सफल गभर्नर असफल अर्थमन्त्री : व्यवसायी

|

विराटनगर : संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीलाई प्रलोभनमा पारेर काम लिने प्रवृत्ति अन्त्य गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

अर्थमन्त्रालय राजस्व परामर्श समितिको आयोजना, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयोजनमा शुक्रबार भएको आर्थिक वर्ष २०७६/०७७ को बजेट, राजस्व नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री खतिवडाले  यस्तो बताएका हुन्।

‘तलैसम्म सफा हुन मुहान सफा हुनुपर्छ। अर्थमन्त्रीको हैसियतले म आफैं मुहान सफा गर्ने पक्षमा छु,’ खतिवडाले भने, ‘कर्मचारीले मोलाहिजा गरेको विषयमा खबर गर्नुहोला। भन्सारमा स्वच्छता कायम गर्न तपाइँ व्यवसायीले पनि सहयोग गर्नुहोला।’ अर्थमन्त्री खतिवडाले कर्मचारीको गोलीमा हात हाल्ने व्यवसायीको प्रवृत्ति अन्त्य गर्नुपर्ने पनि बताए। ‘भन्सारमा स्वच्छता कायम गर्न लागिरहेका बेला तपाईहरु गएर कर्मचारीको गोजीमा हात नहाल्नु होला’, व्यवसायीलाई इंगित गर्दै मन्त्री खतिवडाले भने,‘एउटा हात गोजीमा हात हाल्ने हो भने एक हातले तालि बज्दैन र स्वच्छता कायम हुँदैन। कर्मचारीसँग मोलाहिजा गरेर छिटो काम निकाल्ने प्रयास पनि नगर्नुहोला।’

बैंकको ब्याजदर घटाउनु पर्ने उद्योगी व्यवसायीले माग गरिरहेका बेला मन्त्री खतिवडाले भने बैंकको ब्याजदर तत्काल नघट्ने संकेत गरे। निक्षेप बढेसँगै ब्याजदर आफैं घट्ने भन्दै अर्थमन्त्री खतिवडाले बरु उद्योगी व्यवसायीले जतिसक्दो धेरै बैंकमा निक्षेप जम्मा गर्र्न सुझाव दिए। खतिवडाले बैंकले बढी नाफा कमाउनु हुँदैन भन्ने पक्षमा आफू रहेकै कारण राष्ट्रबैंकले १० प्रतिशतमा कर्जा प्रवाह गर्दा ४ प्रतिशतसम्म आउनुमा आफ्नै हात भएको बताए।

उद्योगी व्यवसायीले अझै २ प्रतिशतमा झार्नुपर्छ भन्नुले समस्या अन्तै रहेको भान भएको उनको भनाइ थियो। ‘व्यवसायमा नाफा नभए कर तिर्न नसके जस्तै निक्षेप संकलन नभए बैंकमा पनि नाफा कमाउन सक्दैन,’ खतिवडाको भनाइ थियो, ‘बैंकको ब्याजदर वार्षिक हो। तर व्यवसायीले दैनिक नाफा लिनसक्ने भएकाले अंकगणितको हिसावमा कालोबजारी ऐनको कुरा उठाए स्वीकार्य हुँदैन।’

अर्थमन्त्री–व्यवसायी दोहोरी

अन्तरक्रियामा अर्थमन्त्री डाक्टर खतिवडा र व्यवसायीबीच दोहोरी चलेको छ। कतिपय व्यवसायीले अर्थमन्त्री खतिवडालाई गभर्नरको रुपमा सफल देखिए पनि असफल अर्थमन्त्रीको रुपमा अथ्र्याउन भ्याए। कार्यक्रममा कृषक ध्रुव कोइरालाले अर्थमन्त्री खतिवडामाथि चिखो व्यंग्य गरे। ‘नेता चिल्ला गाडीमा चढ्दा, किसानले मल नपाएको विषय तपाइँलाई थाहा छ कि छैन’, उनले प्रश्न गरे, ‘हजारौं हेक्टर जमिनमा खेति गर्नुपर्ने सिजनमा अहिले कृषि सामाग्री कम्पनीमा केही बोरा मल मात्रै छ। यसरी कसरी समृद्धि आउँछ। सुखी नेपाली समृद्ध नेपाल कसरी बन्छ अर्थमन्त्री ज्यू ?’

