|

तपाईंलाई कसैले पानी पिउने विषयमा कुरा चल्यो भने के सल्लाह दिन्छन्? यही होइन? 'धेरै पानी पिउनुपर्छ, दिनको ८ गिलास वा दुई लिटर पानी त पिउनै पर्छ, धेरै रोगको आधा उपचार पानी नै हो।' यस्ता सुझावहहरू तपाईं चाहनुस्, नचाहनुस् प्राप्त भइहाल्छ।

जल नै हाम्रो जीवन हो। पानी हाम्रो जीवनका लागि निक्कै महत्वपूर्ण छ, त्यसैले हामीले धेरैभन्दा धेरै पानी पिउनुपर्छ। तर, पानीलाई लिएर यस्तो मान्यता पहिलेदेखि नै थिएनभन्दा तपाईंलाई अचम्म पक्कै नलाग्ला। १९ औँ शताब्दीको सुरुवातसम्म पनि पानी पिउनुलाई राम्रो मानिदैनथ्यो। समाजका उपल्लो तप्काका भनिएका मानिसहरू पानी पिउनुलाई आफ्नो हैसियतविरुद्ध मान्दथे। अर्थात् उनीहरू पेट पानीले भर्ने काम भनेको गरिबको मात्रै हो भन्ने ठान्दथे।

तर, आज बेलायत, अमेरिकामा मात्र नभई विश्वभर मानिसहरू पानी अत्यधिक पिइरहेका छन्। अमेरीकामा बोतलको पिउने पानीको माग त्यति धेरै छ जति सोडाको पनि छैन। दिन-रात धेरैभन्दा धेरै पानी पिउनुपर्ने सित्तैका सल्लाह पाइरहेका तपाईं हामी सक्दो पानी पिइरहेका हुन्छौँ। धेरै पानी पिउनु स्वस्थ, सुन्दर रहनुको रहस्य बताइन्छ। अनि चमकिलो त्वचाको कारण पनि पानी नै हो भनिन्छ। यसका बाहेक धेरै पानी पिएर क्यान्सर र अधिक तौलबाट छुटकारा पाउने सुझाव पनि कम्ति पाइन्न।

लण्डनमा त झन् मेट्रोमा चढ्ने मानिसहरूलाई साथमा पानी लिएर चढ्न सल्लाह दिइन्छ। बेलायतमा कैयौँ स्कुल र कार्यालयहरूमा पानीबिना कुराकानी नै अगाडि बढ्दैन। 

मासिनहरू भन्छन्, 'हरेक दिन कम्तिमा ८ गिलास अर्थात् २ सय ४० मिलिलिटर पानीको भाँडो रित्याउनुपर्छ।' तर यो नियम कहाँबाट आयो? यस्तो सल्लाह कसले दियो? कहिल्यै पनि कुनै अनुसन्धान या वैज्ञानिकले त यो दाबी गरेका छैनन्। फेरि धेरै पानी पिउनुपर्छ भनेर मानिसहरू मरिहत्ते किन गरिरहेका छन् त? यसको रहस्य दुईवटा पुराना घटनाहरूसँग जोडिएको छ।

सन् १९४५ मा अमेरिकाको फुड एन्ड न्यूट्रिशन बोर्ड अफ नेशनल रिसर्च काउन्सिलले वयस्क उमेर समूहका मानिसहरूलाई हरेक क्यालोरियुक्त खानालाई पचाउनका लागि एक मिलिलिटर पानी पिउन सल्लाह दिएको थियो। यसको अर्थ यदि २ हजार क्यालोरी लिने महिला छिन् भने उनले दुई लिटर र २५०० क्यालोरी लिने पुरुष छन् भने उनले दुई लिटरभन्दा पनि धेरै पानी पिउन आवश्यक छ। यसअन्तर्गत सादा पानी मात्र नभई फलफूल, तरकारी र अन्य पेय पदार्थबाट प्राप्त हुने पानीलाई पनि संलग्न गराइएको छ।  फल र तरकारीमा ९८ प्रतिशतसम्म पानी प्राप्त हुन्छ।

यस्तैगरी, सन् १९७४ मा मार्गरेट म्याक्लियम्स र फ्रेडरिक स्टेयरको पुस्तक 'न्यूट्रिशन फर गुड हेल्थ'मा हरेक वयस्क व्यक्तिले प्रत्येक दिन ८ गिलास पानी पिउनुपर्छ भनेर सिफारिस गरिएको थियो। दुवै लेखकले फल, तरकारीबाट प्राप्त हुनेसँगै सफ्ट ड्रिंक र बिएरबाट प्राप्त हुने पानीसमेत गरी ८ गिलास पानी पिउन सिफारिस गरेका थिए। 

