|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीको सार्वजनिक भएको समायोजनमा परेकाहरूलाई समायोजनपत्र नभएसम्म हाल कार्यरत स्थानमा नै काम गर्न भनेको छ।

समायोजनको काममा ढिला हुने  भएपछि मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख जनार्दन गुरागाईद्वारा गरिएको  विज्ञप्तिमा कर्मचारीलाई समायोजनको पत्र प्राप्त नभएसम्म हाल कार्यरत कार्यालयबाट नै सेवा दिन भनेको हो।

स्वास्थ्य समूहको सामार्वजनिक भएको समायोजन सूचीमा धेरै त्रुटि भएपछि त्यसलाई सच्याउनुपर्ने र केही समय लाग्ने भएपछि समायोजन पत्र प्राप्‍त नभएसम्म हाल कार्यरत रहेको स्थानमानबाटै काम गर्न  मन्त्रालयले निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ७ हजार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४ हजार र गुनासो सुन्ने कर्मचारीको इमेलमा २ हजार गरी १३ हजार हाराहारीमा गुनासो दर्ता भएको बताइएको छ।

मन्त्रालयले जनाएअनुसार हालसम्म सार्वजनिक भएको सूचीमा करिब  १३ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरूको समायोजनमा त्रुटि भएको भन्दै गुनासो दर्ता गराएका छन्। सरकारले स्वास्थ्यकर्मीहरूको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयका तीनजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीनजना गरी ६ जनालाई सम्पर्क गर्नसमेत सूचना निकालेको थियो।

गुनासो सुन्नका लागि स्वास्थ्यका उपसचिव लीलाराज पौडेल, जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले र शाखा अधिकृत प्रेमलाल दुवालाई तोकिएको छ भने सामान्य प्रशासनमा सहसचिव रूपनारायण भट्टराई, उपसचिव ईश्वरकुमार गिरी र उपसचिव बन्धुप्रसाद बास्तोला तोकिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.