बल्ल सकियो टेण्डरको काम

|

  • विमला ढकाल-

बर्दिया :  राजमार्गमा केही तीव्र गतिमा सुरक्षित साथ सवारीसाधन कुदाउने रहर सबै यात्रुलाई हुदाहुदै पनि सवारी साधन कुदाउन त के चलाउन र यात्रा गर्न समेत डरलाग्दो अवस्था छ। राजमार्गमा केही तीव्र गतिमा सुरक्षित साथ सवारी साधन कुदाएर गन्तव्यमा पुर्याउने र पुग्ने चाहना सवारी चालक र यात्रा गर्ने यात्रु सबैको हुन्छ तर सडकमा सवारी साधन कुदाउन त के चलाउनै डरलाग्ने अबस्था सिर्जना भएको यात्रुहरुले गुनासो गर्न थालेका छन्।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बर्दियाका धेरै ठाउँमा राजमार्गमै यस्तै खतरापूर्ण ३० भन्दा धेरै ठाउँमा ज्यानमारा खाल्डाखुल्डी छन्। अहिले पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोला देखि माछागढ, ककौरा, बनगाईँ, बैदी नजिक ठुलठुला खाल्डा छन्। तिब्र गतिमा आएका सवारी साधन त्यहाँ पुग्दा गड्याङगुडुङ आवाज आउँछ यात्रुहरु दुर्घटना पो भयो कि भनेर त्रसिन्छन्। राजमार्गमा यस्तो समस्या देखिएको छ महिनाभन्दा बढी भैसक्यो। मर्मतका लागि सडक विभागले चासो दिएको छैन।

राजमार्गका विभिन्न ठाउँमा टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कति दुर्घटना भए तथ्याङ्क त छैन। तर स्थानीयको भनाई अनुसार मोटरसाइकल लगायतका सवारी साधन दुर्घटना हुँदा धेरै घाईते भएका छन। सवारी साधन चलाउनेहरु खाल्डोका कारण दुर्घटनाको जोखिम रहेको बताउँछन्। तर दुर्घटना हुने सडकको मर्मत भने गरिएको छैन ।

बाँकेको कोहलपुर नजिक सुस्त गतिमा कतैकतै काम गरेको देखिन्छ तर कहिले बर्दियाका खाल्डो मर्मतका लागि आउने हो अझै पत्तो छैन्। यस राजमार्ग हुँदै देशका संघ तथा प्रदेशका मन्त्री र सांसदहरु यात्रा गर्छन, आयोजनाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायत ठुलाबडाहरु पनि राजमार्गमा भएका खाल्डाहरु देख्छन् तर सम्बन्धित निकायलाई भनेर मर्मत गराउन तर्फ कसैले चासो दिँदैनन्। यति हुदाँहुदै पनि सवारी चालकहरु भने ठूलो जोखिम मोलेर यात्रुहरुलाई यात्रा गराउन बाध्य हुदै आएका छन्।

सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि राजमार्गको मर्मत हुन सकेको छैन। उसै त पूर्वपश्चिम महेन्द्र राजमार्ग पछिलो समय सानो र साँघुरो भैसकेको छ। महिनौं बितिसक्दा समेत मर्मतको काम नहुनुले सडक बिभागको चरम लापरबाही देखिन्छ।

वर्षायाममा पानी पर्यो भने त झन जोखिम हुन्छ। खाल्डो कत्रो छ थाहा हुन्न दुर्घटना हुने खतरा बढि हुन्छ एक सवारी चालकले गुनासो सुनाए।भेरी बागेश्वरी यातायातका काउण्टर प्रमुख लक्ष्मीकान्त शर्माले भने ‘सडकको बीचमा ज्यानमारा खाल्डाखुल्डी छन् मोटरसाइकल, अटो, कार, बस, ट्रक जस्ता गाडीहरु त्यस्तो खाल्डामा परे भने उछिट्टिएर अर्कोतिर पुग्छन, यत्रो समस्या हुँदा पनि खाल्डो पुर्ने काम भएको छैन।’बर्दियाको मानखोला देखि ककौरा, माछागढ, बनगाईँ बैदीको बिचमा पर्ने सडकका खाल्डोको कारणले छ महिना यता तीन देखि पाँच वटा दुर्घटना भएको स्थानियको भनाई छ। राजमार्गको खाल्डोकै कारण पटकपटक दुर्घटना निम्तिए पनि मर्मतका लागि सडक विभागले चासो नदिएको स्थानियको भनाई छ।

ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक बसन्त गौतमले भने ‘अझै पनि खाल्डा पुर्ने काम नगरेमा कतिबेला दुर्घटना हुन्छ र कसको ज्यान जाने हो ठेगान छैन स्थानिय भन्छन्, खाल्डोकै कारण दुर्घटना भएर कतीको ज्यान गयो, कती घाईते भए भन्ने रेकर्ड त राखिएको छैन, तर राजमार्गमा पर्ने बर्दियाको मानखोला देखि बनगाँई बैदी नजिक ग्याङ खोलासम्म राजमार्ग भत्केर दुर्घटनाको जोखिम छ।’बर्दिया जिल्लामा पर्ने राजमार्गको खाल्डो छिटो छरितो रुपमा मर्मत गर्न सडक विभागलाई आग्रह गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारीले बताए।

पुर्वपश्चिम राजमार्गमा भएका ठुलठुला खाल्डाखुल्डीका कारण दुर्घटना बढेको बताएपनि सडक विभाग भने यो कुरा स्वीकार गर्दैन। राजमार्गमा भएका खाल्डाखुल्डी सानो र सामान्य ठान्छ।पुर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोला देखि कर्तनिया बैदीसम्म सडकमा दुर्घटना हुने खालका खाल्डाखुल्डी ३० भन्दा धेरै छन् तर मर्मतको प्रयास भएको देखिदैन त भनी सोध्दा सडक विभाग नेपालगंजका डिभिजन प्रमुख रामकुमार देवले बताए।उनले भने ‘राजमार्गमा ३० होइन, ५० वटै खाल्डा होलान् तर ठुला खाल्ला भने छैनन् खाल्डा साना छन्, त्यै सानो खाल्डोकै कारण दुर्घटना त हुँदैन कुनै अरु कारणले हुन्छ।'

यस्तै उनले राजमार्गमा भनेको जस्तो कुनै ठूलो खाल्डो नभएको बताउँदै अब काम सुरु हुने बताए। खाल्डाखुल्डी पुर्ने काम बाँकेको कोहलपुरदेखि सुरु भएको र बर्दियाको मानखोलासम्म अब केहीदिन भित्रै पुग्ने बताउँदै राजमार्गका सबै खाल्डाखुल्डी पुर्ने काम पनि तिब्र गतिमा सुरु हुने उनको भनाई छ।उनले भने ‘यो आर्थिक वर्षमा पुष महिनासम्म एक महिना देखि दुई महिनाभन्दा बढी कोही पनि कार्यालय प्रमुखहरु बस्न नपाएर सरुवा हुने समस्याले गर्दा ढिला भएको हो उनले भने । म आएको पनि २ महिना मात्रै भयो, अब काम सुरु हुँदैछ । टेन्डरको काम सकियो ठेकेदारहरु परिचालन हुँदैछन् । असारसम्म काम सकिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.