पर्सा : जन्मसिद्ध नागरिकका सन्तान वंशजको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पर्सामा भीड लागेका छन।
गृहमन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र जारी गरेको र उक्त परिपत्र कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नागरिकता लिन आउनेको भीड लाग्न थालेको छ। मधेस र पूर्वी नेपालका जिल्लालगायत मुलुकभरका जन्मसिद्धका नागरिकता लिने उमेर पुगेका नागरिक नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्न लागेका हुन।
पर्सा जिल्लामा यसरी नागरिकता लिन आउनेको भीड व्यवस्थापन गर्न प्रशासन कार्यालयलाई हम्मेहम्मे परेको छ। जसका लागि प्रहरी पनि परिचालन गरिएको छ। प्रहरी परिचालन गर्दा पनि नागरिकता लिनेको भीड नियन्त्रण नभएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन १०० जनालाई मात्र नागरिकता दिने भएको छ। टोकनका आधारमा प्रत्येक दिन १०० जनालाई नागरिकता दिने प्रणाली अपनाइएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
पर्सामा बिहीबार मात्र २९ जनालाई वंशजको नागरिकता दिइसकिएको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए। उनले भने, 'टोकनमा उल्लेखित पालोभन्दा अगाडिपछाडि नगरी पालैसँग काम गर्दै जानुपर्ने अवस्था छ। केवल जन्मसिद्धका सन्तान मात्र नभएर प्रशासन कार्यालयले त दैनिक नागरिकता बनाउन आउने अरु वंशजवालाहरूलाई पनि दिनुपर्ने हुन्छ।' दैनिक सरदर ७० नागरिकता प्रदान गरिरहेको जिल्ला प्रशासन कार्यालयले जन्मसिद्धका सन्ततिले वंशजको नागरिकता पाउने भनेपछि थामिनसक्नु भीड जिल्ला प्रशासन कार्यालयमा आएको त्यहाँका कर्मचारीले जानकारी दिए।
गृह मन्त्रालयले चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र जारी गरेको थियो। उक्त परिपत्र खारेज गर्न सर्वोच्चमा रिट परेपछि केही दिन रोकिएको नागरिकता वितरण कार्यक्रम सर्वोच्चले वैशाख ३ गते गरेको आदेश अनुसार फेरि सुरु भएको हो। सर्वोच्चको आदेशपछि वडा कार्यालयहरूमा सिफारिस बनाउने र जिल्ला प्रशासनमा नागरिकता बनाउनेको भीड ह्वात्तै बढेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।