नौ महिनाको अवधिमा शतप्रतिशत प्रगति

|

काठमाडौं : सरकारले चालू आर्थिक वर्षमा पनि खर्च प्रवृत्तिमा अपेक्षाकृत सुधार ल्याउन सकेको छैन। समग्र राष्ट्रिय गौरवका आयोजना पनि तुलानात्मकरूपमा खर्च प्रगति गर्न सकेको देखिएको छैन। बजेट धेरै माग्ने र वित्तीय खर्च कम गर्ने प्रवृत्तिले नयाँ योजना निर्माण असर परको छ भने पुराना आयोजानको लागत बढ्दै गएको छ। बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयका सचिवहरूले सधैँ यस्ता गुनासा गर्ने गरेका छन्।

समग्रमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च ४८ प्रतिशत मात्रै रहेको छ। यो खर्च सन्तोषजनक नरहेको देखिएको छ यो विषयमा विभागीय मन्त्रीहरूले पनि कमजोरी स्वीकार गरेका छन्। राष्ट्रिय गौरवका पाँच आयोजनालाई केन्द्रित गर्ने हो भने नौ महिनाको अवधिमा औसत शतप्रतिशत प्रगति भएको देखिएको छ।

प्रधानमन्त्री, मन्त्री र मातहतका मन्त्रालयका सचिवहरूले पनि राष्ट्रिय गौरवका आयोजनालाई बढी प्राथमकिता दिनको लागि आग्रह गरिरहेका छन्। ऊर्जा जलोस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत साता मन्त्रालय मातहतमा पर्ने राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई बोलाएर समयमै काम गर्नको लागि आग्रह गरे। उनले राष्ट्रिय गौरवका आयोजना पर्ने सबै किशिमका समस्या फुकाउन प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।

बढी वित्तीय प्रगति गर्ने आयोजना

पुष्पलाल राजमार्ग

वित्तीय प्रगतिको हिसाब हेर्ने हो भने चालू आर्थिक वर्षमा सरकारले चलाएका आयोजनामधध्ये सबैभन्दा अघि दौडिएको आयोजना पुष्पलाल राजमार्ग हो। यो आयोजनाले नौ महिनाको अवधिमै एक वर्षमा राखिएको लक्ष्य भन्दा ३२ प्रतिशत बढी वित्तीय प्रगति हासिल गरेको छ।

चालू आर्थिक वर्षको बजेटमा यो राजमार्गको लागि पाँच अर्ब ५५ करोड रुपैयाँ रकम विनियोजना गरेकोमा नौ महिनाको अवधिमा झण्डै दुई अर्ब बढी रकम खर्च भएको छ। अर्थात् लक्ष्यको १३२ प्रतिशत रकम खर्च भएर  सात अर्ब ३६ करोड रुपैयाँ रकम हो।

आर्थिक वर्ष २०६४/६५ देखि सुरु गरिएको यो आयोजनाको २०७७/२०७८ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ। कुल ८० अर्ब १४ करोड लागत अनुमान गरिएकोमा चालू आर्थिक वर्षसहित ३४ अर्ब रुपैयाँ खर्च भएको छ। भौतिक र वित्तीय प्रगतिको हिसाबले यो आयोजना ५० प्रतिशतभन्दा बढी खर्च भएको छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार

गत आर्थिक वर्षको दोस्रो चौमासिकमा जम्मा २५ प्रतिशत मात्रै वित्तीय प्रगति हासिल गर्न सकेको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास कार्याक्रमले चालू आर्थिक वर्षको दोस्रो चौमासिकको अवधिमा भने उल्लेख्य काम गरेको छ। नौ महिनाको अवधिमा विनियोजन गरिएको बजेटको तुलनाम १० प्रतिशत बढी खर्च गरिसकेको छ।

चालू आर्थिक वर्षमा अर्थमन्त्री डा.युवाराज खतिवडाले वित्तीय व्यवस्थापन खर्चबापत ६ अर्ब ३० रकोड रुपैयाँ रकम विनियोजन गरेको थियो। नौ महिनाको समयमा यो आयोजनाले सात अर्ब ५५ करोड रुपैयाँको बजेट खर्च गरेको छ। यो वित्तीय लक्ष्यको तुलनामा ११० प्रतिशत प्रगति हो।

