|

तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस र अमेरिकाको मिजौरी सदन स्टेट विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि हस्ताक्षर भएको छ। आदिकवि भानुभक्त क्याम्पसमा बिहीबार आयोजित कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी सदन स्टेटका तर्फबाट उपाध्यक्ष ब्राड हडसनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि दुवै शैक्षिक संस्थाका विद्यार्थी तथा प्राध्यापकले एकअर्काका शैक्षिक संस्थामा उच्च शिक्षाको अध्ययन, तालिम तथा अनुसन्धान, अध्ययन भ्रमण, गोष्ठी तथा बैठकमा सहभागिता जनाउन पाउने र अन्तराष्ट्रियस्तरको शिक्षा पद्धतिबारे ज्ञान लिन सहज हुने आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए। मिजौरी सदन स्टेट विश्वविद्यालयका उपाध्यक्ष हडसनले आदिकवि भानुभक्त क्याम्पससँग सहकार्य गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए। विश्वमा १७ देशका विभिन्न क्याम्पससँग विश्वविद्यालयले शैक्षिक सहकार्यका लागि सम्झौता गरेको र नेपालको पहिलो क्याम्पसको रुपमा आदिकवि क्याम्पससँग सम्झौता गरिएको उनले जानकारी गराए।

'समुदायबाट सञ्चालित आदिकविसँग सम्झौता गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको छ', उनले भने 'यो सहकार्य वर्षौँवर्षसम्म रहिरहोस् भन्ने चाहन्छौँ, आदिकविका विद्यार्थीहरुले मिजौरी सदनमा १०० भन्दा बढी विषयमा अध्ययन गर्न सक्नेछन्।'

विश्वविद्यालयका डीन माइकेल स्यान्डरसले जर्मनी, स्वीडेन, फ्रान्स, जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको, युक्रेन लगायतका देशका क्याम्पसहरुसँग विश्वविद्यालयले सहकार्य गरेको छ। सम्झौतापत्रमा हस्ताक्षर गरेपछि दुवै शैक्षिक संस्थाका विद्यार्थी आदानप्रदान र प्राध्यापकबीच अनुभव आदानप्रदान गर्न सहयोग पुगेको उनले बताए। 'आदिकविका धेरैभन्दा धेरै विद्यार्थी अब यहाँ अध्ययन गर्न सक्नेछन्, त्यसको लागि यो सम्झौता फलदायी हुनेछ,' उनले भने।

उक्त विश्वविद्यालयमा हाल दुईजना नेपाली अध्ययनरत रहेका छन्। विदेशी विद्यार्थीहरुसँग बसेर अध्ययनका लागि मिजौरी विश्वविद्यालयका विद्यार्थी उत्सुक रहेको उनको भनाइ छ। आदिकविबाट विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका निम्ति भिसा सहजताका लागि नेपालस्थित अमेरिकी दूतावाससँग महत्वपूर्ण छलफल समेत भइसकेको उनले बताए। 'विश्वविद्यालयमा अध्ययनका लागि शुल्क तिर्न सक्ने, अमेरिका नै पढ्न चाहनुको कारण खुलाउन सके भिसा प्रक्रियामा सहज हुनेछ,' उनले भने।

विश्वविद्यालयमा ४५ देशका ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको निर्देशक च्याड स्टेबिन्सले जानकारी दिए। विभिन्न देशका क्याम्पसहरुसँग सम्झौता गर्नुपूर्व अध्ययन गर्ने गरिएको र आदिकवि त्यसमा छनौट हुन सफल भएको उनले बताए। उनले विश्वविद्यालयले वार्षिक रुपमा ४०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको बताए। आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बस्नेतले विदेशी विश्वविद्यालयसँगको सहकार्य गर्ने अवसरले ‘उत्तम प्राध्यापन सर्वोत्कृष्ट नतिजा’ मूल नारालाई मूर्त रुप दिँदै क्याम्पसको शैक्षिक गुणस्तरीयतामा वृद्धि भएको बताए।

वार्षिक २० लाख छात्रवृत्ति

वि.सं २०४३ मा स्थापित आदिकवि भानुभक्त क्याम्पसमा दुई हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। क्याम्पस प्रमुख हड्खलेले तीमध्ये ८० प्रतिशत छात्रा छन्। त्यस्तै १८ प्रतिशत दलित र ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका रहेका छन्। कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण क्षेत्रका छन्। क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थीहरु क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको हड्खलेको भनाई छ।

क्याम्पसले वार्षिक रुपमा  २० लाख रुपैयाँ गरीब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गर्ने गरेको छ। समुदायबाट सञ्चालित क्याम्पसमा भर्नाको क्रममा प्रवेश परीक्षा लिने गरिएको छ भने आगामी वर्षदेखि विएस्सी र एमविएको कक्षा शुरु गर्ने तयारी गरिएको क्याम्पसले जनाएको छ। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) मान्यता प्राप्त गरिसकेको छ। क्याम्पसमा ४०० जनाको विधानसभा र ३०० जनाको परिषद् रहेको छ। आदिकविमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि १ नेपालको सहयोगमा विज्ञान प्रयोगशाला भवन समेत निर्माण भइरहेको छ। निर्माणका लागि लायन्स क्लबले एक लाख अमेरिकी डलर सहयोग गरेको क्याम्पसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.