सबैभन्दा बढी क्यानाडाको नाममा ठगी

|

विराटनगर : वैदेशिक रोजगारमा जाने युवाको जति लामो ताँती छ ठगीका श्रृंखला पनि त्यतिकै छन्। विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा आउने युवामा वैदेशिक रोजगारमा जान भन्दै दलाल तथा वैदेशिक रोजगार कम्पनीलाई पैसा थमाएका युवाको जमात कम छैन।

उजुरीको चाङले श्रम कार्यालयका प्रमुख प्रेम संजेललाई भ्याई नभ्याइ छ। कोही श्रममा जाने प्रक्रियामै ठगी परेको उजुरी दिन आउँछन् त कोही विदेशमा भनेजस्तो काम नपाएको र यातना भोग्नु परेको पीडा लिएर आउने दैनिक बढिरहेको छ।

पुनः श्रम स्वीकृति दिन थालेको उक्त कार्यालयमा यसै पनि सेवा ग्राहीको भीड लाग्छ। त्यसको व्यवस्थापन गर्नुपर्ने, स्वदेश तथा विदेशमा ठगिएकालाई न्याय दिनुपर्ने कामको चाङ अत्याधिक छ। बिहीबार पनि क्यानाडा लैजाने प्रलोभनमा पारेर ठगीमा परेका ४ युवा संजेलको च्याम्बरमा आएका थिए। त्यसअघि युएई लैजाने भन्दै ठगी गर्ने सुनसरीका मोहन तामाङलाई प्रहरीले श्रम कार्यालयमा हाजिर गराउँदै गर्दा त्यहाँ रहेका पीडितको परिवारको रोदन कम थिएन।

पछिल्लो समय क्यानाडा लैजान्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको श्रम कार्यालयको ठहर छ। संजेलका अनुसार नेपालगंजका निरन्जन पुरी, झापाका गणेशप्रसाद पुरी,नारायण पुरीलगायतको टोलीले क्यानडा लैजाने भन्दै श्रृंखलाबद्ध ठगी गरेको उजुरी आइरहेका छन्। सुनवर्षीका ६ युवाबाट २४ लाख ठगेको, सुनवर्षी र रंगेलीका १३ जना युवाबाट ३५ लाख ठगी गरेको,झुम्काका ६ युवाबाट ३७ लाख ठगेको र झापा, सुनसरी र मोरङका १० जना युवाबाट १६ लाख १० हजार ठगी गरेको काण्ड पनि अनुसन्धानको क्रममा उनै पुरी समूहको हात देखिएको संजेलको भनाइ छ।

‘युवालाई विभिन्न नाममा दलालमार्फत प्रलोभनमा पार्ने र नक्कली भिसा, नक्कली टिकट तथा नक्कली नियुक्तिपत्रसमेत देखाइने गरेको पाइएको छ’. संजेलले भने, ‘ठगीमा पर्नेहरूमा क्यानडा पहिलो नम्बरमा छ। त्यसपछि युएई, माल्दिभ्स, कतार पनि छ।’

ठगीमा पर्नेमा निम्न आर्थिक अवस्था भएकाहरू नै छन्। मोरङ सुनवर्षी ९ का राजु राजवंशी, कटहरी २ का अशोककुमार राजवंशी, सुनवर्षी ३ का श्रवणकुमार राजवंशी र पुष्पकुमार राजवंशी, लक्ष्मण सहनी र दयानन्द सहनीलाई क्यानडा लैजान्छु भन्दै मोरङ धनपालथानका राजन राजवंशीले १ वर्ष अगाडि ४ लाखका दरले २४ लाख उठाएका थिए। तर अहिलेसम्म न त उनीहरू क्यानडा पुगे न त पैसा नै फिर्ता भयो?