लुम्बिनी विकाष कोष

नौ महिनाको अवधिमै वार्षिक खर्चको लागि विनियोजन गरिएको रकम लुम्बिनी विकास कोषले खर्च गरिसकेको छ। महालेखा नियन्त्रणको कार्यालयअनुसार चालू आर्थिक वर्षको लागि विनियोजन गरिएको ५७ करोड ५१ लाख रुपैयाँ रकम नौ महिनको अवधिमा सबै खर्च गरिएको हो।

यो आयोजनाको भने चालू खर्चको लागि मात्रै रकम विनियोजन गरिएको हो। आर्थिक वर्ष २०६६/६७ देखि अघि बढाइएको यो आयोजनामा हालसम्म चार अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ। कुल लागत अनुमान छ अर्ब १० करोड रुपैयाँको दृष्टिले अहिलेसम्म खर्च भएको रकम ६६ प्रतिशत हो।

हुलाकी राजमार्ग

हुलाकी राजमार्गका पुलहरूलाई समेत मध्यनजर गरी चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको खर्च उल्लेखनीय रहेको छ। यस वर्ष पाँच अर्ब ५० करोड रुपैयाँ रकम विनियोजन गरेको नौ महिनाको अवधिमा ९२ प्रतशित वित्तीय प्रगति भएको देखिएको छ। हुलाकी राजमार्गको लागि चालू आर्थिक वर्षमा छुट्याएको बजेट पर्याप्त नहुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधकारीले बताए। ‘हुलाकी राजमार्गमा विनियोजित बजेट अभाव हुने देखिएको छ, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमकिता हामीले दिइरहेका पनि छौँ, यस हिसाबले यो आयोजनामा चालू आर्थिक वर्ष रकम पनि बढाउनुपर्ने देखिएको छ’ अर्थसमितिले राखेको छलफलमा अधिकारीले भनेका थिए।

अर्थमन्त्री डा. युवारज खतिवडाले प्रगति बढी भएका र हुनसक्ने आयोजनामा रकम रकमान्तर गरी काम गरिने प्रतिबद्धता जनाएका छन्।

उत्तर दक्षिणराजमार्ग

चालू आर्थिक वर्षमा दुई अर्ब ३० करोड पाँच लाख रुपैयाँको बजेट विनियोजन गरिएको यो आयोजनाको खर्च नौ महिनाको अवधिमा ७७ प्रतिशत भएको छ। यो आयोजनामा पनि सरकारले विनियोजन गरेको चालू आर्थिक वर्षको बजेटले नपुग्ने जनाएको छ।

नौ महिनाको अवधिमा यो आयोजनाले  एक अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ। चालू आर्थिक वर्षमा विनियोजन गरिएको सम्पूर्ण खर्चसक्ने प्रतिबद्धता जनाएको छ।

तीन खण्डगरी ४२ अर्ब ४२ करोड रुपैयाँको लागत अनुमान गरिएको यो आयोजनामा हालसम्म साढे आठ अर्ब रुपैयाँ लागत रुपैयाँ खर्च भएको छ। भौतिक प्रगति न्यून देखिएको यो आयोजना चालू आर्थिक वर्षमा सरकराले दिएको प्राथमिकताको आधारमा वित्तीय प्रगति राम्रो देखिएको छ। चालू आर्थिक वर्षमा विनियोजन भएको खर्चलाई समेत आधार मान्दा साढे २२ अर्ब रुपैयाँ खर्च भएको छ।

र भेरी बबई

भेरी बवई डाइभर्सन आयोजनाले तोकिएको लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङको ब्रेक थ्रु गरिएको छ। आर्थिक वर्ष २०६८/२०६९ बाट सुरु गरिएको यो आयोजनाको निर्माण अवधि १० वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ सक्ने लक्ष्य निर्धारण गरिएको छ। चालू आर्थिक वर्षको वित्तीय प्रगतिलाई हेर्दा भने यो आयोजना औसतभन्दा कमी खर्च भएको देखिएको छ। चालू आर्थिक वर्षको लागि छ अर्ब नौ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा नौ महिनाको अवधिमा दुई अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ।  

३३ अर्ब ६१ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको यो आयोजनामा हालसम्म नौ अर्ब रुपैयाँ बढी वित्तीय खर्च भएको छ। वित्तीय प्रगतिको हिसाबले १५ प्रतिशत खर्च भएको छ। समयको हिसाबले ६० प्रतिशत समय सकिएको छ।

(नोट: वित्तीय प्रगति भएअनुसार कतिपय आयोजनाको भौतिक प्रगति भने देखिएको छैन खर्च भएको रकम पनि पारदर्शीरूपमा खर्च नभएको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.