पानी निक्कै महत्त्वपूर्ण छ भन्नेमा दुई मत छैन। हाम्रो शरीरको कुल तौलको दुई तिहाई भाग पानीले ओगटेको छ। यसमार्फत हामीलाई पोषक तत्त्व प्राप्त हुन्छ। शरीरबाट खराब तत्त्वलाई बाहिर निकाल्ने कार्यमा पनि पानीले उत्तिकै भूमिका निर्वाह गरेको हुन्छ। 

हाम्रो शरीरको तापमानलाई नियमित गर्नेदेखि लिएर जोर्नीलाई बलियो बनाउनेसम्मका कार्यमा पानीको भूमिका रहेको हुन्छ। शरीरभित्र हुने धेरै केमिकल रियाक्सन पानीबिना सम्भव छैन। यसका अलावा पसिना, पिसाव, र श्वासमार्फत हाम्रो शरीरबाट पानी निस्किरहन्छ। यस्तो अवस्थामा शरीरमा पानीको आवश्यकता सधै रहीरहन्छ। हाम्रो शरीरमा जहिले पनि एकदेखि दुई प्रतिशत पानी कम हुने र डिहाइड्रेशन अर्थात् पानीको कमीको शिकार हुने गर्दछौँ। जबसम्म हामी पानीको आवश्यकता पूरा गर्दैनौँ तबसम्म स्वास्थ्य खराब हुँदै जान्छ र कयौँ पटक त पानीको कमी घातक सावित हुनसक्छ।

भ्रम

हरेक दिन ८ गिलास पानी पिउनुपर्छ भन्ने भ्रम सबैतिर छ। केही दशकदेखि चलिरहेको सोच यतिसम्म हाबी भयो की हामी पानीको चरम अभाव खेपिरहेका छौँ। यद्यपि जानकारहरू शरीरले जति माग गर्दछ पानी उति नै आवश्यक रहेको बताउँछन्। अमेरिकाको टफ्ट्स युनिभर्सिटीका विशेषज्ञ इर्विन रोजबर्ग भन्छन्, 'हजारौँ वर्षको विकासको प्रक्रियाबाट गुज्रदै मानिसले पानीलाई सन्तुलित बनाएको छ, यसको सुरुवात समुद्रदेखि पहिलो जीव जमिनमा बस्न आएदेखि नै भएको हो।'

कुनै पनि स्वस्थ शरीरमा पानीको आवश्यकता हुने वित्तिकै दिमागले थाहा पाउँछ। र, उसले मासिनलाई प्यास लागेको संकेत दिन्छ। दिमागबाट एक हर्मोनले पनि पिसाबलाई गाढा गरेर शरीरबाट पानी निकाल्ने काम कम गर्न र पानी बचाउन मिर्गौलालाई निर्देश गर्छ।

बेलायतका डाक्टर र खेलाडीका सल्लाहाकार कोर्टनी किप्स भन्छन् 'यदि तपाईं आफ्नो शरीरको कुरा सुन्नुहुन्छ भने, उसले तपाईंलाई कतिबेला प्यास लाग्छ बताइदिन्छ। मानिसहरूले प्यास लाग्नु पानीको कमी भएको सोच्छन् जुन गलत हो। हजारौँ वर्षदेखि मानिसले यस्तै संकेतलाई प्यास बुझ्दै आएका छन्। पानीको कमीको शरीरले गलत संकेत दिन्छ भन्ने सोच्नु गलत हो।'

प्यास लाग्दा पानी पिउनु नै सबैभन्दा राम्रो विकल्प हो। किनकि यसमा क्यालोरी हुँदैन। तर, हामीलाई प्यास लागेपछि चिया, कफी, कोल्ड ड्रिंक्स या अन्य पेय पदार्थले पनि पानीको कमीलाई पूरा गर्न सक्छ। केही साइडइफेक्ट भए पनि कैयौँ अनुसन्धानहरूले चिया कफीबाट हाम्रो शरीलाई पानी प्राप्त हुने निष्कर्ष निकालिसकेका छन्। यसैगरी, रक्सी र बिएरबाट पनि शरीरले पानी प्राप्त गर्दछ।

प्यास नलागे पनि पानी पिइराख्नुपर्छ भन्ने कुरालाई प्रमाणित गर्न अहिलेसम्म वैज्ञानिकहरूले कुनै प्रमाण भेटेका छैनन्। यद्यपि धेरैपटक तर थोरैथोरै पानी पिउँदा भने कुनै हानी हुन्न। यसले हामीलाई डिहाइड्रेशन अर्थात् पानीको कमी हुनबाट बचाउँछ। यसले दिमागलाई काम गर्न पनि सजिलो बनाउँछ। हामीले पर्याप्त मात्रामा पानीलाई शरीरमा कायम राख्दा कैयौँ चुनौतीहरूको हल सजिलै पाउन सक्छौँ।

