'सरकारको गियर फस्यो'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रले एमालेलाई बदनाम गरिरहको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार भएको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्र जसरी पनि एमालेलाई खुइल्याउने र अपमानित गर्ने कार्यमा क्रियाशील रहेको दावी गरे।

'माओवादी आफू सभ्यताको पालना नगर्ने, असभ्य व्यवहार देखाउने र एमालेलाई जसरी पनि बदनाम गर्ने कार्यमा क्रियाशील छ', ओलीले भने, 'लाञ्छित गर्दैमा एमाले किञ्चित डगमग हुँदैन। हामी प्रतिपक्षमा भए पनि मुलुकको समृद्धिको यात्रामा छौँ।'

माओवादी केन्द्रलाई व्यंग्य

अध्यक्ष ओलीले माओवादी केन्द्रको जनाधार नरहेको भन्दै व्यंग्य गरे। 'केन्द्रमात्रै छ, जनता छैनन्', ओलीले भने, 'माओवादी भनेकै केन्द्र हो भन्ने बुझ्नुस् न। माओवादी केन्द्रले बुधबार ३ हजार ९९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो।  

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको आकारका विषयमा ओलीले आश्चर्य प्रकट गरे। 'केन्द्रमा ४ हजार कहाँबाट पुगे? अचम्म परेको छु', ओलीले भने।

सरकारको गियर फस्यो

अध्यक्ष ओलीले एमाले बाहेक कसैले पनि प्रभावकारी ढंगले सरकार चलाउन नसक्ने दावी गरे। 'हामी अहिले सरकारमा जाँदैनौँ। तर एमाले बाहेक अरुले सरकार चलाउनै सक्दैन भन्ने देखियो', ओलीले भने, 'कांग्रेस माओवादीको पनि गियर फसेको देख्नुएन?' एमाले जनमतका साथ सरकारमा जाने ओलीको भनाई छ।

निर्वाचन

उनले तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरे। 'निर्वाचन घोषणा तत्काल गर्नुपर्‍यो। यो सरकार शासन चलाउन होइन', उनले भने, 'संक्रमणकाल टुग्याएर निवार्चन गर्नतिर लाग्नुपर्छ। चुनाव गर्ने प्रस्ताव थन्क्याइएको छ। निर्वाचन कानुन बनेको छैन।' निर्वाचन गर्न नसके सरकारमा बस्ने कुनै नैतिकता नहुने उनले जिकिर गरे।

निर्वाचन टार्न सरकारले संशोधन विधेयक ल्याएको उनले दावी गरे। 'निर्वाचनको कुरा थक्याएर संविधान संशोधन अघि सारेका छन्। संविधानमाथि थिचोमिचो गर्न हामी संविधान संशोधन गर्न दिँदैनौँ।'

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राजनीतिक समितिका सदस्य तथा खसान प्रदेश प्रमुख बीरेन्द्रबहादुर बोगटीको नेतृत्वमा केन्द्रीय सदस्य ओमकृष्ण प्रसाईं सहित ९२ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.