धावनमार्ग मर्मतले प्रभाव

|

सोलुखुम्बु : हिमाल आरोहणका लागि सबैभन्दा बढी आरोही सोलुखुम्बुको खुम्बु क्षेत्र आउने गर्छन्। तर यही खुम्बु क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले कामी आएको छ।

अघिल्लो वर्षको यो सिजनमा दैनिक ५ सयसम्म पर्यटक खुम्बु आउने गरेको भए पनि अहिले दैनिक २ सयभन्दा बढी नआएको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए।
'गत वर्ष यो सिजनमा यहाँका लुक्ला, नाम्चे लगायतको होटल टनाटन हुन्थ्यो।' शेर्पाले भने, 'अहिले खासै चहलपहल छैन, दोब्बरले पर्यटकको संख्या घटेको छ।' विश्वको सर्वोच्च शिखर सगरमाथा, लोत्से, नुप्त्सेलगायतका हिमाल यही क्षेत्रमा पर्ने भए पनि अहिले यो क्षेत्र भ्रणमा आउने पर्यटकको संख्या उत्साहजनक नभएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख प्रमोद भट्टराईले बताए। 'गत यही याममा पर्यटकको घुइँचो हुन्थ्यो तर अहिले खास के कारणले हो पर्यटक आउन सकेका छैनन्।' प्रमुख भट्टराईले भने, 'अन्य महिनाको तथ्यांक हेर्दा गत यामभन्दा बढेको देखिन्छ तर अप्रिल महिनामा भने ह्वात्तै घटेको छ।'

विमानस्थलको धावनमार्ग मर्मतले प्रभाव

खुम्बु क्षेत्रको भ्रमणमा आउने अधिकांश पर्यटकले हवाई मार्ग प्रयोग गर्छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आउने पर्यटकको संख्या कमी आउनुमा केही कारण रहेको पर्यटन व्यवसायीको भनाइ छ।

चैतको दोस्रो सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत अवधिमा दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान तथा अवतरण बन्द गरिएको छ। जसको प्रत्यक्ष असर खुम्बु क्षेत्रको पर्यटनमा देखिएको हिमालयन जोई एडभेन्चर प्रा.लिका प्रमुख चोलेन्द्र कार्की बताउँछन्।

'सरकारले पर्यटन मौसमको कुनै वास्ता नगरी विमानस्थल मर्मत र त्यसको विकल्पमा रामेछापको मन्थली विमानस्थल प्रयोग गर्दा त्यसको असर खुम्बुको पर्यटनमा देखियो।' प्रमुख कार्कीले भने, 'काठमाडौंबाट तीन, चार घण्टा सडक मार्गबाट लग्यो, फेरि उडान फिक्स हुन्छ भन्ने पनि हुन्न, त्यसैले पर्यटकको रोजाइ खुम्बुभन्दा अन्यत्र देखिन्छ।'

चाहेजस्तो सुविधा नपाउँदा पर्यटकलाई समस्या

लुक्लाको मौसम बारम्बार परिवर्तन भइरहँदा यहाँ कुनै पनि उडानको टुंगो हुँदैन। कहिले बिहान मौसम सफा हुन्छ त कहिले दिउँसो। कतिपय अवस्थामा हप्तौंसम्म लुक्लाको मौसम प्रतिकूल हुँदा विमानस्थल बन्द भएर पर्यटक अलपत्र परेको तथ्यांकसमेत छ। काठमाडौंबाट तीनदेखि ४ घण्टासम्मको सडक मार्गबाट रामेछाप आएर पनि उडान रद्द भएमा त्यहाँ राम्रो खाने र बस्नेसमेत सुविधा नहुँदा थप समस्या हुनेगरेको माउण्टेन शेर्पा ट्रेकिङ प्रालिका प्रमुख पासाङ शेर्पाको भनाई छ।      

'काठमाडौंको विकल्पको रुपमा सञ्चालन गरिएको विमानस्थल भएकाले त्यहाँ पर्यटकले चाहेजस्तो सुविधा उपलब्ध गराउन सक्ने अवस्था छैन, कम्पनीले टेण्ट टाँगेर उनीहरुको व्यवस्थापन गर्ने गरिएको छ।' शेर्पाले भने, 'विदेशी पर्यटकले भनेजस्तो सुविधा नपाउँदा रिसाउने गर्छन्, सीमित समयका लागि धेरैठाउँको भ्रमण गर्ने उदेश्यले आएका पर्यटक, सगरमाथा क्षेत्रको विकल्पमा अन्नपूर्ण पदमार्गतर्फ जाने गरेका छन्।'

यसपालिको याममा खुम्बुक्षेत्रमा आउने अधिकांश अरोही र उनका सहयोगी मात्र रहेको खुम्बुपासाङल्हामु गाउँपालिकाले जनाएको छ। काठमाडौंदेखि ४ घण्टासम्मको सडक मार्ग हुँदै मन्थली विमानस्थल पुग्नको लागि बिहान ३ बजेनै पर्यटक हिँड्ने गरेको बताइन्छ। यसरी लामो समय सम्म हिँड्दा कतिपय अवस्थामा बीचबाटोमै गाडी बिग्रने समस्याले समेत पर्यटकले सास्ती खेप्नुपरेको पर्यटन व्यवसायी शिवबहादुर बस्नेतको भनाइ छ। प्रतिमहिना १० हजारसम्म पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गरेको भए पनि यो याम उत्साहजनक नभएको खुम्बुवासीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.