|

काठमाडौं : सन् १९५० को दशकमा भएको क्युबाली क्रान्तिका नायक तथा क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो साम्राज्यवाद विरोधीहरुका लागि सधैँ प्रेरणाको स्रोत बनिरहे। गत नोभेम्बर २६ मा निधन भएका क्यास्ट्रो साम्राज्यवादको खरो आलोचकमात्र थिएनन्, असंलग्न नीतिका प्रवर्तक पनि थिए। उनी साना राष्ट्रको स्वाभिमान र राष्ट्रियताको पक्षमा सधैँ उभिरहे।

क्यास्ट्रोको योगदानबारे चर्चा गर्न यसैसाता काठमाडौंको सम्वाद डबलीमा भएको कार्यक्रममा क्यास्ट्रोलाई भेटेका ४ जना नेपालीले आफ्नो अनुभूति सुनाए। मिथकजस्तो लाग्ने क्यास्ट्रोलाई प्रत्यक्ष देखेकाहरुको अनुभव सुन्नु आफैमा अर्को नौलो अनुभव थियो। कार्यक्रमको आयोजना गरेको थियो साम्राज्यवाद विरोधी मञ्च, नेपालले।

असंलग्न नीति

पुराना कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरले क्यूबाको हवानामा क्यास्ट्रोलाई भेट्ने मौका पाएका थिए। सन् १९६९ मा क्यास्ट्रोलाई भेटेका मानन्धर उनले नेपाललाई आफ्नै चरित्रको असंलग्न नीति अपनाउन सुझाव दिएको सम्झन्छन्।

'असंलग्न आन्दोलन बेलायत र अमेरिकाको विस्तारवादी नीतिबाट दिक्क भएका हामीजस्ताको संगठन हो। नेपालले पनि यो नीति अपनाउनु पर्छ तर फरक किसिमको', मानन्धरले क्यास्ट्रोको भनाई सम्झिए, 'त्यो हो- भारत र चीन दुबै देशसँग असंलग्नताको नीति।' कहिले चीनतिर ढल्केको त कहिले भारतको शरणमा पुगेको अवस्थामा उनले दिएको सुझाव नेपाललाई सुहाउँदो भएको मानन्धर बताउँछन्।  

क्यास्ट्रोले एउटै विषयमा ३ घण्टासम्म भाषण गरेको देखेको मानन्धरले सुनाए। एक पटक क्यास्ट्रो प्रेसर कुकरको फ्याक्ट्रीको उद्‍घाटनामा पुगेका थिए। त्यहाँ उनले प्रेसर कुकर निर्माणका हरेक पक्षबारे बोलेका थिए। 'जुन देशका आगन्तुक भेट्यो, त्यही देशको बारेमा केही न केही उल्लेख गरिहाल्ने उहाँको क्षमताले म प्रभावित भएको थिएँ', उनी भन्छन्।

विदेश जानेलाई फर्किन नदिनु

क्यास्ट्रोले विदेश जान चाहने जनशक्तिलाई जान दिने तर फर्किन नदिने रणनीति अख्तियार गरेका थिए। उनले यस्तै नीति अख्तियार गर्न नेपाललाई पनि सुझाएको मानन्धर बताउँछन्।

‘तपाईँको देशमा पनि डाक्टरहरुले विदेश जाने गरेको सुनेको छु। देशको माया नभएकाहरुलाई नरोक्नु होला र फर्केर आउन पनि नदिनुहोला', क्यास्ट्रोले मानन्धरसँग भनेका थिए, 'हाम्रो देशका डाक्टर एक जना पनि बाँकी नराखेर अमेरिकाले लग्यो। हामीले रोकेनौँ र फर्किन पनि दिएनौँ। अहिले स्वास्थ्य क्षेत्रमा राम्रो गरिरहेका छौँ।'

क्यूबाका क्रान्ति नायक क्यास्ट्रोसँग वार्तालाप गर्ने अवसर पाएका अर्का नेपाली हुन् प्राध्यापक मणिकलाल श्रेष्ठ। क्यास्ट्रो क्यूबाको मात्र नभएर तेस्रो विश्वका देशकै नेता भएको प्राध्यापक श्रेष्ठ बताउँछन्।

‘चर्को गर्मी थियो। धेरै नेताहरु मञ्चमा हुनुहुन्थ्यो। त्यहाँ क्यास्ट्रो छन् कि भनेर हेरेँ, देखिन। आउनु भएन भन्ने लाग्यो', श्रेष्ठले क्यास्ट्रोसँग भेटको प्रसंग सम्झिए, 'केही समयपछि एउटा ठूलो जुलुस आयो। त्यो जुलुसको नेतृत्व नै क्यास्ट्रोले गरिरहनु भएको थियो।’ कनिष्ठ नेताहरु मञ्चमा बसेको र मुख्य नेताले जुलुसको नेतृत्व गरेको दृश्य आफूलाई नौलो लागेको उनले सुनाए।

