डेढ वर्षमा एउटा खाल्डो मात्रै खनियो

|

उदयपुर : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यस गरेको पुल अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौ ३१ मा उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको शिलान्यास गरेका थिए। उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने सुनकोसीको नदीको पुल अलपत्र परेको हो।

शिलान्यासको डेढ वर्ष बित्दा ५ प्रतिशत कामसमेत हुन सकेको छैन। करिब २३ करोड रुपैयाँको लागतमा ०७६ को असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी रसुवा एसएन एस र पप्पु ज्वाइन्ट भेन्चरले निर्माण कार्यको ठेक्का लिएको पुलको कामले गति लिन नसेकेको स्थानीय बताउँछन। 

ठेक्का लिएको कम्पनीले शिलान्यासपछि पिलरका लागि उदयपुरतर्फको रानीटारमा एउटा खाडल खन्नेबाहेक अन्य कुनै काम नगरेको स्थानीय रामबहादुर मगरले बताए।  ‘निर्माण सुरु गरेको ठेकेदार कम्पनीले एउटा खाल्डो पनि पूरा नगरी निर्माण सामग्रीसमेत लिएर हिँडेको छ,’ उनले भने, ‘अहिले निर्माण स्थलमा एउटा जेनेटरमात्रै छ।’

पुल शिलान्यास गर्दा प्रधानमन्त्री देउवाले पुल चाँडै निर्माण हुने बताएका थिए। स्थानीय मनोज खड्काले डेढ वर्षमा एउटा पिलरसम्म बन्न सकेको बताए। निर्माणको ठेक्का लिएको कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको अर्को स्थानीय रत्न तामाङ बताउँछन। ‘उदयपुर–भोजपुर दुवैतर्फ सडक निर्माण भइसकेको छ,’ चौडण्डीगढी नगरपालिका १ का वडाध्यक्ष रोहित तामाङले भने, ‘सडक तयार भए पनि पुल नहुँदा भोजपुरका सर्वसाधारणले दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानी र आवतजावतमा समस्या छ।’

पुल अभावमा पश्चिमी भोजपुरको आमचोक र खोटाङको जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारणले बढी सास्ती खेप्नुपरको छ। पुल निर्माणका लागि तयारी गरिएको पिलरको गाड्ने जमिनमुनि कडा चट्टान निस्केका कारण ढिलाइ भएको सडक विभाग पुल आयोजना पूर्वी सेक्टर कार्यालय धरानका प्रमुख इन्जिनियर कैलाश साहले बताए। ‘पहिलेको डिजाइनमा पुल बन्न नसक्ने भएकाले पुनः अर्को डिजाइन गर्नुपर्ने भएको छ,’ उनले भने, ‘पुलको नयाँ डिजाइन बनेर आइएपछि विभागले स्वीकृत गर्नेछ र ठेकेदारले काम सुरु गर्ने छ।’

सर्वसाधारण मारमा

खोटाङ र भोजपुरलाई उदयपुरसँग जोड्न उक्त पुलले सदसरमुकामबाट दक्षिण भेगले  उदयपुरसँग सिधा सम्पर्क राख्ने छ। अहिले सडक भएर पनि सिधा यातयात सुचारु नुहँदा समस्या पर्ने गरेको छ। ‘पारी सुत्केरी हुन नसकेर महिला छटपटाईरहेकी छिन,’ भोजपुर आमचोक गापाका स्थानीय नविन राईले भने, ‘डोकोमा बोकेर झुलुङगे पुलबाट वारी ल्यायो, एम्बुलेन्स छैन, पारीको एम्बुलेन्स वारी आउँदैन, पारिबाटै गृह जिल्लामा पनि जाँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.