|

ताप्लेजुङ : प्रहरीले एकैदिन ताप्लेजुङमा  १० वटा भरुवा बन्दुक वरामद गरेको छ। बुधवार जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीवाट खटिएको प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो।

प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाका अनुसार प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका १ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ वटा, प्रहरीचौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका १ जंगलमा लुकाई राखेको १ थान, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फुलवारीस्थित ओडारे जंगलबाट २ थान, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाई राखेको ३ थान भरुवा बन्दुक वरामद गरेको हो। 

यस्तै श्रीजंगा गाउँपालिका सिकैचा बस्ने ४० वर्षीय तुलाराम काङबाङले १ थान लाइसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको डिएसपी थापाले जनाए। चैत्र १ गतेबाट सुरु गरेको अवैध हातहतियार संकलन अभियान अन्तर्गत एक महिनामा नै ५० वटा भन्दा वढी हतियार प्रहरीले संकलन गरेको छ। अभियान वैशाख ६ गते शनिबार सकिँदैछ।

संकलन गरिएका हतियारमा अधिकांश अवैध रहेको प्रहरीको भनाई छ। केहीले भने स्वतः स्पूर्त रुपमा इजाजत लिएका हतियार पनि बुझाएका छन्। शुक्रबार राति १२ बजेसम्म कसैले अवैध रुपमा राखेको हतियार बुझाए कानुनी कारवाही नगरिने थापाको भनाई छ। 'बैशाख ६ गते राति १२ वजेदेखि अभियान सकिँदैछ। त्यतिन्जेलसम्म कसैले अवैध हतियार बुझाए कानुनी कारवाही हुँदैन।' डिएसपी थापाले भने, 'यदि त्यो भन्दापछि अवैध रुपमा राखेको भेटिए कानुन वमोजिम कारवाही हुन्छ।'

जिल्लामा अवैध हतियारका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत जाने गरेको घटना बाहिर आउन थालेपछि माघमा बसेको सर्वपक्षीय बैठकले गाउँघरमा भएका हतियारहरू संकलन गर्ने निर्णय गरेको थियो। हतियार संकलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार संकलन अभियानमा सहयोग गर्न आग्रह गरिएको थियो।

स्थानीय तहसँग समन्वय र सहकार्य गरेर बन्दुकसहितका अवैध घरेलु हतियार संकलन अभियानलाई तीब्रता दिएको प्रहरी प्रमुख थापाको भनाई छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.