तेस्रो विश्वका देशहरुको कार्यक्रम ‘वर्ल्ड इकोनमिक्स’ को उद्‍घाटनमा सहभागी हुन मणिकलाल हवाना पुगेका थिए। त्यो दिनको गर्मी अहिले पनि आफ्नो सम्झनामा रहेको उनले सुनाए। 'चर्को गर्मीमा सबैले टोपी लगाएका थिए तर ममात्र बिना टोपी थिएँ', उनी सम्झिन्छन्, 'क्यास्ट्रले गर्मीमा टोपी नलगाएको देखेपछि आफ्नो टोपी फुकालेर मेरो टाउकोमा लगाइदिएका थिए।'

सिक्ने धैर्यता

बामपन्थी नेता ठाकुर शर्मा सन् १९८५ मा अन्तर्राष्ट्रिय विद्यार्थी फेडेरेशनको महाधिवेशनमा सहभागी हुन क्यूबा पुगेका थिए। १० दिन त्यहाँ रहँदा आफूले ३ ओटा फरक फरक कार्यक्रममा क्यास्ट्रोसँग विचार आदानप्रदान गर्ने अवसर पाएको शर्मा बताउँछन्। शर्माले त्यहाँ क्यास्ट्रोका साथी चे ग्वेभारालाई छोरीका साथ देखेका थिए।

'विश्वका विभिन्न मुलुकका विद्यार्थी सहभागी महाधिवेशनको उद्‍घाटनमा फिडेल क्यास्ट्रोले चार घण्टासम्म भाषण गरेर सुरुदेखि अन्तसम्म सहभागीलाई जुरुक जुरुक पारेको आँखामा नाचिरहेको छ', शर्माले क्यास्ट्रोलाई देख्दाको अनुभव सुनाए। क्यूबा घुम्ने क्रममा क्यास्ट्रोसहितका नेताहरु किसानको बारीमा गएर काम गर्ने गरेको देखेको उनले सुनाए।

‘सिक्न आएको भनेर सबैका कुरा ध्यानपूर्व सुन्ने बानी रहेछ’, क्यास्ट्रोको बानीबारे उनी भन्छन्, ‘निर्णय गरेपछि कार्यान्वयन गर्ने र संघर्ष गरेपछि कि जित्ने कि मर्न तयार हुने स्वभाव हामीले पायौँ।'

नेपाल ग्रेट

सन् १९९८ मा दक्षिण अफ्रिकाको डर्बानमा क्यास्ट्रोलाई भेटेका थिए पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले।

ढाका टोपी र दौरा सुरवाल लगाएको आफूलाई देखेपछि क्यास्ट्रोले हात मिलाउँदै 'नेपाल, ग्रेट' भनेको श्रेष्ठले सम्झिए। उनले त्यसदिन क्यास्ट्रोको लामो तर उत्साह दिने भाषण सुनेको सम्झिए।

क्यूबाले अमेरिकाको नाकैमुनी आफ्नो अस्तित्व जोगाउन सक्नुमा क्यास्ट्रोको दृढताको मुख्य भूमिका रहेको श्रेष्ठ सुनाउँछन्। 'नेपालमा भएका परिवर्तनको नेतृत्व गर्ने नेताहरुले क्रान्तिको बेला बोलेको कुरामा प्रतिबद्ध रहन सक्नुभएन', उनी भन्छन्, 'उहाँहरु भूराजनीति, प्रविधिको विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई देखाउँदै साम्राज्यवादको पछि लाग्नुभयो तर क्यास्ट्रोले क्रान्तिमा बोलेको कुरामा अन्तिम अवस्थासम्म पनि प्रतिवद्ध रहनुभयो।’

ठूला र शक्तिशाली देशहरुबाट हेपिएका साना देशको पीडा बुझेको हुनाले क्यास्ट्रोले नेपाललाई माया गरेको पूर्वराजदूत श्रेष्ठ सुनाउँछन्। ‘साना देशको पीडा र समस्या बुझेका कारण क्यास्ट्रोले नेपाललाई सारै माया गर्नुहुन्थ्यो' उनी भन्छन्, 'उहाँ क्युबाको मात्र होइन, संसारकै नेता हो। संसारको सबैभन्दा लामो नाकाबन्दीलाई असफल पारेर सर्वहारा वर्गलाई साम्राज्यवादसँग नझुक्ने प्रेरणा दिनुभयो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.