|

काठमाडौं : २०५१ सालको उपनिर्वाचनमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले घोषणा गरे- मलाई जिताउनुस्, मेलम्चीको पानीले काठमाडौंको बाटो पखाल्दिन्छु।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै गरेका भट्टराईले मेलम्चीको पानीलाई चुनावी नारा बनाएको २२ वर्ष बितिसक्यो। भट्टराई बितेकै  ५ वर्ष भयो।

मात्र २९ किलोमिटर पर रहेको मेलम्चीको पानी काठमाडौंमा ल्याउने त्यो सपना अझै पूरा भएको छैन। पटक पटक भाका सर्दै आएको आयोजना निर्माणको काम यसपटक सम्पन्न होला? निर्माणमा खटिएका अधिकारीहरु भन्छन्- २०७४ असोजभित्र निर्माण सम्भव छ। तर सजिलो छैन।

मेलम्ची सपना

२०७१ सालदेखि सुरु गरेको इटालियन कम्पनी सीएमसी डी राभेन्नाले २०७३ बैशाख १ मा आयोजना निर्माणको काम पूरा गर्ने लक्ष्य राखेको थियो। ७३ सालको पहिलो दिन काठमाडौंमा पानी ल्याउने गरी निर्माणलाई तीब्रता दिए पनि लक्ष्य पूरा गर्न आयोजना असफल भयो।

यसपटक संसदको विकास समिति र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार ठेकेदार कम्पनीले २०७४ असोज महिना भित्र काम सम्पन्न गर्ने लक्ष्य प्रस्तुत गरेको छ।

यही लक्ष्य भेट्टाउन उपत्यका बाहिर मेलम्ची खानेपानी आयोजना र उपत्यका भित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले कामलाई तीब्रता दिएका छन्। दुबै निकायले आफ्नो तर्फबाट २०७४ असोज सम्म काम पुरा गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

दैनिक १७ सय कामदार

२०७४ असोज महिना भित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउने लक्ष्यसहित अहिले उपत्यका बाहिर र भित्र गरी १७ सय कामदार परिचालन गरिएको छ।

उपत्यका भित्र पोखरी निर्माण र पाइपलाइन बिस्तार गर्ने जिम्मा पाएको केयुकेएल अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले १२ सय कामदार खटाएको छ भने मेलम्ची खानेपानी आयोजनाले उपत्यका बाहिर ५ सय कामदार खटाएको छ।

अहिले उपत्यका भित्र ४० स्थानबाट पाइपलाइन बिच्छ्याउने काम भइरहेको छ भने पोखरी निर्माणको कामले पनि तीब्रता पाएको छ। उपत्यका बाहिर  बाँध निर्माण, सुरुङ निर्णमा र पानी प्रशोधनको काम एक साथ भइरहेको छ।

कति भयो काम?

मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउन काठमाडौं उपत्यका भित्र र बाहिर काम तीब्र बनाइएको आयोजना र केयूकेएलको दावी छ। मेलम्ची खानेपानी आयोजनाले उपत्यका बाहिर ९० प्रतिशत काम सम्पन्न भएको जनाएको छ। 'पछिल्लो दुई महिनादेखि कामले तिब्रता पाएको छ। अहिलेसम्म ९० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसक्यौँ', आयोजनाका सिनियर डिभिजन इन्जिनियर रामप्रसाद खरेलले थाहाखबरसँग भने।

खरेलका अनुसार हालसम्म  सुरुङ खन्ने काम ९० प्रतिशत (२२ किलोमिटर) पूरा भएको छ। त्यस्तै पानी प्रशोधनको काम ९७ प्रतिशत सम्मपन्न भएको छ। बाँध निर्माणको काम अहिले मुख्य प्राथमिकतामा छ। बाँध निर्माणको काम ३५ प्रतिशत पूरा भएको छ।

काठमाडौं उपत्यका भित्रको संरचना निर्माणका लागि १२ सय जना कामदार खटिएको केयूकेएल आयोजना कार्यान्वयन निर्देशानालयका प्रमुख तिरेशप्रसाद खत्रीले बताए। उनका अनुसार उपत्यका भित्र हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ।

थोक वितरण प्रणाली (१४०० मिलि मिटर सम्मका पाइप बिच्छ्याउने काम) अन्तर्गत ६५ किलोमिटर पाइप बिच्छ्याउनु पर्नेमा हालसम्म ३२ किलोमिटरमा काम सम्मपन्न भएको छ। ६७० किलोमिटरमा पाइपलाइन बिस्तार गर्नुपर्नेमा ४४० किलोमिटरमा पाइपलाइन बिस्तार गर्ने काम सम्पन्न भएको छ।

काठमाडौंमा ८५ हजार घरको धारामा पानी खसाल्ने लक्ष्य राखिएकोमा हालसम्म ३० हजार घरको धारामा पानी खस्ने गरी सानो पाइप पनि बिच्छाइसकिएको निर्देशानालयका प्रमुख खत्रीले बताए।

उपत्याका भित्र ६ करोड ५० लाख लिटर पानी जम्मा गर्न ९ स्थानमा पानी पोखरी निर्माण गर्न लागिएको छ। तीन स्थान मध्ये अहिलेसम्म काठमाडौंको महाकालमा ८० लाख लिटर पानी संग्रह गर्ने  पानी पोखरी निर्माणको काम सकिएको छ। त्यस्तै खुमल्टारमा ९५ लाख लिटर र बासबारीमा ९५ लाख लिटर पानी अट्ने पोखरी निर्माण सम्पन्न भएको छ।

बालाजुमा ७० लाख लिटर र पानीपोखरीमा ७५ लाख लिटर पानी अट्ने पोखरी निर्माणको काम ७० प्रतिशत पूरा भएको निर्देशानालय प्रमुख खत्रिले बताए।  त्यस्तै आरुबारीमा ८५ लाख लिटर, कीर्तिपुरमा ६० लाख लिटर र भक्तपुरमा ३० लाख लिटर क्षमताको पानी पोखरी निर्माणको काम जारी छ।

शंका सुरुङ कै

मेलम्ची आयोजना निर्माणका लागि २७ किलोमिटर सुरुङ खन्नुपर्छ। अहिलेसम्म साढे २१ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ। अब साढे ५ किलोमिटर सुरुङ खन्न बाँकी छ।

सुरुङ खन्दा कडा चट्टानले अप्ठ्यारो बनाउँछ कि भन्ने शंका छ। त्यस्तै सुरुङ खन्दा बहुमूल्य धातु पनि भेटिन सक्छन्। केही दिनअघिमात्र सुरुङ खन्दा पहेँलो धातु भेटिएपछि त्यो सुन हो कि भनेर अनुसन्धान थाल्दा काम प्रभावित भयो। पछि उक्त धातु सुन नभएको पुष्टि भयो।

यसबाहेक अन्य कुराले निर्माण कार्यमा ढिलाई नहुने मेलम्ची खानेपानी आयोजनाको दाबी छ। इन्जिनियर खरेल सुरुङ खन्दा यस्ता समस्या आएमा समयमा निर्माण सम्पन्न गर्न गाह्रो हुने बताउँछन्।

'अहिलेसम्मको प्रगति विवरण अनुसार आगामी असोजसम्म निर्माण कार्य सम्पन्न गर्ने छौँ तर प्राविधिक समस्या आएको खण्डमा हामीले भनेजस्तो नहुन पनि सक्छ', खरेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.