विधेयक फिर्ता लिएपछि अवरोध खुल्छः एमाले

|

काठमाडौं : सभामुख ओनसरी घर्तीले एकसाताभित्र संविधान संशोधन विधेयकमा सहमति जुटाउन प्रमुख दलका नेतालाई आग्रह गरेकी छन्। बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरी सभामुख घर्तीले सहमति जुटाउन आग्रह गरेकी हुन्।

छलफलमा सभामुख घर्तीले महाभियोग र संविधान संशोधन विधेयक दुबै महत्वपूर्ण भएकोले सम्वाद मार्फत सदन सञ्चालनको वातावरण बनाउन दुबै दलका नेतालाई आग्रह गरिन्।

'संविधान कार्यान्वयनको समय खेर नफालौँ। महाभियोग र संविधान संशोधन विधेयक दुबै महत्वपूर्ण छन्। सदनमा जारी गतिरोध अन्त्यका लागि सम्वाद सुरु गर्नुस्', सभामुखले भनिन, 'मैले दुबै दलका नेतालाई आग्रह गरेँ।'

महिला सभामुखहरुको भेलामा सहभागी हुन सभामुख घर्ती आउँदो शनिबार ४ दिनका लागि दुबइ जाँदैछन्। त्यो अवधिसम्म संसद अवरुद्ध नहुने वातावरण मिलाउन उनले प्रमुख दलहरुलाई आग्रह गरेकी हुन्। 'संसदमा जारी गतिरोध अन्त्यको पहल गर्न म भोलि प्रधानमन्त्रीलाई पनि भेट्दैछु। म फर्किँदासम्म दलहरुले सहमति जुटाउनुहुन्छ भन्ने विश्वास छ', सभामुखले भनिन्।

सभामुखले सहमतिका लागि आग्रह गरेपनि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल भने आआफ्नै अडानमा कायम छन्।

फिर्ता नभएसम्म सदन अवरोध जारी राख्ने एमाले अडान

सभामुख ओनसरी घर्तीसँग सिंहदरबारमा ४५ मिनेट छलफल गरेका एमाले अध्यक्ष केपी ओलीलाई सभामुख घर्तीले सदन अवरोध फिर्ता गर्न आग्रह गरेकी थिइन्। सभामुखले संसद अवरोध नगर्न आग्रह गर्दा एमाले अध्यक्ष ओलीले निर्वाध रुपमा सदन सञ्चालनका लागि शर्त अघि सारे। अध्यक्ष ओलीले सरकारले संविधान संशोधन विधेयक फिर्ता गरेपछि एक सेकेन्ड पनि संसदमा अवरोध नपुर्‍याउने जवाफ सभामुखलाई दिए।

'सभामुखले मलाई संसदको अवरोध फिर्ता गर्न आग्रह गर्नुभयो। मैले सरकारले संविधान संशोधन विधेयक फिर्ता गरेपछि एमालेले अवरोध नगर्ने बताएँ,' पत्रकारसँग ओलीले भने। शुक्रबारको संसद बैठकमा पनि प्रतिपक्षी दलहरुको अवरोध जारी रहने देखिएको छ।

सरकार विधेयक पेश गर्ने पक्षमा

प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन विधेयक फिर्ता लिन माग गरेपनि सत्तारुढ दल भने विधेयक टेबल गराएरै छाड्ने पक्षमा छन्। सभामुखसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकको पक्षमा आवश्यक बहुमत नजुटेपनि विधेयक पेश गर्ने बताएका थिए। 'विधेयक फेल भए हुन्छ तर फिर्ता हुँदैन। संसदको प्रक्रिया लानुपर्छ', सभामुखसँग देउवाले भने।

करिब ३० मिनेट सभामुखसँग परामर्श गरेका देउवाले संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे। 'संविधान संशोधन विधेयकको विषयमा छलफल भयो। जारी गतिरोध छिट्टै अन्त्य हुन्छ', देउवाले भने।

संशोधन विधेयक संसदमा पेश गर्नका लागि परिपक्व भइसकेको छ। तर सभामुख घर्ती दलीय समहति जुटेपछि विधेयकलाई कार्यसूचीमा समावेश गर्ने पक्षमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.