरी २०५८ को संस्करणलाई निरन्तरता दिनुपर्ने अवधारणा प्रस्तुत गर्यो। २०७३ कार्तिक ३० गते नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो २०७२ को गलत शब्दकोश सच्याउने निर्णय गर्यो र २०७३ मङ्सिर १ मा तत्सम्बन्धी विज्ञप्ति पनि जारी गर्यो। नेपाली भाषामा अव्यवस्था र अराजकता निम्त्याउने एउटा मुख्य कारक २०७२ को शब्दकोश भएकाले यो खारेज गरी प्रचलित मानक नेपाली भाषाको वर्णविन्यासअनुरूप गर्न/गराउन प्रज्ञाप्रतिष्ठान तयार हुनुलाई स्वागतयोग्य कदम मान्नुपर्ने हुन्छ। यो यस अभियानको पहिलो सफलता हो।

मानक नेपाली भाषामाथि प्रहार गर्ने अर्को निकाय नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र (पाविके) पनि हो। पहिलेको उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भइसकेको अवस्थामा त्यसको जवाफदेहिता शिक्षा मन्त्रालयमा सरेको छ। २०७३ मङ्सिर ५ मा मानक नेपाली भाषा अभियानका अभियन्ताहरूले शिक्षामन्त्रीलाई भेटी २०६९ को परिपत्र, त्यस मान्यतामा रही तयार पारिएका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण निर्देशिका, शैली पुस्तिका आदि सबै खारेज गर्न र नयाँ पाठ्यपुस्तक प्रकाशित नभएसम्म परिपत्रद्वारा नै मानक नेपाली वर्णविन्यास र लेखन पद्धतिअनुरूप पठनपाठन गर्न/गराउन तत्काल परिपत्र गर्न अनुरोध गर्दा शिक्षामन्त्रीले आफू यसमा सकारात्मक भएको र यथाशीघ्र सोअनुरूप गर्न/गराउन तयार भएको प्रतिबद्धता प्रकट गरेका छन्। शिक्षामन्त्रीबाट त्रिवि र प्रज्ञा नै नेपाली भाषाको वर्णविन्याससम्बन्धी मन्त्रालयको स्रोत भएको र स्रोतमा सच्चिएकाले अब विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र सम्बन्धित सबै सामग्री सच्याइने आश्वासन प्रकट भइसकेको छ। तसर्थ विद्यालयका शिक्षक-विद्यार्थी र नेपाली भाषाका सबै प्रयोक्ताले अमानक भाषिक प्रयोगबाट बच्दै मानक नेपालीको प्रचलन गर्नु/गराउनुपर्ने देखिन्छ।

यतिका पछि आएर मात्र मानक नेपाली भाषा अभियानको औचित्यउपर प्रश्न उठ्न सक्छ। त्यस्तो अमानक वर्णविन्यासको तहिलेदेखि नै विरोध हुँदै आएको हो। त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशन, गोरखापत्रलगायतका सञ्चारजगत्, दार्जिलिङ, सिक्किम र विदेशमा रहेका भाषिक साहित्यिक सङ्घसंस्थाबाट त्यस्तो अमानक वर्णविन्यासलाई पूर्ण रूपमा स्वीकार नभएकै हो। कतिपय सञ्चार माध्यम र पत्रपत्रिकाले त भाषाविज्ञ, भाषाका प्रयोगकर्ता, प्राध्यापक, साहित्यस्रष्टा, शिक्षक र विद्यार्थीका बीचमा अमानक वर्णविन्यासका विरुद्ध छलफल चलाई अभिमत लिने काम गरिआएकै हुन्। त्यसमा अमानक प्रयोगको खुलेर विरोध र असहमति प्रकट भएको पाइन्छ। त्यस्तैमा २०७२ मा नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको शब्दकोशले त्यस विरोधको हवनकुण्डमा घिउ थप्ने काम गरिदिएकाले अबचाहिँ भएन भनेर यस्तो अभियानै चलाउनुपरेको हो। मानक नेपाली भाषा अभियानका अभियन्ता र नेपाली भाषाका प्रयोक्ताबाट व्यापक विरोध भएपछि बल्ल प्रज्ञाप्रतिष्ठान र सरकार सच्चिन बाध्य भएका छन्। यो मानक नेपाली भाषाका पक्षमा देखापरेको अपार समर्थनकै परिणाम भएकाले नेपाली भाषाका प्रयोक्ताहरू धन्यवादका पात्र छन्।

व्यक्तिगत स्वार्थ र तुष्टिका निमित्त प्रचलित भाषिक मानक रूपलाई भत्काउनुको कुनै औचित्य छैन। मानक बनिसकेका शब्दलाई भाँचभुँच पार्नु, प्रचलित लेख्य वर्णलाई विस्थापन गर्नु, वर्णको जथाभावी खुट्टा काट्नु, श्रुतिसमभिन्नार्थक शब्द आदिलाई अमान्य गर्नु अस्वीकार्य र निन्दनीय कार्य हो। त्यसलाई कसैले अनुसरण गर्न सक्दैनन्। सत्तामा बसी भाषालाई निर्णय र तोकआदेशबाट प्रभावित पार्ने दुष्प्रयास केही समय लागू भएजस्तो देखिए पनि नेपाली भाषाका देशविदेशमा रहेका हरेक क्षेत्रका प्रयोक्ताका लागि त्यो कदापि स्वीकार्य थिएन।

नेपाली भाषा देशविदेशमा रहेका नेपालीहरूको साझा भाषा हो। यसमै हाम्रा अनेक विचार, ज्ञानगुन, उदय र उन्नति, हार र जीत, कला र संस्कृति सुरक्षित छन्। यही भाषामै ती पछिसम्म बाँच्ने पनि छन्। तसर्थ कुनै पनि नाम र निहुँमा कसैले यसलाई जथाभाबी प्रयोग नगरौँ र जथाभाबी प्रयोग गर्न वाध्य पनि नपारौँ। यसैमा सबैको कल्याण छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मानक भाषा " यसले पनि अमानक भाषा - रूपहरूलाई छुट्टै प्रतिमान क़ायम गर्दछ । त्यसैको आधारमा कसै द्वारा प्रयुक्त भाषा मानकता अमानकताको को निर्णय गरिन्छ । डा० खगेन्द्रप्रसाद लुईंटेल सरको अभियानले मानकीकरण , जीवंतता र स्वायत्ततालाई मानक भाषाको आधार मानेको मेरो बुझाई हो । भाषाहरूलाई मानक रूप दिने भावना अनेक कारणहरूबाट हामी कहाँ जाग्यो । यस जागरणमा डा० खगेन्द्रप्रसाद लुईटेल सर्को पहल र सुधिजनहरूको कठिन र भगीरथ प्रयास भएकोले नै आज यसलाई बचाउन सफल भइने छ भन्ने विश्वास लिएकी छु र डा. कपिल लामीछाने भाषाविवाद को यो लेख पढेर धेरै कुरा बुझ्ने अवसर पाउदा खुशी र धन्यबाद ब्यक्त गर्दछु