|

झापा : नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले भद्रपुरमा एउटा स्कुल बस तोडफोड गरेका छन्।

बन्दको अवज्ञा गरेको भन्दै विप्लव कार्यकर्ताले झापा गाउँपालिका नौँ कुवारी भन्ने स्थानमा गौतम बुद्ध बोडिङ स्कुलको मे १ ख १९३४ नम्बरको बस तोडफोड गरेका हुन्। प्रहरी कार्यालय झापाका अनुसार डिस्कभर बाइकमा चढेर आएका दुई जना अपरिचितले सडकमा गुडिरहेको बसलाई रोकेर तोडफोड गरेका थिए। तोडफोडबाट स्कूल बसको अगाडिको सिसा फुटेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्कूल बसमा विद्यार्थी नरहेकोले कुनै मानवीय क्षति भने नभएको बताए।

यता विप्लवले नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध र पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै बिहीबार नेपाल बन्दको आव्हान गरेका थिए। विप्लवको बन्दले झापा जिल्लामा सामान्य प्रभाव परेको छ। भद्रपुर, बिर्तामोड, मेचीनगर, दमक लगायतका मुख्य शहरहरूमा बजार तथा पसल खुल्ला छ।

पूर्व पश्चिम तथा सहायक राजमार्गहरुमा यातायातका सवारीसाधन चल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.