पर्यटन व्यवसायी पुण्यप्रसाद भट्टराईले विराटनगरमा लामो समयदेखि माग गरिएको अध्यागमन विभाग स्थापना नभएको भन्दै अर्थमन्त्रीलाई प्रश्न राखे। मजदुर नेता किशोर धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत दर्ता हुनुपर्ने उद्योग प्रतिष्ठानहरू प्रदेशमा अहिलेसम्म ९० वटाले मात्रै सुचीकृत भएको दाबी गरे। यस्तै उद्योगी प्रदीप मुरारकाले पुन: कर्जा दिने कुरामा राष्ट्र बैंमा ठूलो चलखेल रहेको दाबी गरे। ‘पुनकर्जाको हाम्रो माग पुरा हुनुपर्छ’‍, उनले भने, ‘टेबुल मुनीबाट कर्मचारीलाई पैसा दिए राष्ट्र बैंकले कर्जा स्वीकृत गर्ने, नभए नगर्ने गरेको छ। त्यहाँ ठूलो चलखेल हुने गरेको छ।’ 

विद्युत्मा २५ प्रतिशत सहुलियत माग

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विद्युत महशुल दरमा २५ प्रतिशत छुट दिनुपर्ने माग गरे। ‘उत्पादनमूलक उद्योगको हकमा विद्युत महशुल दरमा २५ प्रतिशतसम्म छुट अनुदान दिने व्यवस्था गरिनु पर्दछ’, सारडाले भने, ‘जसबाट उद्योगहरूका उत्पादन प्रतिष्पर्धात्मक हुने र विदेशी आयातलाई प्रतिस्थापन गर्न बल पुग्ने छ।’

सारडाले स्वदेशी उत्पादनलाई महत्वका साथ प्रयोग गर्ने नीति अवलम्वन गर्नुपर्ने र त्यस्तो उद्योगको कच्चा पदार्थ आपूर्तिमा शून्य दरको सुविधा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने माग गरे। यस्तै औद्योगिक लगानीमा बैंकको व्याजदर १२/१५ प्रतिशतसम्म रहेकोले उद्योग धन्दाको विकासमा कठिन भएको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको आधारभूत व्याजदरमा स्पेयर्र रेट जोडी अधिकतम् सिंगल डिजिटको व्याजदर कायम गर्नुपर्ने माग गरे। उनले निर्यातमा नगद अनुदान दिई व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने, औद्योगिक ग्रामकालागि जग्गा व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक खरिद ऐनमा खरिद प्रक्रिया लामो र जटिल भएकोले संशाेधन गरी सरल गर्नुका साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

यस्तै सारडाले प्रदेश १ को विकासका लागि सगरमाथासम्मको बाटो बनाउने कार्यमा बजेट विनियोजन गरी काम अगाडि बढाई आन्तरिक तथा वाह्य पर्यटन बढाउनुपर्ने, पाथिभरा देवी, चतराधाम, हलेसी महादेवलगायतका स्थानको प्रवद्र्धन गरी धार्मिक पर्यटनलाई बढाउनुपर्ने र विराटनगर–किमाथांका सडक निर्माण कार्यलाई शीघ्रता दिनुपर्नेमा जोड दिने। 

कार्यक्रममा विराटनगरका ३ दर्जन बढी उद्योगीले प्रश्नसहित आगामी बजेटमा अफ्ना विषय समेट्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए भने मजदुर नेताले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनुसार मजदुरले तलव नपाएको विषय पनि उल्लेख गरेका थिए। उद्योगीहरू ताराचन्द खेतान, पुण्य भट्टराई, शंकरलाल अग्रवाल, कृष्ण मुरारी भण्डारी, शिवशंकर अग्रवाल, किशोर धमला, अरुण राठी, सुनिल तिवडेवाललगायतले अर्थमन्त्री खतिवडालाई आर्थिक समृद्धिलाई सुहाउँदो बजेट निर्माण गर्न र स्वदेशी उद्योगको प्रवर्द्धन गर्न सुझाव दिएका थिए।

फोटो छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.