|

जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन्।    

टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ। गुगलको स्वामित्वमा रहेको वाइमो र अरू प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहिन कार निर्माणलाई तीव्रता दिएका छन्।    

पछिल्लो लगानी उबेरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा हुनेछ। यस समूहले स्वचालित र चालकविहीन कार निर्माणको आधार तयार गर्नेछ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।    

कूल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपूर्जा निर्माता डेन्सो सहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ। उबेरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ।

उबेरका प्रमुख कार्यकारी डारा खोस्रोशाशीले चालकविहीन कारले यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बताउँदै यसबाट हाम्रा सडकहरू बढी सुरक्षित र शहरहरु बस्नयोग्य हुने दाबी गरे।    

गत साता उबेरले प्रारम्भिक शेयर जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाइसकेको छ। उबेरले आयोग समक्ष बुझाएको कागजातमा छ वटा महादेशमा झण्डै प्रतिदिन एक करोड ४० लाख पटक उबेरका सबारी साधन प्रयोग हुने र सन् २०१० यतामात्र १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेको उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.