|

काभ्रेपलाञ्चोक: नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ। नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागुगरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताए।

उनका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो। लामाले भने, शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौं। उनले सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापर्वाहीबारे अभिभावकले गाउँपालिकामा उजुरीसमेत गर्नसक्ने प्रावधान बनाइएको बताए। 

गत शैक्षिक सत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रधानाध्यापकलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअ समेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिए।

उनले भने, अब प्रअले शिक्षक विद्यालय आएकोगएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ। प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ। हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाइएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताए।

 ‘अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ।माविसम्मका ४३ वटा विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब तीनसय शिक्षक कार्यरत रहेका छन्। गाउँपालिकाले वैशाख महीनादेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.