डेढ करोड खर्चमा उड्यो नेपालको नेपाली स्याटलाइट

|

काठमाडौं :  नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू-उपग्रह) नेपाली स्याट वनु अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनिया राज्यको प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा प्रक्षेपण गरिएको हो।

अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ। बिहीबार बिहानै नेपालको झन्डासहित अन्तरिक्षमा पुगेको सो कार्गो भू-उपग्रह शुक्रबार दिउँसो तीन बजे अन्तरिक्षमा जोडिने र डेढ महिनासम्म अन्तरिक्षमा नै रहनेछ। नेपालले पहिलोपटक पठाइएको भू-उपग्रहमार्फत नेपालले कस्तो फाइदा लिनसक्छ? कहिलेदेखि भू-उपग्रह पठाउने तयारी थियो यसै सन्दर्भमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालसँग गरिएको कुराकानी :

नेपालले पठाएको भू-उपग्रह अन्तरिक्षमा कहिले पुग्छ?

बिहीबार राति दुई बजेर ३१ मिनेटमा पठाएका हौँ, अहिले आकाशमा उडिरहेको छ। भोलि दिउँसो तीन बजे बल्ल अन्तर्राष्ट्रिय अन्तरिक्षमा जोडिनेछ। अन्तर्राष्ट्रिय कक्षमा पुगेपछि हामीले पठाएको उपकरण र यन्त्रहरु बल्ल अन्तरिक्षमा पुग्नेछ।

 कस्तो छ त हामीले पठाएको भू-उपग्रह?

हामीले अहिले कार्गो रूपमा भू-उपग्रह पठाइएको हो। हामीले पठाएको भू-उपग्रह एकदम सानो खालको छ। १० सेन्टिमिटर लम्बाइ १० सेन्टिमिटर चौडाइ र १० सेन्टिमिटर उचाइ भएको र एक केजी तौलको छ। त्यसमा क्यामेरा जडान गरिएको छ।  

 भू-उपग्रहमा के के पठाइएको छ?

हामीले उपग्रहमा नेपालको झन्डा, नाष्टको लोगो, एउटा क्यामरा र भू उपग्रह बनाउने सातजना वैज्ञानिकहरूको नाम लेखिएको कागज पठाएका छौं।

कहिले फिर्ता आउँछ  यो भू-उपग्रह?

बिहीबार राति कार्गोकारूपमा पठाइएको भू-उपग्रह अबको डेढ महिनासम्मै अन्तरिक्षमा बस्नेछ। समय मिलेपछि मात्र हामीले पठाएको भू-उपग्रहलाई पृथ्वीमा पठाइनेछ। पृथ्वीमा पठाउँदा नेपालको आसपासमा आएपछि यसले त्यहाँ रहँदा विशेषत नेपालको फोटो खिच्ने र नेपालको बारेमा मात्र अध्ययन गर्नेछ र अब आउँदा  हाम्रो ग्राउन्डमै आउनेछ।

नेपालको भू-उपग्रह भन्ने फेरि किन अमेरिकाबाट पठाइयो त?

 विश्वको १२ देशमा मात्र अन्तरिक्षमा भू-उपग्रह पठाउने स्थान छ। जसले गर्दा हामीले अमेरिमा भएको स्थानबाट पठाए। अर्को महत्वपूर्ण कुरा भू-उपग्रह पठाउने स्थानको वरपर समुद्र तथा ठूला मरुभूमिहरूको आवश्यक पर्छ। हामीसँग समुद्र नभएका कारण बाहिरबाट पठाउनुपर्नेछ। अर्को कुरा भू-उपग्रह पठाउँदा भूमध्यरेखाको नजिकबाट पठाउँदा भू-उपग्रह सफलरूपमा पुग्ने सम्भावना हुने गर्छ।

पहिलोपटक अन्तरिक्षमा भू-उपग्रह त पठाइयो यसले नेपाललाई अब के फाइदा हुन्छ त?

हामीले अहिले पठाएको भू-उपग्रहले नेपाल र नाष्टको झन्डा लिएर गएको छ। मुख्य कुरा अन्तरिक्षमा पनि हाम्रो देशको र नाष्टको लोगो पुग्नेछ। ‍यस्तै, हामी पनि प्रविधिमा सबल छौँ भन्ने कुरा अन्तर्राष्ट्रियरूपमा देखाउन सफल हुनेछौँ। अहिले हामीले पठाएको भू-उपग्रहले मुख्य गरी नेपालको फोटो खिच्ननेछ। कतै आगलागी भएकोछ, हिउँ कस्तो, हाम्रा हिमालहरूको अवस्था कस्तो भनेर केही जानकारी गराउनेछ। तर, पहिलोपटक परीक्षणको लागि पठाएको हुँदा तत्काल सबै कुरा परीक्षणका रूपमा हेरिनेछ। 

 अन्तरिक्षमा भू-उपग्रह पठाउन कति खर्च लाग्यो?

हामीले करिब डेढ वर्षदेखि भू-उपग्रह अन्तरिक्षमा पठाउने तयारी गरेका थियौँ। जसका लागि नेपाल सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएको थियो। जुन हामीले जापानको क्यु विश्वविद्यालयमा पठाएका थियौँ। जसले हामीले पठाएको भू-उपग्रहको लागि आवश्यक उपकरण उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.