'लुटेका पैसाले चलाएका मिडिया चरित्र हत्या गर्न उत्रिए'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले आफूले सुरु गरेको लोडसेडिङ अन्त्य गर्ने कामको जस लिन खोजेको भन्दै सरकारको आलोचना गरेका छन्। लोडसेडिङ अन्त्य गर्न आफू नेतृत्वको सरकारले पहल थालेको भन्दै ओलीले अहिलेको सरकारले जादुको छडी चलाएर लोडसेडिङ अन्त्य गरे झैँ क्रेडिट लिन खोजेको बताए।

आफू प्रधानमन्त्री हुने बित्तिकै आधारभूत तथा आंशिक रुपमा ७३ साल तिहारबाट लोडसेडिङ समाप्त पार्ने योजना अघि सारेको र त्यही योजना अनुसार लोडसेडिङ समाप्त भएको उनले बताए।

'म प्रधानमन्त्री हुने बित्तिकै एक वर्षमा आंशिक रुपमा लोडसेडिङ समाप्त पार्छु भनेँ। त्यति बेला मजाकमा उडाइयो। त्यसका निम्ति तयारी गरियो। गत वर्ष म भारत गएका बेला ८० मेघावाट विद्युत भारतबाट लिने सम्झौता भयो। त्यसपछि फेरि अरु २३० मेघावाट विद्युत लिने सम्झौता बिचमा गर्‍यौं', उनले भने, 'अहिले २२८ मेघावाट विजुली भारतबाट लिइरहेका छौं। २२५ मेगावाट भन्दा बढी बिजुली निजी क्षेत्रलाई प्रोत्साहित गरेर तयार गरेका छौँ। लगभग ३ सय मेघावाट सरकारी आयोजनाबाट विजुली आइरहेको छ। लोडसेडिङ अन्त्य भएको छ।'

लोडसेडिङ अन्त्य गर्ने सबै तयारी आफू नेतृत्वको सरकारले गरेको भन्दै उनले अहिलेको सरकारले जादुको छडी चलाए झैँ प्रचार गरेको बताए।

'यी सबै तयारी हामीले गरेका हौं। तर मानिलिउँ यो सरकारले कुनै जादु गरेर पो लोडसेडिङ अन्त्य गर्‍यो कि जसरी प्रचार गरियो', ओलीले भने, 'यसअघिको सरकारले भारतसँग सम्झौता गरेर उहाँहरुले विद्युत लिनुभयो भनेर भन्‍नु त पर्‍यो। लोडसेडिङ समाप्त पार्ने विद्युत त हामीले लियौं। विभिन्‍न निजी क्षेत्रलाई अगाडी बढाउने काम पनि गर्‍यौं।'

मिडियासँग ओलीको आक्रोश

अध्यक्ष ओलीले 'लुटेका पैसाले चलाएका सञ्चारमाध्यम एमालेको बेइज्जत र चरित्र हत्या गर्न खनिएको' आरोप लगाए। 'कसरी सकिन्छ खुइल्याउने, अपमान गर्ने, भ्रम फिजाउने, जे जे गर्न सकिन्छ गर्ने तहमा उहाँहरुले लुटेका पैसाले चलाएका सञ्‍चारमाध्यमहरु हाम्रा विरुद्ध खनिएका छन्', अध्यक्ष ओलीले भने, 'उहाँहरुसँग अब कुनै बाटो छैन। चरित्र हत्या गर्ने बाटोमा उत्रिएका छन्। उहाँहरुका सञ्‍चारमाध्यममा सभ्यताको कुनै सीमा छैन। असभ्यता, निकृष्टताको हद पार गरिएको छ।' 

प्रचण्डको पोशाकको आलोचना

ओलीले पहिचानको चर्को वकालत गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत जाँदा नेपाली पहिरनसम्म नलगाएको भन्दै आलोचना गरे।

'पहिचानको चर्को कुरा गर्ने देशको प्रधानमन्त्री पुष्पकमल दाहालले भारत जाँदा राष्ट्रिय पोशाक लगाउनुभएन', ओलीले भने, 'पत्रकारहरु दौरासुरुवाल लगाएर गएको देखियो तर प्रधानमन्त्री जानेको भए नसिलाएको सेतो कपडा लाउनुहुन्थ्यो होला, त्यो नजानेर लगाउनुभएन र पाइन्ट सर्ट लगाएर जानुभयो।'

यति भनिसकेर ओलीले भने- 'फेरि त्यो शब्द भन्‍नु हुँदैन हामीले।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.