‘कहिले डेढ लाख, कहिले २ लाख कहिले ५० हजार गर्दै जग्गा दृष्टिवन्धक गरेर पैसा दियौँ’, श्रम कार्यालयमा उजुरी दर्ता गराउन आएका पीडित पुष्पकुमार राजवंशीले भने,‘सइकडा ४ रुपैयाँमा साहुबाट ऋण लिएका छौँ।’ उनकै समूहका अशोककुमार सुकुम्बासी हुन्। उनले आफ्नी फूपूको नाममा रहेको जग्गा दृष्टिवन्धक गरेर पैसा लिएका थिए। तर अहिले ब्याज बढेर कहाँ पुग्यो न उनी क्यानाडा पुगे न पैसै फिर्ता भयो।

श्रम कार्यालयका प्रमुख संजेलका अनुसार राजन यादवको कनेक्सन पनि तिनै पुरीहरूको समूहसँग छ। उनीहरूमात्रै होइन पैसा कमाउने लोभमा परेर ऋण काडेर २१ वर्षको कलिलो छोरालाई युएई पठाएका सुन्दर हरैंचा ५ का भोजराज गौतम यतिबेला छटपटिमा छन्। उनको छोराले न त भनेजस्तो काम भयो, न त काम गरेको पारिश्रमिक नै दिएको छ।

‘गत भदौमा दुबई गएको मेरो छोरो पुष्पमणि गौतमले सम्झौता अनुसारको काम पनि पाएको छैन, तलब पनि पाएको छैन। रात दिन मलाई यातना भयो उद्धार गर्नुहोस् भन्दै फोन गर्छ मैले कसरी उद्धार गर्नू, उनले भने। उनी मात्रै होइन उनीसँगै गएका अन्य ३ जनाको अवस्था पनि उस्तै छ।

खोलाको डिलमा बसेका उनीहरूलाई छिमेकी मोहन तामाङले मेनपावर कम्पनीसमक्ष पुर्‍याएका थिए। १० हजार खर्चमा हुनेमा एक लाख ७० हजारको दरले रकम लिएको उनी तामाङले स्वीकार गरेको कागजात गौतम देखाउँछन्। अहिले भने पैसा मैले लिएको होइन भन्दै उल्टो अदालतमा तामाङले गौतमविरुद्ध मुद्दा हालेका छन्।

‘तामाङले म बाट पटकपटक गरेर एक लाख ७० हजार रुपैयाँ लिएका थिएँ’, गौतमले भने,‘त्यसको विषयमा समाजका अगाडि उनले कागज गरेको प्रमाण पनि छ। तर त्यो कागज धाकधम्की देखाएर गराएकोले खारेज गर्न भन्दै अदालतमा मेराविरुद्ध मुद्दा हालेको छ म तारिक धाइरहेको छु।’ गौतम र राजवंशी जस्तै छन्। पीडितहरूले ३ रुपैयाँ ब्याज लिएर विदेश जान लिएको पैसा दलालले खाइदिएपछि श्रम कार्यालयको शरणमा आएका हुन्। तर वैदेशिक रोजगारसम्बन्धी मुद्दा मामिला वैदेशिक रोजगार विभाग अन्तर्गतको न्यायाधीकरणले हेर्ने भएकोले पीडितहरू काठमाडौं नै जानुपर्ने बाध्यता रहेको संजेलको भनाइ छ।

श्रम कार्यालयको आदेशमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत मोरङले मुद्दा दर्ता गर्नै नमानेपछि अड्डासर गरेर काठमाडौंमा रहेको वैदेशिक रोजगार विभाग बिजुली बजारमा अभियोग पत्र तयार पार्नुपर्ने र वैदेशिक रोजगार विभाग न्यायाधिकरणमा जानुपर्ने बाध्यता बनेको संजेलको भनाइ छ। उक्त न्यायाधिकरण विभाग क्षेत्रीयस्तरमा पनि स्थापना गर्नुपर्ने या श्रम अधिकृतलाई नै सो अधिकार दिनुपर्ने संजेलको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.