नियमित रूपमा पानी पिएर हामी शरीरको तौल बढ्नबाट रोक्न सक्छौँ। अमेरिकाको भर्जिनिया पोलिटेक्निक्स इन्स्टिट्यूटका ब्रेन्डा डेवी भन्छिन् - 'कम पानी पिउने मानिसको तुलनामा धेरै पानी पिउनेहरूको तौल तीव्र रूपमा घट्छ।'

यस्तैगरी, युनिभर्सिजनी कलेज लण्डनका बारबरा रोयल्सको मत यस्तो छ-'यदि हामी मिठा पेय पदार्थको सट्ठा, सादा पानी पिउँछौं भने हाम्रो तौल घट्छ, यसैगरी सुप या सर्वतको ठाउँमा पानी पिउँदा शरीरमा कम क्यालोरी जान्छ।'

धेरै पानी पिउँदा त्वचामा चमक आउँछ भन्ने मान्यता पनि छ तर वैज्ञानिकहरूले अहिलेसम्म यसलाई पुष्टि गर्ने प्रमाण फेला पारेका छैनन्।

जो मानिस दिनभरमा ८ गिलास पानी पिउने प्रयास गर्छन् तिनलाई कुनै हानी हुन्न तर हरेक पटक पानी मात्र पिइरहँदा भने केही हानी अवश्य हुन्छ। यसबाट शरीरमा सोडियमको कमी हुन्छ, सोडियमको कमी हुँदा दिमाग र फोक्सो सुन्निन्छ। डक्टर कोर्टनी किप्स भन्छिन् - 'हामीले शरीरको संकेतहरूलाई वेवास्ता गरी मनले पानी पिउँदा हानी गर्न सक्छ।'

जोहाना प्याकनह्या बेलायतकी एथलेटी हुन्। उनले सन् २०१८ को लण्डन म्याराथनमा भाग लिएकी थिइन र धेरै गर्मी भएका कारण त्यसक्रममा उनले धेरै पानी पिएकी थिइन्। दौड सकिएपछि पनि साथीहरूले उनलाई धेरै पानी खुवाइदिए। तर, पानी धेरै भएका कारण जोहाना बेहोस भइन् र एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउनुपर्‍यो। त्यतिले मात्र नभई जोहाना अस्पतालमै दुई दिनसम्म बेहोस अवस्थामा रहिन्। जोहानाका अनुसार उनका हरेक साथी र जानकारहरू म्याराथन दौडनका लागि 'धेरै पानी खाइरहनु' भनेर एउटै सल्लाह दिन्थे।

कति पानी पिउनुपर्छ

धेरै पानी पिइरहने सल्लाह यसरी हावी भएको छ की हामी जहाँ जान्छौँ त्यहीं पानी बोकेर हिड्छौँ र पिइरहन्छौँ। प्रायजसो हामी आफ्नो आवश्यकताभन्दा धेरै पानी शरीरलाई दिइरहेका छौँ।

लण्डनका एक एक्सपर्ट ह्यू मोन्टेगोमरी भन्छन् - 'भयंकर गर्मी हुने क्षेत्रमा बस्ने मानिसहलाई पनि दिनभरमा अधिकतम दुई लिटर पानीको आवश्यकता पर्छ। पसिनैपसिनाले निथ्रुक्क हुने अवस्था भए पनि आधा घण्टाको यात्राका लागि पानीको बोतल साथ लिएर हिड्न आवश्यक छैन।'

बेलायतको नेश्नल हेल्थ सर्भिसको एडभाईजरी हरेक दिन ६ देखि ८ गिलास पानी पिउन सल्लाह दिन्छन् र यसमा सादा पानीमात्र नभई दूध, सफ्ट ड्रिंक्स, चिया कफी पनि पर्छन्।

हाम्रा लागि यो पनि जान्न आवश्यक छ की, ६० वर्षको उमेरपछि प्यास महसुस गर्ने हाम्रो शक्ति समाप्त हुन्छ। यस क्रममा डिहाइड्रेशन हुने सम्भावना धेरै हुन्छ। अर्थात् बुढ्यौलीमा पानी पिउने विषयमा धेरै ध्यान दिनुपर्छ। हामीले पनि हाम्रा अग्रजहरूले नियमित रूपमा पानी खाइरहेका छन् या छैनन् भन्ने विषयमा ध्यान दिनुपर्छ।

हरेक व्यक्तिलाई पानीको आवश्यकता फरक-फरक हुन्छ। यसकारण दैनिक ८ गिलास पानी पिउने सूत्र सबैका लागि लागू हुन्न। जब आवश्यकता महसुस हुन्छ तब पानी पिउनुपर्छ। धेरै पानी पिउनुको एउटैमात्र फाइदा हुनसक्छ त्यो हो, 'पटक पटक शौचालय जाने आउने गर्दा केही क्यालोरीको खर्च।'

बिबिसी हिन्दीबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.